वाम एकताले जन्माएको चर्चा परिचर्चा !

नेताले कान्छी भित्र्याएको निहुँमा , राजा , का‌ग्रेस , रुस र चीनको कम्युनिष्ट पार्टीलाई हेर्ने सवालमा मात्र हैन आफ्नो पदिय हैसियतको निम्ती सैद्धान्तिक जामा पहिर्याउँदै नयाँ पार्टी जन्माउने नेपालको कम्युनिष्टहरु गत जेठ ३ गते परम्परागत सोच बिघटन गर्न राजी भए । बिगतमा फुटन मात्र जानेका जुटन नजानेका आरोपलाई झुटो साबित गर्दै निर्माण गरिएको नेकपा अण्डर लाईन वाम कार्यकर्ता , समर्थक , शुभेच्छुक , भोटर र सर्बसाधारण मानिसको ध्यान खिच्दैछ ।

२०७४ साल असोज १७ गते अप्रत्याशित , अकल्पनिय र अबिश्वसनिय वामगठबन्धन बनाउन सफल एमाले माओबादी केन्द्र औपचारिक रुपमा एउटै भान्सा बनाउने जेठ ३ को निर्णय अनेकौं कमजोरीको वाबजुद ऐतिहासिक उपलब्धि मान्नेहरु काफी भेटिन्छन ।

वाम एकता टिकाउ माथी अडकल बाजी :

वाम चरित्र र ब्यबहार लाई हेर्दा उनीहरु मिल्न सक्दैनन भन्ने आरोप करीब सत्यसंग नजिक रहदै आएको छ । २००६ सालमा जन्मेको नेपालको कम्युनिष्ट पार्टीको पुच्छरहरु गन्दा फुटन जानेका जुटन नजानेका आरोपमा अपवाद पनि भेटिन्छ । माले मार्क्सबादी मिल्दै एमाले र बीचमा एमाओवादी फुटाउँदै गएका शक्तीहरु नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी विद्रोही समूह, नयाँ शक्ति नेपालको हिस्सा समेत २०७२ मा एक हुँदै बनेको नेकपा माओवादी केन्द्रबीचको एकताले केही गम्भिर सवाललाई जन्म दिएको छ ।

पद बिना बाँच्न नसक्ने, एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने, पार्टीको कार्यदिशा र कार्यनीतिमा चित्त नबुझ्ना साथ चुलो बाली हाल्ने कम्युनिष्टहरुको बिगतलाई सही साबित गर्दै भएको एकतामा वर्तमान झल्केको पाइन्छ । फलस्वरुप मार्क्स , लेनिनको जन्म जयन्ती , नेकपाको जन्म दिनलाई छोडेर मदन आश्रीतको दुखद मरण दिनलाई चुन्दै दिएको सन्देश आफैमा अर्थपूर्ण छ । सिद्धान्त , कार्यदिशा र कार्यनीति भित्र प्रबेश गरे पार्टी एकता हुन मुस्किल पर्ने दिब्य ज्ञान फुर्ना साथ संसदीय र राजकिय सुबिधालाई मध्य नजर राख्दै निर्माण गरिएको एकिकृत पार्टीको केन्द्रिय कमिटीको अनुपयुक्त संख्यालाई लिन सकिन्छ ।

झलनाथ खनाल , भीम रावल , ईश्वर पोखरेललाई माइनस गर्दै पूर्व एमाले नेता ओलीले विष्णु पौडेललाई उत्तराधिकारी बनाउने वर्तमानको खेल भबिष्यमा निर्णायक बन्न पुगे नेकपा अण्डरलाईन साँच्चीकै नेकपा लेनदेनमा बदलिने राजनैतिक बिश्लेषकहरुको राय छ । सामान्यतया फुटलाई कसैले राम्रो मान्दैन । तर केवल कुर्सी , पैसा , सत्ता र पदिय स्वार्थको निम्ती फुट अनिवार्य बन्न पुग्दछ भन्ने कुरा विश्व राजनीति र इतिहास हेरे बुझ्न सकिन्छ । पात्र र प्रवृती नबदलिएको केवल स्वार्थहरु हावी भएको वर्तमानको वाम एकता मिलेर खाने सिद्धान्तको जगमा निर्माण भएको हैन भन्ने प्रमाणित गर्न सके मात्र वाम एकताको भविष्य निर्धारण हुनेछ ।

के अब कांग्रेस क्रान्तीकारी बन्छ :

