मिसन ‘स्थगित ’ !

विगत केही दिन देखी नेपाली राजनीति वामदेवमय भइरहेको छ । गुमनाम हुनु भन्दा बदनाम नै सही भन्ने ढंगबाट हानिएको ‘रामवीर ‘ मिसाइल लक्ष भेदन गर्न असफल हुने प्रारम्भिक आँकलन पछी ‘मिसन ‘ केही समयको निम्ती स्थगित गरिएको राजनैतिक विश्लेषकहरुको निचोड छ । वामदेवलाई चिन्ने मानिसहरुको मुल्याङ्कन अनुसार उनी परिणाम सोचेर कदम चाल्ने नेता हैनन भन्ने स्वीकार गर्ने हो भने वर्तमानमा स्थगीत गरिएको मिसनको असली रणनीतिकार उनी थिएनन र हैनन भन्ने सजिलै मान्न सकिन्छ ।

पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री ओलीको बोली र व्यवहार जनताले सोचे जस्तो बन्न नसकेको समयमा वामदेवको आन्तरिक महत्वकाँक्षालाई साथ दिंदै कमरेड प्रचण्ड निर्मित ‘मिसन ‘ अचानक रक्षात्मक बन्न जाँदा अनेक सवालहरुले एकसाथ जन्म लिंदैछन । निर्मला बलात्कार पछी भएको हत्याकाण्डमा दोषी फेला पार्न नसकेको अवस्था , पार्टी एकता पछी लथालिङ्ग बनेको सांगठनिक गतिबिधी , समृद्धिको सुरुवात कहाँ बाट सुरु गर्ने भन्दै बरालिएको समयलाई नगदमा बदल्ने प्रचण्ड मिसन प्रधानमन्त्रीको अनुपस्थितीमा उनकै सहयोगी महासचिबबाट अगाडी बढनुलाई अध्यक्ष ओलीले अत्यन्त गम्भिरतापूर्वक लिन बाध्य भएका छन । नेकपा निर्माण देखी शक्तीको एकलौटीकरण अभ्यास कुशलतापूर्वक चलिरहेको समयमा आफ्नै घेरा भित्र प्रवेश गर्दै हमला गर्न सफल प्रचण्डको स्थगित मिसनलाई अत्यन्त दुरगामी महत्वको राजनैतिक खेल सम्झने अध्यक्ष ओलीको मौनतालाई ‘प्रचण्ड घाउ ‘ मानिदै छ ।

वामदेव एक प्रयोग :

‘राजनैतिक निर्णयहरु समय क्रममा त्रुटिपुर्ण हुन सक्छन तर अपराध मान्न सकिँदैन ‘ भन्ने धारणामा अडिग गौतम परिणाम नसोच्ने तर अगाडी बढने कारण बेला बेलामा बिबादित बन्दै आएका छन । मदन भण्डारीको रहस्यमय मृत्यु पछी तात्कालिन एमालेमा वामदेव एक खम्बाको रुपमा रहेको सबै मान्न तयार छन । भण्डारीकै भाषामा पुर्ब एमालेमा बोलिने भाषा ‘वामदेव बिनाको एमाले लुलो , वामदेवले हाँके एमाले धुलो ‘ भन्ने चर्चा एमाले बिभाजन सँगै सामान्य कार्यकर्ता सम्म पुर्याइयो ।

आफुलाई आबश्यक पर्दा बिधानमा नभएको उपमहासचिब पद सिर्जना गर्ने र आफुलाई अप्ठयारो पार्दैछ भन्ने कानेखुशीको कारण अप्रत्यासित तरिकाले उपमहासचिब पद खोस्ने काण्ड पछी पुर्ब एमालेमा वामदेव रोग सुरुभएको इतिहासले बताउँछ । तात्कालिन महासचिब माधब नेपालसँग मन कुडिए पछी कमरेड ओली र झलनाथ खनालले मात्र हैन सिपी मैनाली समेतले प्रयोग गरेका वामदेव अन्तत पुर्ब एमालेको नबौं महाधिवेशन अगाडी केपी ओलीसँग भद्र सहमती गर्दै राजनीतिमा जुवा खेल्न राजी भए ।

चन्द सरकारमा गृहमन्त्री बने सँगै निर्माण भएको वामदेव छबी प्रचण्ड सरकारको गृहमन्त्री बन्दै गर्दा पखालिनुमा उनको अस्थिर राजनीति र जग बिनाको उडानलाई मानिन्थ्यो । ओलीसँग गरिएको भद्र सहमतीको आँशिक फाइदा शुशिल सरकारको गृहमन्त्री बनाउनु बाहेक पार्टी राजनीतिमा खासै स्थान दिन राजी नभएको ओली ग्रुपको पछिल्लो धोका उनको नजरमा बर्दिया निर्वाचनको अन्तर्घातलाई मानिदै छ । बढदो उमेर सँगै नसुस्ताएको वामदेव महत्वकाँक्षालाई पछिल्लो पटक स्थगित मिसनले प्रयोग गरेको सजिलै बुझ्न सकिन्छ ।

