धर्म, बलात्कार र न्यायको तिर्खा !

विगत केही समयदेखि मुलुकको मान, सम्मानमा दाग लगाउने कथित, आपराधिक र आततायी घटनाले मुलुकवासीको मन रुवाइरहेको छ । नमिता–सुनिता बलात्कार र हत्याकाण्डपछि रोएको नेपाली मन फेरि एकपटक कञ्चनपुर गृह प्रशासनको गैरजिम्मेवारपूर्ण हर्कतको कारण आमजनतालाई आन्दोलित हुन बाध्य पार्दै छ । सडकदेखि संसद्सम्म, सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्मको ध्यान खिच्न सफल निर्मला बलात्कारपछि भएको हत्याकाण्ड दिन प्रतिदिन रहस्यमय बन्दै गइरहेको वर्तमान समयमा सरकारको असावधानी दुःखलाग्दो र आलोचना योग्य मानिन्छ । गल्ती प्रमाणित नभएसम्म अपराधीहरू निर्दोष देखिन्छन्, तर अपराधीहरू त्यति बेलासम्म झुटो बोलिरहन्छन् जबसम्म अपराध प्रमाणित हुँदैन भन्ने तथ्यलाई नजरअन्दाज गर्दा कञ्चनपुर काण्डमा मुलुकले ठूलो क्षति व्यहोर्दै छ ।

के धर्मले बलात्कार गर्न सिकाउँछ ?

विगत केही समयदेखि छापामा निरन्तर स्थान पाइरहेको निर्मला बलात्कारको घटनापछि विश्वको सबैभन्दा पुरानो सनातन धर्ममाथि प्रहार गरिँदै छ । इसापूर्व ४५०० को आसपास मध्यएसियामा उत्पत्ति भएको हिन्दू धर्मलाई नियोजित रूपमा बदनाम गर्ने प्रपञ्च रचिँदै छ । इब्राहिम, जिसस, ईश्वरको अन्तिम दूत मोहम्मद र बुद्धभन्दा धेरै पहिला केवल हिन्दूधर्म मात्र अस्तित्वमा रहेको कुण्ठाले मर्माहत भएका इसाईहरू विश्व–राजनीतिमा एकलौटी दबदबा, आर्थिक प्रगति र उन्मादले मात्र आफ्नो उत्कृष्टता प्रमाणित गर्न नसकेको भँडास विश्वको सबैभन्दा पुरानो धर्ममाथि पोख्दै छ । नियत र सोच खराब भएको आपराधिक मानसिकताले सुनियोजित रूपमा घटाएको भारतीय बाबाहरूको कर्तुत र अपराधलाई हिन्दूधर्मसँग जोड्ने पछिल्लो षड्यन्त्रमा इन्द्रले ऋषिपत्नी अहिल्यालाई बलात्कार गरेकोसमेत भन्न भ्याइसकेका छन् ।

वेद र भेद नबुझ्नेहरूले कुनै विषय र प्रसङ्गको एक अंश लिएर हिन्दूधर्ममाथि आक्रमण गर्न किन तम्सिए ? सोचनीय छ । सत्तामा बस्नेहरूले गरेको गल्ती विष्णुको कपट, शिवको छल र इन्द्रको बल मिच्याइँलाई सम्पूर्ण हिन्दूधर्म देख्नेले रामायण र भगवद्गीताको गहिराइ र महिमा बुझ्छन् भन्ने कल्पना गर्नु बालुवा पेलेर तेल निकालेसरह मानिन्छ ।

के बलात्कार हिन्दूधर्मकै देन हो ?

