नेकपाका हिरानीहरु !

सामाजिक मुद्धा माथी सन्देश मुलुक प्रहार गर्न सक्ने खुबीले भरिपुर्ण लेखक तथा फिल्म निर्देशक राजकुमार हिरानीले भारतिय सिनेमा उद्धोगमा आफ्नै स्थान बनाई सकेका छन । कुनै पनि बिषय बस्तुलाई सिनेमाको पर्दामा उतार्नु अघी बिशेष समय र दिमाग खर्च गर्ने बानीले उनको लोकप्रियता देशको सिमाना काटेर फैलदै छ । उनै हिरानी द्वारा निर्देशित पछिल्लो भारतिय चलचित्र ‘सञ्जु’ बक्स अफिसमा धमाका मच्चाउन सफल भएको छ ।

करीब ५८० करोड भारतिय रुपैयाको कारोबार गर्दै आम्दानीको हिसाबले दोश्रो स्थानमा नाम लेखाई सकेको छ । पिता सुनिल दत्त र माता नर्गिसको तीन सन्तान मध्य एक मात्र पुत्र सञ्जय दत्तको जीवनमा आधारित फिल्म सञ्जु पस्कने क्रममा लेखक हिरानीले कलम माथी न्याय नगरे पनि सञ्जय दत्त माथी भरपुर न्याय गरेका छन ।

सञ्जय दत्तले जिन्दगीमा गर्नु नगर्नु गरे । उनले नसा लिए । भिख मागे । बेश्या गमन गरे । मुम्बई बम काण्डका दोषी सँग सम्पर्क राखे । घर छोडे । रक्सी पिएर बबाल मच्चाए । उनको सबै कमी कमजोरीलाई फिल्मको पर्दामा उतार्दै गर्दा हिरानीले यती सम्म भन्न भ्याए । उनी रामो मानिस थिए । केवल साथीको कारणले नराम्रो हुँन पुगे । दत्तलाई नराम्रो देख्ने र भन्ने निकाय केवल मिडिया मात्र हो । सञ्जयलाई तपाई जती सुकै आरोप लगाउनुस । उनले परिबन्धमा परेर नराम्रो गरेका हुँन । उनी राम्रो मानिस हुँन ,काम मात्र नराम्रो गरेका हुँन । अझ डी कम्पनीले दिएको एके ५६ राइफल घरमा राखेको घटना सामान्य बनाउँन सञ्जु सबै थोक हुँन सक्छन तर आतंककारी हुनै सक्दैनन भन्दै आफ्नो कलमको तागत देखाई दिए ।

शरिर कम चल्ने मुख ज्यादा चल्ने पुर्व एमाले नेता केपी ओली निर्वाचन पूर्व दिमाग पनि चलाउन राजी हुँदा नेकपा नामको बोइङ्ग निर्माण गर्न सफल भए । प्रचण्ड जस्तो चलाख नेतालाई को – पाइलट बनाउँदै सरकार र नेकपाको कमाण्ड समाल्न सफल हुँदा आशिर्बाद दिने स्थानमा पुगेका छन । स्थानिय , प्रदेश , केन्द्र सरकार मात्र हैन पार्टी र राजकिय सुबिधाको पदहरु आफुलाई गुन लगाउन मरीहत्ते गर्ने ब्यक्ती , समुह वा गुटलाई पुरस्कार दिन कञ्जुस्याँई नगर्दै पार्टीको नीति , नियम ,विधी र पद्धतीलाई मिल्काउँदा उनका भक्तहरु अत्यन्त खुशी छन । जबज , राष्ट्रबाद र समृद्धीको जगमा उठेको उनको उचाईको सामुन्ने बाँकी नेता पुडका साबित बन्न पुग्दा अन्तर पार्टी लोकतन्त्र ‘कोमामा’ पुगी सकेको छ ।

बर्ष दिन सम्म बैठक नबस्ने केन्दिय कमिटी , अचानक अपाङ्ग बनाइएको पोलिटब्युरो , केवल साक्षी बस्नको निम्ती डाकिने स्थायी समिती बैठक र बालकोट बालुवाटारलाई पार्टी कार्यालय बनाउने कार्यशैली ओली लोकतन्त्रको नमुना बनिसकेका छन । प्रधानमन्त्री ओली पुर्णतया सही छन । उनी अत्यन्त उदार र लोकतान्त्रीक छन । उनको परिक्रमा गरे जे पनि पाइन्छ भन्ने नेकपाका हिरानीहरु ओली कमजोरीलाई सामान्य र बाध्यता बस हुँन पुगेको मात्र देख्छन । उनको जबज र लोकतन्त्र प्रतीको प्रतिबद्धता माथी संका नगरियोस भन्ने हिरानी शैली सञ्जु फिल्मसँग ठयाक्कै मेल खान्छ ।