ओली दाउपेच :

प्रदेश नम्बर दुईको स्थानिय निर्वाचनमा एमाले बिरुद्ध गरिएको घेराबन्दी पछी तात्कालिन सत्तारुढ दल माओवादी केन्द्रसँग ६० /४० को चुनावी गठबन्धन ओलीको निम्ती सिंहदरवार छिर्ने बाध्यात्मक बाटो थियो । निर्वाचनको नतिजासँगै पुर्व माओवादी केन्द्र र एमालेले पाएको अंकगणित अनुसार प्रचण्डसँगको पार्टी एकता ओलीको रहर नभै बाध्यता थियो । वामदेवलाई बर्दियामै सिमित गरिएको , मुख्य मन्त्रीमा भक्तहरुको व्यवस्थापन गरिएको , ईश्वरलाई रक्षामन्त्रीमा थन्क्याइएको , राष्ट्रपतिमा बिद्धादेवीलाई निरन्तरता दिएको , झलनाथलाई तेश्रो स्थान जोगाउन नदिएको , बिष्णुलाई महासचिबमा प्रमोसन पछी निर्माण गरिएको केन्द्रीय कमिटीमा आफ्नै हाली मुहाली पछी पार्टी एकताको समय प्रचण्डसँग गरिएको भद्र सहमतीलाई छाँयामा पार्न अथाह शक्ती आर्जन गर्ने र आगामी महाधिबेशनमा आफै अध्यक्ष बन्ने ओली दाउ नबोले पनि व्यावहारबाट खुल्दै थियो ।

कसरी भयो मिसन स्थगित ?

चितवनमा छोडेको फडको मिसाइलको असरले गत जेठ ३ गते घोषणा गरिएको पार्टी एकता पछी प्रधानमन्त्री ओली सरकार चलाउन अलोकप्रीय भएपनि पार्टीमा झनै शक्तीशाली भएको महशुस कमरेड प्रचण्डले त्यती बेला गर्दै थिए । जती बेला सचिवालयको दुई सदस्य मुलुक बाहिर हुँदा दुरगामी महत्व राख्ने प्रदेश इञ्चार्ज , अध्यक्ष र सचिव तोक्दै थिए । अध्यक्ष ओलीको मनसाय र नियत बुझ्ना साथ कोस्टारिका भ्रमणको समयमा महासचिबको साथ लिँदै तयार पारिएको ‘रामवीर ‘ मिसाइल महासचिब पौडेलले बैठकमा पढेर सुनाउँदा प्रधानमन्त्री ओली अक्क न बक्क बन्न पुगे ।

आफ्नो अनुपस्थितीमा वामदेवलाई साथ लिंदै माधब नेपालले छोडेको ‘बानेश्वर तीर ‘ को उचित जवाफ दिने तयारीका साथ बैठकमा प्रस्तुत भएका अध्यक्ष ओली ‘प्रचण्डको सिंगापुर प्लान बिष्णु पौडेलबाट सुन्ना साथ एकछिन रोकिए र भने ।“ए ! काठमाडौंको एक सिट घट्ने भएछ, यसबारेमा म रामवीरसँग कुरा गर्छु,” बैठकमा सनसनी मच्चाउने रामवीरको राजीनामा पत्र सुने पछी झलनाथ खनालले ब्यङ्ग कसे । ‘हारेका जति सबैका लागि निर्वाचन खाली गर्न जितेकालाई फिर्ता बोलाऔँ’ ।

वामदेव , माधब , ईश्वर , नारायणकाजी , बिष्णु र आफ्नो समेत जोड बलमा वामदेवलाई सभासद बनाउने खेलले उचित आकार लिने प्रचण्डको आँकलन एकै रातमा प्रधानमन्त्री ओलीले भुत्ते बनाई दिए । बिष्णु पौडेलको ब्याक गियर , ईश्वरको फेसबुके मिसाइल , झलनाथको ब्यङ्ग र माधबको लुलोपनको कारण पुर्वएमाले भित्र ओलीको गुटमा दिर्घकालिन असर छोडदै तत्कालको निम्ती मिसन स्थगित गरेका छन । सबै पक्षबाट निश्चित रुपमा सहयोग मिल्ने अपेक्षा माथी अचानक आइपरेको संकट अर्थपुर्ण र दुरगामी असरको रहेको वामदेव र प्रचण्डले बुझेको प्रमाण ओलीको मौनतालाई लिन सकिन्छ ।

अनुशासन कारबाहीको हल्ला !

