भक्तहरुको प्रतिस्पर्धा !

जनता मार्फत बहुमत पाएको ओली सरकार संसदबाट दुईतिहाईको शक्ती आर्जन गर्न महत्वपुर्ण समय खर्च गर्यो । पार्टी भित्रको शक्ती सन्तुलनमा आउँदै गरेको स्वभाबिक परिवर्तनले दुईतिहाई प्राप्त प्रधानमन्त्री ओली आफ्ना सेवक र भक्तहरुको उचित ब्यबस्थापन गर्न सतप्रतिसत सफल हुन सकेनन । संसदिय टिकट देखी राजकिय सुबिधाको पदहरुमा भक्तहरुलाई मुख्यमन्त्री , प्रदेशमन्त्री , राष्ट्रपती , राष्ट्रीयसभा अध्यक्ष , उपसभामुख , केन्द्रीय सरकारको मन्त्री बनाउँदा पनि छुटेका भक्तहरुको गुनासोले प्रधानमन्त्री ओली मन अमिलो बनाउँन बाध्य भएका छन । जनतालाई समृद्धीको सपना , सेवकहरुलाई पद र सुबिधा बाँडेर सिंहदरबारको कुर्सीमा बिराजमान भैसक्दा पनि असन्तुष्ट भक्तहरुको घेराबन्दीले उनको कार्यशैली अबरुद्ध हुन पुगेको चर्चा चल्दैछ ।

सम्भबत आगामी अप्रिल २२ तारिखको दिन एमाले माके मिल्दै बन्ने नेपालको कम्युनिष्ट नामको बृहत समुन्द्रमा पाइड पाइपर अफ हायामलिनको कबिता धेरै भक्तहरुले पढनेछन । मिठो मुरलीवादकले शहरका सबै मुसाहरुलाई आफ्नो धुनको मोहनीमा लट्ठयाएर समुन्द्रमा होमे झै कुर्सी प्राप्तीको निम्ती माकेलाई एमाले रुपी समुन्द्रमा होम्दै गर्दा थुप्रै मुसाहरु ओली वा प्रचण्डको भक्त बन्दै सुरक्षित हुने होडबाजी नयाँ ढंगले चल्नेछ । राजकिय सुबिधाबाट छुटेका वा राजकिय सुबिधामा आफ्नो मन भाँचिएकाहरु बिच आफ्नै स्वामीलाई रिझाउन मरिहत्ते गर्नेहरुको ताँती नयाँ रुपमा देखा पर्दा महाभारतका पात्र अर्जुनको कहाँनी पनि बदलिने देखिन्छ ।