संसदको पहिलो र तेस्राे कम्युनिष्ट पार्टी औपचारिक रुपमा एक भएपछी आफूलाई नेपालको एक मात्र लोकतन्त्रवादी पार्टी ठान्ने नेपाली कांग्रेस संसदमा करीव नभएको अवस्थामा पुगेको छ । आफ्ना राजनैतिक हस्तीहरु गत निर्बाचनमा पराजित भएको साथै संसद र सडक सत्तारुढ दलको पकडमा गएको अवस्थामा आगामी राजनैतिक यात्रा कसरी तय गर्नेछ ? भन्ने गम्भिर सवालले जन्म लिएको छ । बिगतको सत्तामुखी राजनीतिबाट जमेको कांग्रेसको राजनैतिक शरिर वामएकता पछी झनै दुब्लाउने निस्चित मानिएको अवस्थामा आफ्नो राजनैतिक अस्तित्व कायम राख्न पनि कांग्रेस क्रान्तिकारी बन्नु पर्ने अवस्था सिर्जना भइसकेको छ ।

विगतको कमी कमजोरी प्रती आत्म आलोचना गर्दै , संगठनलाई चुस्त दुरुस्त बनाउँदै , नयाँ जोस जाँगर र दृढ इच्छा शक्ती साथ जनताको घर आँगनमा कांग्रेस नपुगे उसको स्थानमा अरु नै आउने ठोकुवा गर्न सकिन्छ । यथास्थीति, वर्तमान नीति , कार्यक्रम र नेतृत्व कायम रहे ओली सरकार लगाम बिनाको घोडा बन्नेछ । आफूलाई समय सापेक्ष परिवर्तन गर्दै , वामसत्ताको आलोचनात्मक समर्थन गर्दै , विगतको छबीमा आमुल परिवर्तनको आभाष दिंदै शान्ती , स्थिरता र समृद्ध नेपाल निर्माणमा सहभागी बने भविष्य जिवित हुनेछ । अन्यथा समयले कसैलाई पर्खदैन भन्ने कांग्रेसले बुझ्नेछ ।

ज्योतिष पेसा धरापमा :

निर्वाचनको दौरान नेता ओलीले कांग्रेस नेता देउवालाई घोचपेच गर्दै भने , नेपाली कांंग्रेसको अन्तिम प्रधानमन्त्री शेर बहादुर हुन् । देशभर वाम गठबन्धनको लहर आएको समय ओली घोचपेचको जवाफ देउवाले ज्योतिषको सहारा लिंदै दिए । ज्योतिषले भनेको छ । सात चोटी प्रधानमन्त्री हुन्छु । राजनैतिक अस्थिरताको आडमा बाँडीचुँडी खान जे गर्न पनि पछी नपर्ने देउवाको सो भनाई पछिल्लो समय कतै सत्यमा बदलिने त हैन भन्ने आसंका ओली कार्यशैलीले गरीरहेको थियो । घोचपेच गर्न माहिर ओलीले कुनै बेला माओबादीलाई चर्को आलोचना गर्दै भन्थे ।

झोला किनी दे भन्यो । किनी दियो । हात्ती किनी दे भन्यो । किनी दियो । अब त्यही झोलामा हात्ती हाली दे भन्दैछन । यस्तो बिचित्रको माग कसरी पूरा गर्न सकिन्छ ? भन्ने ओली आफ्नो पद जोगाउन र ज्योतिष पेसालाई धरापमा पार्न झोलामा हात्ती हाल्न तयार हुँदै प्रचण्डको हर माग पूरा गरेको चर्चा रोचक लाग्दैछ । वर्तमान संसदको अंकगणित र प्रचण्डको अस्थिर चरित्रलाई राम्रो संग बुझेका शेर बहादुर र नेपाली ज्योतिष प्रती अत्यन्त भर पर्नुको कारणले नै हो पार्टीको अकल्पनिय पराजयको बाबजुद कांग्रेस संसदीय दलको नेता र पार्टी सभापती पद छोड्न चाहेनन । ओलीले आफ्नो राजनैतिक ब्यबस्थापन गर्न चालेको कदमले देउवा सपना र ज्योतिष पेसा एक साथ धरापमा परेको गाईगुई सुनिदैछ ।

के बाहिरी चलखेल र आन्तरिक ध्रुबीकरण तिब्र बन्दैछ ?