वर्तमान समय सिंहदरबार गुल्जार छ । वाम सत्ताका नायक प्रधानमन्त्री ओली कुर्सीमा बिराजमान छन । उनी नेपाली जनताको मुर्छित सपना पुरा गर्न दिन रात एक गर्दै छन । नेकपाको सपना , पार्टी घोषणा पत्र , वाम सरकारको नीति तथा कार्यक्रमलाई अत्यन्त तिब्रताको साथ पुरा गर्न निषेधित क्षेत्र निर्माणलाई अनिबार्य देख्दैछ्न ।

देश र जनताको हितमा अत्यन्त चिन्तित न्यायालय माइतीघर मण्डलामा हुने ध्वनी प्रदुषणले जनपक्षिय निर्णय गर्न नचुकोस भन्दै श्रीमानहरुको निम्ती मोलिएको जोखिमलाई सही ढंगले बुझीदिन तमाम लोकतन्त्रबादीलाई दबाब दिंदैछन । लोकतन्त्रमा बिरोध ब्यबस्थीत हुनुपर्छ र गरिनुपर्छ भन्ने ओली सरकारको सदासयता पश्चिमा नुनको कारण बदनाम गरिएको मात्र हो । बाँकी गतीबिधि जनपक्षिय नै छन । लोकतन्त्रकै मातहत गरिएका छन भन्ने शैली हिरानीकै मनबाट उब्जेको मानिदैछ ।

मुलुकको सबै खाले अस्थिरतालाई चिर्दै सर्बसाधारण जनताको चाहाना शान्ती , स्थिरता र समृद्धी वाम सत्ताबाट पुरा हुनेछ भन्ने जनचाहाना मतपत्रमा पोखिदा सिंहदरबारको कुर्सी प्रधानमन्त्री ओलीको पोल्टामा पर्न गएको छ । २००६ साल देखी नेकपाले बुनेको परिकल्पना र अनेकौं संघर्ष बाट जन्मिएका जन चाहानालाई दुई , पाँच र दश बर्षे समय सिमा तोक्दै निर्वाचनमा होमिएको वाम गठबन्धन तमाम सपना पुरा गर्ने स्थानमा बिराजमान छ । पार्टीको , जनताको र आफ्नै सपनालाई पुरा गर्न बिज्ञ अर्थमन्त्रीको चयन गर्दै लम्किएको ओली सत्ता जनताको नजरमा ‘ कर प्रसाद र कर राजको ‘ उपाधी प्राप्त गर्दैछ । सत्ता प्राप्तीको निम्ती फ्याँकिएका सम्भब असम्भब सपनालाई चटक्क बिर्सिएर जनता माथी अनुपयुक्त आर्थिकभार थोपर्ने ओली शैलीलाई नेकपा भित्रका हिरानीहरु बाध्यता देख्दै छन ।

प्रधानमन्त्री ओली बृद्धहरुलाई तत्काल पाँच हजार दिन चाहान्थे । ढुकुटी खाली छ । विगतमा काँग्रेसले गरेको बदमासीको कारण केही गर्न सकिएन । उनीहरुले केही गरेनन । उनी धेरै थोक गर्न कस्सिदै छन । त्यसैले अधिनायकबादको हल्ला पिटाउँदै ओली सरकारलाई अबरोध गर्दै छन । ढुकुटी खाली भएकै कारण ‘कर ‘ लाई सामान्य फेरबदल गरिएको मात्र हो ।