एक पटक अर्जुनमा एउटा अहंकारले जन्म लियो । उनलाई लाग्यो कि संसारमा उनी भन्दा ठुलो भक्त भगवान श्रीकृष्णको अरु कोही छैनन र हुन सक्दैनन । अर्जुनको घमण्डलाई बुझ्ना साथ श्रीकृष्णले उनलाई संगै घुमाउन लगे । बाटोमा उनको भेट एक गरीब ब्राहमण संग हुन पुग्यो । उसको ब्यबहार अली बिचित्रको थियो । ब्राहमण सुकेको घाँस खाइरहेको थिए । तर कम्मरमा तरबार भिरेका थिए । अर्जुनले ब्राहमण लाई सोधे , तपाँई त अंहिसाको पुजारी हुनु हुन्छ । जीब हिंसा गर्नु नपरोस भनेर घाँस बाटै प्राण धानिरहनु भएको छ । तर कम्मरमा किन तरबार बोक्नु भएको ? ब्राहमणले अली आक्रोषित हुँदै भने , म केही मानिसलाई दण्डित गर्न चाहान्छु । तपाँईको शत्रु को हुँन ? अर्जुनले जिज्ञाषा राखे । ब्राहमणले भने ,म चार मानिसलाई खोजी रहेको छु । ताकि उनीहरु संग आफ्नो हिसाब चुक्ता गर्न सकुँ । सबैभन्दा पहिला नारदको खोजी गर्दैछु । नारद मेरो प्रभु श्री कृष्णलाई आराम गर्न दिदैनन । सदा भजन र कृतन गर्दै उनलाई जागृत गरी रहन्छन । दोश्रो , द्रोपदी संग क्रोधित छु । द्रोपदीले मेरो प्रभुलाई त्यो समय पुकारिन । जब मेरो प्रभु भोजन गर्न बसी रहेका थिए । मेरो प्रभुले तत्काल खाना छोडदै पाण्डबहरुलाई दुर्बाषा ॠषीबाट बचाउन भोकै जानु पर्यो । मेरो भोको प्रभुलाई जुठो खाना समेत खुवाए । अनि तेश्रो शत्रु को हुँन ? अर्जुनले फेरी सोधे । उनी हृदयहिन प्रल्हाद हुँन । निर्दयी प्रल्हादले मेरो प्रभुलाई गरम तेलको कराईमा प्रबेश गराए । हात्ती बाट कुल्चन बाध्य बनाए । अन्तमा खम्बाबाट प्रकट हुँन विवश बनाए । अनी चौथो शत्रु हुन , अर्जुन । उसको दुष्टता हेर्नुस त ! मेरो प्रभुलाई आफ्नो सारथी बनाए । दुष्ट अर्जुनले भगवान कृष्णको असुबिधाको अलीकती ध्यान पनि दिएनन । कती कष्ट भयो होला मेरो प्रभुलाई । यसो भनी रहँदा ब्राहमणको आँखा आँसुले भिजी रहेको अर्जुनले देख्न पुगे । ततपश्चात अर्जुनको घमण्ड चुर - चुर हुन पुग्यो ।अर्जुनले श्री कृष्ण संग क्षमा माग्दै भने , प्रभु यो संसारमा हजुरका कती भक्त होलान । म त केही पनि रहेन छु । कमरेड पुष्पलालले जन्माएको नेपाल कम्युनिष्ट पार्टी २००६ साल देखी २०४६ सम्म हजारौं नेता जन्माउन सफल भयो । पद प्राप्तीको निम्ती रानो माहुरी मान्न तयार भइहाल्ने पद पाउना साथ रानोलाई टोक्न तम्सी हाल्ने नेपाली कम्युनिष्ट नेताहरु २०४६ अघी भाले माहुरी बन्न भन्दा ज्यामी माहुरी बन्न रुचाउँथे । बिश्व राजनीतिमा आएको बदलाब र देशको राजनीतिमा आएको परिवर्तन पछी संसदिय सुबिधाको कारण ज्यामी माहुरीहरु रानोको वरिपरी बस्दै भाले बन्न तम्सिए । संसदिय राजनीतिको रस खान पल्केका नेपाली कम्युनिष्ट नेताहरु संसदिय फाँटमा भूमिका पाउने र पार्टीमा रहने बिच सबै खाले हैसियतमा फरक देखिन जाँदा नेतृत्वको परिक्रमा गर्न बाध्य भए । मदन भण्डारीको अकल्पनिय अबसान पछी पार्टीलाई आफ्नो कब्जामा लिन गरिएका बैधानिक र अबैधानिक कोशीसले गुटको राजनीतिलाई अपत्यारिलो ढंगबाट स्थापित गर्न पुग्दा नेता दातामा बदलिए भने कार्यकर्ता सेवक वा भक्तमा परिणत हुन पुगे । फलस्वरुप संसदिय राजनीतिमा सफलता पाउन जबजको नाममा अध्ययन केन्द्र र फाउण्डेसनको परिक्रमा गर्ने अघोषित नियम नै बनाइयो । विश्व कम्युनिष्ट आन्दोलनको खराबीलाई चिर्नु पर्छ भन्दै राष्ट्रीयता , लोकतन्त्र र जनजिबिकाको सवाल लाई राम्रो संग उठान गर्दै अगाडी बढेको एमाले पछिल्लो कालखण्डमा सिद्धान्त र अभ्यासमा तारतम्य मिलाउन असफल हुँदा अनेकौं नाम र काम गर्न राजी भयो । जनतालाई भारत बिरोधी बनाउँदै गुटगत राजनीति मार्फत माथी उठेका नेताहरु भारत कै दानापानीमा फाउण्डेसन चलाउँदै नाचिएको नाङ्गो नाच तात्कालिन नेतृत्वले रोक्न नसकेको सजाय अन्तत तीनै नेतृत्व , त्यागी कार्यकर्ता र नेपाली वाम आन्दोलनले भोग्दै गरेको कहाली लाग्दो दृश्य छाती , पाखुरा र ठुलो तिघ्रा भएकाहरुको 'बा ' राजनीति हेर्न वालुवाटारको तामझाम काफी छ ।

