तुकारामको फर्सी र ओली सरकारको मधुमास !

ओली सरकारले मधुमास पूरा गरेको छ । संसदीय शासन पद्धतिमा सरकारलाई बाधा र आलोचनाबिना काम गर्न दिने समयलाई मधुमास भनिन्छ । हनिमुन अवधिमा प्रतिपक्षीद्वारा टिप्पणी, विरोध वा अवरोध नगरी सरकारको कामकारबाही पर्ख र हेरको सिद्धान्तअनुरूप गरिन्छ, साथै मधुमासपछि कामकारबाहीको मूल्याङ्कन गर्ने विश्वव्यापी प्रचलन छ । उत्पात र उल्कैको काम गर्छु भन्ने आशा देखाउँदै जन्मिएको ओली सरकारको निम्ति सय दिन आफैँमा त्यति लामो समय होइन । ठूलो सपना देखाएको कारण केही गरिहाल्छ कि भन्ने जनताको आशा वर्तमान क्रियाकलापको कारण तुकारामको फर्सी बन्छ कि भन्ने चिन्ताले सताउँदै छ ।

भारतको महाराष्ट्र गाउँमा तुकाराम नामको एक किसान बस्थे । अत्यन्त मिहिनेती किसान तुकाराम खेतभरि फर्सी फलाउँथे, तर किसानको फर्सीप्रति त्यति रुचि थिएन । कसैको प्रवाह नगर्ने तुकाराम फर्सीखेतीलाई निरन्तरता दिइरहन्थे । एक दिन गाउँले किसान धार्मिक भ्रमण गर्ने निधो गर्दै तुकाराम भेट्न उनकै खेतमा पुगे । खेतभरि लडिरहेको फर्सी देखाउँदै तुकारामले भने– माफ गर्नुस् म जान सक्दिनँ, तर मेरो एउटा फर्सीलाई सँगै लानुहोस् । हरेक तीर्थस्थलमा स्नान गराएर ल्याइदिनुहोस् । सोझा गाउँले तुकारामको फर्सी लिँदै भ्रमणको निम्ति निस्किए ।

करिब एक महिना फर्सीलाई विभिन्न तीर्थस्थलको भ्रमण, पूजापाठ र स्नान गराउँदै फर्किएका गाउँले फर्सी दिन तुकारामको घर पुगे । हर्षले रमाउँदै तुकारामले किसानलाई भने– आजको खाना मकहाँ खाने र आराम गर्ने । लामो यात्राले थकित किसान खुसी साथ तयार भए । तुकारामले एक महिना घुमेर फर्किएको फर्सी पकाउँदै खानाको प्रबन्ध गऱ्यो । खाना खाने समय तुकारामले गाउँलेलाई सोध्यो । फर्सीको तरकारी कत्तिको मीठो छ ? सोझा किसानले नढाँटी भने– फर्सी मीठो छैन । गाउँलेको जवाफ सुन्नासाथ फिस्स हाँस्दै तुकारामले भन्यो– यो फर्सी भन्ने जातै यस्तै हो । स्नान गरे पनि, भगवान्को दर्शन गरे पनि, जति घुमे पनि स्वाद नबदलिने । तपाईंहरूको एकमहिने मिहिनेतको बाबजुद फर्सीको स्वाद परिवर्तन भएन । त्यसैले म तपाईंहरूसँग नगएको । जता गए पनि, जसको दर्शन गरे पनि मेरो सोच परिवर्तन हुने होइन । गाउँले किसान तुकारामको कुराले खिन्न र निराश हुँदै सुते ।

जनतालाई डर देखाइयो, डर देखे । प्रजातन्त्र, लोकतन्त्रको गफ सुनाइयो, त्यही सुने । हत्या, हिंसा, ध्वंश लादियो, सबै भोगे । अहिले ओली नेतृत्वमा समृद्धि र मूर्छित सपनाहरू देखाइँदै छ । त्यो देख्न पनि राजी नै छन् । वर्तमान समयमा डाक्टर ओली सिंहदरबारको कुर्सीमा विराजमान छन् । उनीद्वारा नेपाली जनतालाई देखाइएको सपनाको बाधक राजतन्त्र देशमा छैन । उनको सपनालाई मूर्छित बनाउने दिल्लीसत्ता र मोदीसँग गहिरो दोस्ती जमिसकेको छ । तत्कालको निम्ति उनको राजनीतिक मैदान करिब खाली नै छ । यस्तो अवस्थामा ओलीको सपनामा भाँजो हाल्ने शक्ति रक्षात्मक अवस्थामा पुगेका छन् । स्थानीय तह, प्रदेश सरकार, मुख्यमन्त्री, मन्त्री, योजना आयोग, राष्ट्रपति, सचिवलगायत विकासे काममा प्रत्यक्ष सहभागी हुने सम्पूर्ण स्थानमा ओली सत्ता कायम भइसकेको छ । त्यसका बाबजुद उनको शैली र व्यवहार समृद्ध नेपालको निम्ति नबदलिएको चर्चा व्यापक हुँदै छ ।