बन्द कोठा भित्र खेलिएको अपारदर्शी कदम भन्दै बिगत केही दिन देखी रामवीरलाई अनुशासनको कारबाही गरिने चर्चा ब्यापक बन्दै छ । कुनै जमानामा फलामे अनुशासन भएको पार्टीको नाम लिंदा तात्कालिन माले अग्रपङ्तीमा पर्थ्यो । प्रजातन्त्र प्राप्ती सँगै अनुशासनमा समेत खुकुलो हुंदै आएको पार्टीमा कुनै बेला झलनाथ खनालको टाई र रंगीन टेलिभिजन मात्र हैन , ०३५–०३६ साल ताका सुवास नेम्वाङले किनेको गृहलक्ष्मी दराज समेत अनुशासनको बिषय बन्थ्यो । पार्टी ठुलो बनाउने नाममा पछिल्लो समय सबै तिरबाट सोरसार गर्दै मोटाएको नेकपामा प्रधानमन्त्री ओलीले अनुशासनको कुरा गरे तीर उनी तिरै फर्कने नाम नबताउने सर्तमा एक पुर्वएमाले नेताले बताए ।

जबजको नाममा पुर्व एमाले कालमा गरेको शक्तीको दुरुपयोग शुशिल सरकारको मन्त्री चयन हेरे थप ब्याख्याको आबश्यकता पर्दैन । केवल भक्त भएकै भरमा हारेकालाई मन्त्री बनाउने , थापा र आचार्यलाई रातारात मन्त्रीबाट बिदा दिने , अमात्य र बस्नेतलाई पुरस्कारमा मन्त्री पद दिने शैलीकै निरन्तरता नेकपा सम्म आइपुगेको नबोले पनि सबै नेता मान्न तयार छन । केवल ‘बा ‘ भनेकै भरमा संसदमा दिन दहाडै झुटो बोल्ने निरु पाललाई समिति सभापती पुरस्कार दिने अध्यक्ष ओलीको कदम भुल्दै रामवीरलाई कारबाही गरिने असफल प्रयास औचित्यहिन र हास्यास्पद हुनेछ ।

अब के हुन्छ ?

अदालत , प्रहरी प्रशासन , कर्मचारी , पार्टी सबै तिरबाट सहयोग नमिलेको कारण आफु करीब असफल भएको महशुस गरिरहेको समयमा प्रचण्डबाट भएको हमला पछी ओली नराम्रो सँग झस्कँदै अनौठो मौनता साँधेका छन । नाकाबन्दीको बिरुद्धमा खेलिएको पौंठेजोरीको पुँजीकै भरमा आगामी दिन सुखद नहुने आँकलन भइरहेको समय प्रचण्डको अति दौडधुपको असर यती चाँडै निस्कने कल्पना गर्न समेत भ्याएका थिएनन । दक्षिणले नरुचाएको आफु सँगको बाधात्मक सहकार्यलाई सुक्ष्म अध्ययन गर्दै प्रचण्डबाट छोडिएको रामवीर मिसाइलमा दक्षिणको हात रहेको संकेत खोज्न ब्यस्त छन ।

रातभरको खेल पछी करीब सफलताको मुख सम्म पुग्न सक्ने प्रचण्ड मिसनलाई असफल पार्न पश्चिमको सहयोग लिएको महशुस हुना साथ चतुर प्रचण्डबाट तत्काल प्लान ‘बी’ सुरु गरेको प्रमाण ओली सरकारको प्रशंसामा खर्च गरिएको शब्दलाई मानिदैछ । तत्कालको लागी ‘४४० भोल्टको झटका ‘ दिंदै प्लान बी सुरु गरेका प्रचण्डले ‘मिसन वामदेव ‘ मार्फत पुर्ब एमाले कित्तामा प्रबेश गर्दै प्रधानमन्त्री ओलीको पहिलो घेरालाई मौनता साँध्न बाध्य बनाएका छन । अनुपयुक्त समयमा चालिएको ‘रामवीर ‘ मिसाइल सामान्य कमजोरीको कारण ‘मिस फायर ‘ हुन पुग्दा नेकपाको प्रमुख जमिन्दार बन्ने वा सिंहदरवारको कुर्सी प्राप्त गर्ने कमरेड प्रचण्डको मिसन कम्तीमा भारतीय लोकसवा निर्वाचन सम्म स्थगित हुन पुगेको छ ।