एमाले र माके पार्टी भित्र जरा गाडेर बसेको परिक्रमा बादीहरुको ब्यबस्थापनको कारण खर्च गरिएको थप समय पार्टी एकता र एकता महाधिबेसन सम्म जबज र जनयुद्ध वा एक्काइसौं सताब्दीको जनबादलाई स्थगित गर्ने बिषयमा भएको मौन सहमतीले पार्टी एकताको आधार के बन्दै छ ? थप ब्याख्याको माग गर्दैन । १४ बर्ष लोकतन्त्रको निम्ती लडेको सगौरब दाबा गर्नेहरु १५ बर्ष सम्म गरेको गुटको खेती थन्क्याउने अबसरलाई केवल केही ब्यक्तीमा सिमित राख्ने कार्यले आगामी दिन भक्तहरु बिच गजबको प्रतिस्पर्धा सुरु हुने मान्न सकिन्छ । ओली निबासलाई सुमेरु पर्बत मान्न राजी ठुलो जत्था पार्टी एकता पछी गणेशकै शैली अप्नाउन राजी हुनेछन । निकट भबिश्यमा सेवकहरुलाई प्रसाद स्वरुप बाँडिने पदहरु प्रमुख सचेतक , सचेतक , योजना आयोगका सदस्य , संबिधानमा ब्यबस्था गरिएका आयोगका सदस्य , राजदूत , भक्त तथा सेवकहरुको ब्यबस्थापन गर्न सिर्जना गरिने नयाँ नयाँ पद प्राप्तीको निम्ती अनौठो पुजा र परिक्रमा देख्न पाइने नै छ ।

बर्ग संघर्षबाट सुरुभएको कम्युनिष्ट राजनीति बर्ग समन्वयमा पुर्याउने गुटबाजहरुले जन्माएको सेवकहरु बिच जन्मदै गरेको परिक्रमाबादले प्रधानमन्त्री ओली दङदास छन । प्रधानमन्त्री बन्नु अगाबै भारतीय प्रधानमन्त्री मोदीबाट खाएको बधाईलाई झनै प्रगाढ बनाउने सोल्टी होटलको वान टु वान बार्ता पछी आर्जन गरेको थपशक्तीले नयाँ सेवक थपिनेमा ढुक्क छन । अनेकौं दुख कष्ट सहेर प्रभुलाई आजको स्थानमा पुर्याएको पुरस्कार खोज्ने होडबाजी सुरु भइसकेको अवस्थामा प्रभुबाट बिगतमा दिएको वचन स्मरण गराउनेहरु बढदै छन । उद्धोग खोल्दा गरीब र प्राकृतिक साधनको दोहन गरे धनी हुने , ज्यामी झै काम गर्ने कार्यकर्तामै सिमित हुने , चाप्लुसी र परिक्रमा गरे नेता बन्ने जुक्ती सिकाउने गुटबादीहरुको स्कुलिङ समृद्धीको निम्ती नयाँ समस्या बनेर खडा भएको महशुस आफू पनि नखाने , अरुलाई पनि खान नदिने जस्ता अभिब्यक्तीबाट दिंदैछ्न । अल्पकालिन र सत्ता केन्द्रीत राजनीतिको खेल अन्तर्गत बिगतमा जन्माइएको कैयौं भक्त घाँडो हुँदै गएको अनुभब बिगतमा कर्मचारी ट्रेड युनियनमा जित भयो भन्दै रमाउनेहरु अहिले हामीले तोकेको ठाँउमा जानै पर्छ भन्दै मिडिया मार्फत सुनाउँदैछ्न । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको लामो समय बिती सक्दा पनि आफूले जन्माएको भक्तहरु नारद , द्रौपदी , प्रल्हाद र अर्जुन जस्तो मात्र फेला परेको ब्राहमण किसान जस्तो असली सेवक बनाउँन असमर्थ भएको महशुस ओली 'बा ' ले गरेको चर्चा उनको भक्तहरुले नमिठो मान्दै पचाउँदै छन ।