नेपालको भूअबस्थीति र विश्व राजनीतिको आखा गडेको नेपाल पछिल्लो समय वाम उदय संगै बाहिरी देशको उत्सुकता र राजनैतिक दाउपेचको तारो बन्ने निश्चित छ । कम्युनिष्टको नामै सुन्न नचाहाने अमेरिका र कम्युनिष्टको प्रभाब तत्काल पर्ने भारतको नजर पलपल नेपाली राजनीतिमा रहने सजिलै बुझ्न सकिन्छ । छोटो समय अघी राजनैतिक दाउपेचको सिकार भएको राजतन्त्रको बचेखुचेको आषा , सत्ता बिहिन कांग्रेसको वास्तबिक पिडा , संसद बाहिर थेचारिएको अन्य कम्युनिष्ट पार्टीको कुण्ठा र जातीबादी , क्षेत्रीयताबादी , हिन्दूबादी , पृथकताबादी शक्तीहरु कुनै न कुनै रुपमा बर्तमान सत्ता र नेकपा अण्डर लाईनको बिरुद्ध एक हुने परिस्थीती निर्माण गरिने छ ।

एकिकृत पार्टीको आन्तरिक शक्ती सन्तुलन भित्रै खेल्दै , बाहिरी शक्तीलाई गोलबन्द गर्दै सत्तारुढ दललाई असफल गराउने खेल पार्टी एकता घोषणा संगै सुरु भैसकेको छ । निकट भबिष्यमा सरकारको काम कारबाहीले धुर्बीकरणको मात्रा तल माथी परे पनि आन्तरिक र बाह्य चासो भने दिन प्रतिदिन बढने ठोकुवा गर्न सकिन्छ ।

निरङ्कुशताको खतरा :

नेपाली राजनैतिक पार्टी र नेताहरु मुखको मात्र लोकतान्त्रीक हुन् । विगतको सामन्तबादी सत्ताको गहिरो प्रभाब उनीहरुको दैनिकी र राजनैतिक चरित्रमा जानेर वा नजानेर उचित अनुचित समयमा झल्किरहेको पाइन्छ । मुखमा समाजवादी , ब्यबहारमा निम्न पूँजीबादी चिन्तनले भरिपुर्ण नेपाली वाम नेता तथा कार्यकर्ताहरु आधुनिक बैश्य समाजमा बाध्यात्मक लोकतन्त्रबादी बनेको प्रमाण उनीहरुको बदलिएको जीवनशैली , अनुपयुक्त उठबस र राजनैतिक चेतनास्तर हेरे सजिलै थाहा लाग्छ । संसदको पहिलो र तेस्रो ठुलो पार्टी मिसाउँदै निर्माण गरिएको नेकपा अण्डर लाईन एसियाको तेस्रो र नेपालको पहिलो पार्टी बन्न पुगेको अवस्थामा उनीहरुको ब्यबहार झनै असन्तुलित हुनसक्ने छ ।

संसद देखी सडक सम्म आफ्नो एकछत्र राज गर्न सक्ने दुई पार्टी एक हुँदा एजेण्डा र संख्यात्मक रुपले गरीब बन्न पुगेको प्रमुख प्रतीपक्षी दल कांग्रेस दिसाहिन र करीव नेतृत्व विहिन अवस्थामा पुग्दैछ । यस्तो अवस्थामा वामपार्टी भित्र जाग्ने निरङ्कुशता र शक्तीको दुरुपयोगलाई आलोचनात्मक सुझाब , बिरोध र खबरदारी गर्ने स्वरहरु धेरै मसिनो हुन पुग्ने छ । परम्परागत सांगठनिक शैली , विपी गणेशमान र कृष्ण प्रसादको ब्याज र अल्छी संसदीय राजनीतिको बर्तमान कांग्रेस पार्टीले भिमकाय एकिकृत शक्तीलाई राजनैतिक टक्कर दिने हैसियत कमजोर हुन पुगेको कारण निरङ्कुशता बढने खतरा अकस्मात सिर्जना भएको छ । अन्तमा

वर्तमानको परिवर्तनलाई केवल नेकपा टुटफुट बाट नेकपा मिलीजुली निर्माण भएको मान्ने शक्तीलाई झुटो साबित गर्न नेकपाले धेरै काम गर्न बाँकी नै छ । स्थायित्व , स्थिरता र समृद्धीको नारालाई कार्यान्बयनमा लाँदै जनताको मन मन्दिरमा बस्न नेकपाको सरकार आजै देखी दिन रात खटनु पर्नेछ । अन्यथा एकिकृत वामपार्टी जनताको नजरमा कागलाई बेल पाकेर हर्ष न बिस्मात साबित हुनेछ ।