विश्वको सबैभन्दा पुरानो र सभ्य हिन्दूधर्ममा कहीँ कतै यौन हिंसालाई कुनै स्थान दिएको पाइँदैन । मानव सभ्यताको विकाससँगै कन्याको पूजा गर्ने र नारीलाई देवी मान्ने एक मात्र धर्म हिन्दू नै हो । आधुनिक समाजले घृणित र अपराधपूर्ण मानेको बलात्कारका घटना कहाँ सबैभन्दा बढी घट्छन् भन्दै गुगल गर्ने हो भने विश्वका दश मुलुकमा क्रमशः दक्षिण अफ्रिका, स्वीडेन, अमेरिका, बेलायत, भारत, न्युजिल्यान्ड, क्यानडा, अस्ट्रेलिया, जिम्बाबे, फिनल्यान्ड र डेनमार्क समान रूपमा दशौँ स्थान कब्जा गरेर बसेका छन् । प्राप्त तथ्य र तथ्याङ्क हेर्दा धनी, शिक्षित र विकसित मुलुक मात्र होइन गैरहिन्दू मुलुकहरू नै यौन हिंसा र बलात्कार काण्डमा अगाडि देखिन्छन् । बलात्कारको असङ्ख्य घटनालाई कम गर्न असमर्थ रहेका अझ भनौँ बलात्कारको ठूला–ठूला युनिभर्सिटी नै खडा गरिसकेका उनीहरू हिन्दूधर्मलाई बलात्कारी उत्पादन गर्ने धर्म भन्दै आफ्नो अनुहारको कालो छोप्दै छन् ।

सभ्य समाजमा बलात्कारजस्तो घृणित कार्यलाई कलङ्क नै मानिन्छ । पछिल्ला दिनहरूमा बढ्दै गरेका बलात्कार र हत्याको घटनाले नेपालको छविमा नराम्रो दाग लाग्दै छ । नेपालको सवालमा केवल पशुपतिनाथले रक्षा गरेको सनातन हिन्दूधर्मले बलात्कार बढाउनुमा कुनै देन पुऱ्याउनु त परको कुरा, बरु डलर–युरोको लोभमा फसेका लोभीपापी, अल्पज्ञानी र मिसनवाजहरूले हिन्दूधर्मलाई बलात्कार गर्ने कोसिस गरिरहेका छन् ।

बलात्कार : मिथक र तथ्यहरू

कुनै पुरुषले कुनै महिलाको इच्छाविपरीत कामसुखको निम्ति जबर्जस्ती व्याभिचार गर्नुलाई अपराध मानिन्छ । अत्यन्त छोटो वाक्यमा भन्ने हो भने, ‘मेन्टल हेल्थ’ बलात्कारको प्रमुख कारण हो । बलात्कार किन घट्छ ? कहाँ–कहाँ घट्छन् ? जस्ता सवाललाई लिएर बनेका केही मिथक र तथ्य हेर्दा यस्तो पाइन्छ ।

छोटा र उत्ताउला कपडाको कारण : बलात्कार छोटा कपडाको कारण हुन्छ भन्ने धारणा आफैँमा सही देखिँदैन । तीनवर्षे बच्चीदेखि ९२ वर्षका वृद्धासमेत बलात्कार भएको हेर्दा बलात्कार र यौन हमलाहरू मानसिक समस्याको कारण हुने गर्दछ ।

ड्रग्स र अल्कोहल : परिस्थितिको फाइदा उठाउनेहरूले ड्रग्स र अल्कोहललाई दोष दिएका मात्र हुन् । अल्कोहल लिने मानिस खुद आफँै हानिकारक स्थितिमा हुन्छ । उसले नोक्सान पुऱ्याउने केवल धारणा मात्र हो ।

अन्जान मानिस यौन हिंसा गर्छन् : तथ्यहरूले अन्जान मानिसबाट बलात्कार करिब अपवादमा मात्र हुने देखाउँछ । जब कि तथ्यमा ९० प्रतिशत घटना चिनजानकै केटा साथी, पूर्वप्रेमी, प्रेमी, साथी, सहकर्मी, परिचितबाट भएको भेटिन्छ ।

जवान र सुन्दर महिलालाई आक्रमण गरिन्छ : सामान्य रूपमा जवान र सुन्दरलाई बढी बलात्कार गरिन्छ भन्ने मानिँदै आएको छ । तर, तथ्यहरूले त्यस्तो देखाउँदैन । बालिका, वृद्धा, अपाङ्ग, गर्भवती, मनस्थिति ठीक नभएका र एकल महिलासमेत यो घटनामा परेका छन् ।

न्यायको तिर्खा :