करिब ९ हजार कर्मचारी स्वैच्छिक अवकाश कुरेर बसेका छन् । राज्यसँग पैसा छैन । विज्ञ अर्थमन्त्रीले उठाउन नसकेको सेयर बजार, प्रतिपक्षीलाई गाली गरेर चोखिने उपायअन्तर्गत ल्याइएको स्वेतपत्रसँग बाझिएको उनको भनाइ हास्यरसमा सीमित हुँदै छ । ‘अबको ५ वर्ष विकासको दृष्टिकोणले असाधारण हुनेछ, आउँदो आधा दशक नेपालमा विकास, सफलता, परिवर्तन र उपलब्धिको समय हुनेछ’ भन्दै दिन गुजारिँदै छ । गत महाधिवेशन सकिना साथ एमाले मुख्यालय बल्खुमा भावनात्मक कुरा गर्दै आमजनता र कार्यकर्ताको मन जित्न खर्च गरिएका शब्दहरू आफूसँग सुविधाजनक समय छैन भन्ने कुरा औचित्यहीन बनाइएका छन् । फागुन ३ गते प्रधानमन्त्री भएका ओलीले चैत २ गतेसम्म तीनपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि पूर्णता दिन सकेनन् । ड्याङका ड्याङ विकासे निर्णय गर्ने समयमा मन्त्री बनायौँ भने गाडी दिनुपर्छ, गाडी छैन । मन्त्री बनायौँ भने मन्त्रालय दिनुपर्छ, मन्त्रालय छैन । मन्त्री बनाऊँ भने कर्मचारी दिनुपर्छ, कर्मचारी पनि छैन । यस्तो अवस्थामा हामी छौँ भन्दै छन् । यो त हेन्डसमहरूको देश हो । शास्त्र पढे हुन्छ । उर्वशी, मेनका, राम, कृष्ण भनेपछि कति हुरुक्क हुन्थे ? नेपालीजति सुन्दर कोही हुन्छन् र भन्दै कलाकार हँसाउने ओली हास्यरसबाट समृद्ध नेपाल निर्माण गर्न कम्मर कस्दै छन् ।

समृद्धिको ज्वरोले रन्थनिएको ओली सरकार फागुन ३ गतेदेखि चैत २३ गतेसम्म आफ्नै गुटको फर्सी फलाउँदै ५४ जनाको दलबलसहित भारत भ्रमणमा निस्किए । भारतीय सत्ताको परम्परागत सोचको कारण बिग्रिएको ओली–मोदी सम्बन्ध वान टु वान वार्ताको जगमा सुध्रे पनि ओली कार्यशैली तुकारामको फर्सीको स्वादभन्दा भिन्न हुन सकेन । त्यसैको प्रभावले हुन सक्छ, डाक्टर ओली विकास भनेको रेल र पानीजहाजबाहेक केही होइन भन्ने अवस्थामा पुगेका छन् । विगतमा पार्टी फुटाउने कारणसम्म बनेको महाकाली सन्धि, सीमा समस्या, सन् १९५० को सन्धि, व्यापार घाटा, ग्यास बुलेटका कुरालाई चटक्क बिर्सेर सग्लो फर्किएको ओली राष्ट्रवाद मोदी आशीर्वादमा टिक्ने कोसिस गर्दै छ ।

डाक्टर ओलीलाई राम्रो थाहा छ– भारतले नेपालको बिजुली किन्दैन । नेपालको कृषि उत्पादन किन्दैन । पञ्चेश्वर बनाउँदैन । अनि आफ्नो दुनो सोझ्याउन नगरी नहुने कुरा भनेकै रेल र पानीजहाज हो भन्ने जानेरै भनेको कुरा हो । इस्टइन्डिया कम्पनीले आफ्नो व्यापारिक स्वार्थको निम्ति भारतभर बिछ्याएको रेल सञ्जालको कहानी बुझ्न नसक्ने ओली सोच चीन र भारतले २१औँ शताब्दीमा चाहेको आधार निर्माण गर्न मरिहत्ते गर्दै छ । दोहोऱ्याई–दोहेऱ्याई भन्छन्– दुई वर्षभित्र रेल गुडाएरै छोड्ने हो । पानीजहाजले मानिस ओसार्ने हो । कुनै जमानामा राजा महेन्द्रले भनेजस्तो गाडी चढेर समाजवाद आउँदैन भन्ने बुझ्ने पहिलो भारतीय मोदीले रेल र पानीजहाजबाट समृद्ध नेपाल बन्दैन भन्ने बुझिदिए । त्यसैको प्रतिफल हो, सगरमाथाको देश सागरसँग जोडिनेछ भन्ने र वीरगञ्ज–काठमाडौं रेलमार्ग ।