बाँकी सबै काँग्रेसी हल्ला मात्र हुन भन्ने हिरानीहरु गरीब माथी पर्न गएको असुबिधा प्रती ओली अत्यन्त दुखी छन भन्न पछी पर्दैनन । गरीव जनताले एकिकृत सम्पती कर तिर्न हल गोरु बेचेको घटनालाई सामान्य मान्ने हिरानी शैली ओली गरीवका प्रतिनिधी हुन । अरु कुरा प्राबिधिक मात्र हुन भन्दै छन । आफ्नो इच्छा र चाहाना नहुदा नहुदै दक्षिण पश्चिमले उपहार दिएको संघीयता हुर्काउन चाहाना कै बिपरित जनता माथी थोपर्न बाध्य भएको अनुपयुक्त आर्थिक भार र अन्य करकै आधारमा उनको समाजबादी सर्टिफिकेट नखोसी दिनु होला ।

कुर्सीको निम्ती जति सुकै पुँजीबादी कार्य गर्न बाध्य भए पनि प्रधानमन्त्री ओली समाजवादी थिए , छन र रहने छन भन्ने हिरानीहरु ओली कार्यकालमा थपिएको तमाम आर्थिक भारलाई सञ्जय दत्तले एके ५६ बाउ आमाको सुरक्षाको निम्ती राख्न बाध्य भएको जस्तै मानी दिन अनुरोध छ ।

मुलुक भित्र स्थापित कुनै पनि संस्था , संगठन , निकाय चुस्त दुरुस्त छैनन । विगत लामो समय देखीको राजनैतिक अस्थीरताको कारण मुलुकको बेथीती, बिकृती र विसंगतीलाई सच्याउन कहाँबाट सुरु गर्ने ? ओली सत्ताले अहिले सम्म भेउ पाउन सकेको देखिदैन । चौतर्फी लादिएको एकाधिकार , कार्टेलिङ्ग , सिण्डिकेट भत्काउन सफल हुदा जनता, मुलुक , लोकतन्त्र , राज्यको कारोबार र राजनीति फस्टाउँछ भन्ने जनचाहाना यातायात क्षेत्रको सिण्डिकेट तोड्ने हल्ला बिचैमा तुहिए सँगै आम जनताको भरोषा डगमगाउँदै छ । भारत र चीनसँगको असन्तुलित राजनैतिक सम्बन्धलाई सही ट्रयाकमा ल्याएको ओली सत्ताको दाबीलाई जनताले खासै महत्व नदिएको वर्तमान समयमा सामान्य मानिसले महशुस गर्न सक्ने सुधारको कामलाई दुई तिहाईको सरकारले आफ्नो प्रथमिकतामा नराख्दा स्थानिय , प्रदेश र केन्द्र सरकारमा नेकपाको उपस्थिती निरर्थक बन्दैछ ।

ओली सत्ताको काम ठुला ठुला सपनामा केन्द्रित हुने हो । खुद्रा मसिना झमेलामा अल्झीने फुर्सद छैन भन्ने हिरानीहरु ओलीग्राफ खस्केको देख्नै सक्दैनन । काठमाडाैवासीलार्इ खुवाउने मेलम्चीको पानी , कलङ्की नागढुङ्गा सडकको दुराबस्था , काठमाडाै‌काे फोहोर र धुलो , देशै भरका स्थानिय निकायमा जनताले पाएको दुख , मालपोत कार्यालयको अनियमितता र झमेला , जिल्ला प्रशासन कार्यालयमा पाइने सास्तीलाई रोक्ना साथ राहतको महशुस गर्ने कुरालाई अन्देखा गर्ने ओली सत्ता र उनको नेतृत्व आमुल परिवर्तनकामी र क्रान्तीकारी देख्ने वालुवाटार निबासी नेकपा भित्रका पदखोर हिरानीहरु ओली राजलाई राम राज्य देख्दै छन । जनताको पक्षमा देखिएको सपनालाई अधिनायकवादी देख्ने मिडिया र काँग्रेस पार्टीको आरोपलाई हटाएर हेर्नुस । आमुल परिवर्तनको निम्ती काम गर्दै गर्दा भएका सामान्य कमी कमजोरी हटाएर बुझी दिनुस । उनको ब्यङ्ग , घोचपेच र मजाकिया शैलीलाई बिर्सी दिनुस । प्रधानमन्त्री ओली सम्पुर्ण जनताको अभिभावक हुन । उनी दिन रात पार्टी , जनता , समृद्धी र लोकतन्त्रको लागि रोगी शरिर घोट्दैछ्न भन्ने नेकपाका हिरानीहरु ‘सञ्जु’ फिल्मको प्रभावमा परेको चर्चा चोक चोकमा ‘हटकेक ‘ बन्दैछ ।