गत साउन १० गते हराएकी कञ्चनपुर निवासी यज्ञराज र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको शव भोलिपल्ट उखुबारीमा फेला पऱ्यो । पीडितले बलात्कारमा संलग्न दोषीमाथि कारबाही गरियोस् भन्दा कञ्चनपुरको प्रहरी प्रशासन दमनमा उत्रियो । थुप्रै घाइते र सनी खुनाको ज्यान लिने कार्यले नाङ्गिएको गृह प्रशासन कर्मचारी फेरबदलबाट समाधान खोज्न तम्सियो । प्रहरीले अभियुक्त देखाएको दिलीपसिंह विष्टको डीएनए परीक्षणपछि प्राप्त नतिजाले आजसम्मको मिहिनेत खेर गएको छ । निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट र मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए परीक्षण गर्न बाध्य हुँदा महत्वपूर्ण झण्डै दुई महिना गुमाइसकिएको छ । न्याय प्राप्तिको निम्ति तिर्खाएका निर्मलाको मातापिता र महेन्द्रनगरका जनता भदौ २८ पछि फेरि आन्दोलित भएका छन् ।

किन चुक्यो सरकार ?

आसेपासे, पदखोर, बिचौलिया, व्यापारी, ठेकेदार, भक्तहरूले घेरिएर समृद्धिको सपना बुन्दै बसेको सरकार कञ्चनपुर घटनामा किन चुक्यो ? जसले गर्दा प्रहरी सङ्गठन र सरकारी निकाय कसको सेवा गर्न मरिहत्ते गर्दै छ भन्ने सवाल अकस्मात् बढ्न पुगेको छ । जब कर्मचारीहरू कामप्रति प्रेरित हुन्छन् तिनीहरू राम्रो, विचारशील र स्मार्ट निर्णयहरू गर्न ससक्त हुन्छन् । सरकारको सही भरोसा मिल्दा कर्मचारी सम्मानित जोखिम मोल्न तयार हुन्छन् । जब कर्मचारीको सरकारप्रतिको धारणामा परिवर्तन हुन थाल्छ, तब खराब निर्णयहरू हुन थाल्छन् भन्ने पुष्टि अनुसन्धानमा संलग्न वीरेन्द्र केसीको नाटकीय राजीनामा र फिर्तालाई लिन सकिन्छ । सत्ता–नसामा निदाइरहेको सरकार जनता, कार्यकर्ता र पार्टीसँग सम्बन्ध टुटाउन पुग्दा सही समयमा उचित निर्णय लिन चुकेको महसुस निर्मला बलात्कार र हत्याकाण्डपछि आममानिस गर्दै छन् ।

ठूला कुरा मात्र गर्ने, साना कुरा सुन्नै नचाहने, सबैतिर रामराज्य मात्र देख्ने, जनताको समस्या, आवाज र विचारलाई समृद्धिविरोधी देख्ने वर्तमान सरकार हरेक समस्यालाई सुरुवाती समयमा हल्का पाराले लिँदै छ । आमनागरिकले केवल न्याय माग्नको निमित्त तोडफोड, आगजनी, नारा–जुलुस, चक्काजाम र ढुङ्गा प्रहार गर्नुपर्ने लोकतन्त्रले पञ्चायती शासन सम्झाउँदै छ । बलात्कारपछि हत्याजस्तो घृणित र खतरनाक घटनामा दोषीलाई कारबाही होस् भन्दै जनता जाग्नुपर्ने वर्तमान लोकतन्त्रमा प्रहरी प्रशासनको ज्यादतीको सिकार हुँदै मृत्यु भोग्नुपर्ने विचित्रको लोकतान्त्रिक शासन न्यायको तिर्खा मेटाउन असफल हुँदै छ ।

अन्तमा, डाक्टर कारमेन हाराले पस्केको ज्ञान लोकतान्त्रिक सत्तालाई दिनैपर्दा ठीक समयमा उचित निर्णय लिन सङ्केतहरूमा ध्यान दिनुहोस् । आफ्नै सल्लाह लिनुहोस् । आफ्नो अन्तस्करण सफा राख्नुहोस् । नकारात्मक भावनाहरू हटाउनुहोस् । तपाईंको प्रभावहरू जान्नुहोस् । तपाईंको कार्यकाल बुझ्नुहोस् । रातो झण्डा पार नगर्नुहोस्, आफ्नो विचार व्यवस्थित गर्नुहोस् भन्नैपर्ने भएको छ । अन्यथा निर्मलाको बलात्कारपछि भएको जघन्य हत्याकाण्डले सिंहदरबारलाई नमिठो पाठ पढाएरै छोड्नेछ ।