नेपाली जनताले चाहेको विकास के हो ? वर्तमान अवस्थामा कुन विकासलाई प्राथमिकतामा लिने ? समग्र देशको दीर्घकालीन विकासको निम्ति सम्पूर्ण राजनीतिक शक्ति र समुदायसँग कसरी सहकार्य गर्ने ? देशको प्राकृतिक स्रोत र साधनको अधिकतम प्रयोग कसरी गर्ने भन्ने कुरालाई आँखा चिम्लँदै शुरु गरेको ओली उडान रोकिने छाँटकाँट छैन । प्रचण्डको चर्को बार्गेनिङ, आफ्नै गुटको कठिन व्यवस्थापन, जगबिनाको मूर्छित सपनाले मात्र सिंहदरबारको कुर्सी नजोगिने आत्मज्ञानको कारण बाध्यात्मक बनेको दिल्ली आशीर्वादको गुन तिर्न बाध्य हुँदै छन् । विगतमा आफ्नो कारण मोदीसत्ता सिंहदरबार र तराई–मधेसमा कमजोर हुनु र मोदीको कारण आफ्नै देशको दुई नम्बर प्रदेश जान मुस्किल पर्दा बाध्यात्मक सहकार्य गर्दै नाकाबन्दीको दाग पखाल्न एकसाथ जनकपुर पुग्दै रोचक र रणनीतिक खेल सम्पन्न गरिएको छ । नाकाबन्दीको कारण गुमेको मोदी–प्रभाव स्थापित गरिदिने, नेपालको तराई–मधेसमा जरा गाड्दै गरेको पश्चिमा र मुस्लिम प्रभावलाई घटाइदिने, चीनको काठमाडौं आगमनलाई पातलो बनाउन सहयोग गर्ने ओली काइदा समृद्ध नेपाल र उनको सत्ताको निम्ति कत्तिको फलदायी हुनेछ भन्न मोदीको दोस्रो कार्यकाल कुर्नुपर्नेछ ।

अत्यन्त सानो घेरामा रम्न चाहने, व्यवस्थापन गर्नभन्दा गफमा उत्साहित हुने, आफूलाई मात्र सही देख्ने, सबै विषयको ज्ञाता सम्झने, आफ्नै माग्ने अवस्थालाई भुल्दै दाताको अभ्यास गर्ने, बहुमतको नाममा विधि, प्रक्रिया र पद्धतिलाई बेवास्ता गर्ने, मित्रहरूलाई थकाउने र गलाउने, गठबन्धन सरकारको हैसियतलाई भुल्ने, सेवकभन्दा शासकको अभ्यास गर्ने, विदेशीलाई रिझाउने, आफ्नालाई पेल्ने, मन्त्रिपरिषद् सदस्यलाई नोकरको हैसियतमा राख्ने, भिख मागेर ताजमहल बनाउने सपना देख्ने, विदेशीसँग डिल गर्दा सम्बन्धित मन्त्रालय र मन्त्रीलाई बेवास्ता गर्ने गतिविधि झाँगिँदै जाँदा ओली सरकारको हनिमुन तुकारामको फर्सीजस्तै बेस्वादिलो बन्दै छ ।

अन्त्यमा, राष्ट्रवाद, स्थिरता र समृद्धिको आकर्षक नारामा प्राप्त अल्पकालीन सत्ता आन्तरिक एकतामार्फत मजबुत गराउनुको सट्टा दक्षिणको आशीर्वादले टिक्ने पछिल्लो दौडधुप र मोदीसेवाले उनको राष्ट्रवादी छवि नराम्रोसँग पखालिएको छ । वर्तमानकै घेराबन्दी र उडन्ते कार्यशैली तत्काल रोक्न नम्र, भद्र, शिष्ट, चुस्त, दुरुस्त, वस्तुवादी र यथार्थवादी विज्ञटिम निर्माण गर्नुपर्नेछ । अन्यथा सयौँ तीर्थस्थलको भ्रमण र जलस्नानले नबदलिएको तुकारामको फर्सीकै नियतिमा ओली सरकार पुग्नेछ । तत्पश्चात् प्रधानमन्त्री ओलीको ‘सपनारूपी फर्सी’ कसैले खाने छैनन् भन्ने ठोकुवा गर्न सकिन्छ ।