दुई तिहाईको राजकुमार !

बर्तमान प्रतिनिधिसभामा एमालेको १२१ स्थान र माओवादी केन्द्रको ५३ स्थान गरी वाम सरकारलाई सुबिधाजनक अंकगणित भएकाले प्रधानमन्त्री केपी ओली तत्काल सत्ताबाट हटनु पर्ने कारण र अवस्था थिएन । नेपाललाई स्थिरता, सुशासन, विकास र समृद्धिको गन्तव्यमा पुर्याउने चुनाबी नारालाई ब्याबहारमा उतार्न ओली सरकारलाई दायाँ बायाँ बाट कुनै अबरोध तत्काल देखिएको छैन । २०५१ सालमा प्रमुख प्रतिपक्षी काँग्रेस पार्टीले समेत भोट हालेको मनमोहन सरकार नौ महिना नटिकेको बुझ्दा पनि सुबिधाजनक बहुमतमा सन्तुष्ट नहुने प्रधानमन्त्री ओलीको ' नयाँ रहर ' वास्तवमै शंकास्पद र अर्थपुर्ण लाग्दैछ । बिकासको निम्ती चाहिने आबश्यक कानून निर्माणको संसदिय अंक गणित आफ्नो गोजीमा हुँदा हुँदै अनिष्ट , अकल्पनिय जोखिम मोल्दै खोजिएको दुई तिहाईले ओली गन्तब्य कतै 'चक्रब्युह'मा फस्दै त छैन ? भन्ने सवाल चैत्र बैशाखको डढेलो जसरी फैलिदैछ । जनतालाई देखाएको सपना एकातिर प्रधानमन्त्री ओलीको कदम अर्कै तिर लम्किएको देख्दै गर्दा उनको दोश्रो कार्यकाल नीति कथाको राजकुमारको जस्तो बन्दैछ ।

जिबनको अन्तिम समय आएको महशुस गर्दै राजाले आफ्नो छोरोलाई बोलाउन पठाए । पिता महाराजको सामु उपस्थित राजकुमारलाई भने , बाबु मेरो अब धेरै समय छैन । म पछी तिमीले राज्य हाँक्नु पर्नेछ । मेरो जिबनको अन्तिम इच्छा पुरा गर्न सक्छौ ? बिना सोचबिचार राज कुमारले भने । महाराज हुकुम होस । म तयार छु । राजाले भने , बाबु मलाई दश बर्षको पाठो , बिस बर्षको स्याल , चालिस बर्षको गधा र असी बर्षको उँट ल्याइदिन सक्छौ ? यी सामान प्राप्तीको निम्ती आबश्यक धनदौलत राज्यकोस बाट लिन सक्छौ । अल्पज्ञानी राजकुमार अत्यन्तै हौसिदै केही भारदार र थुप्रै सुनचाँदी सहित बुवाको इच्छा खोज्न तम्सिए । राज्यका बिभिन्न चोक चोकमा महाराजले चाहेको बस्तुहरु दश बर्षे पाठो , बिस बर्षे स्याल , चालिस बर्षे गधा र असी बर्षे उँट ल्याई दिनेलाई राज्यको जती पनि धन सम्पती दिन तयार छु भन्दै राजकुमारले भाषण गरे । राजकुमारको कुरा सुनेर राज्यका जबान देखी बृद्ध मानिसहरु अत्यन्तै दुखी हुन पुगे । दश बर्षे पाठो कहाँ पाउनु । दुई बर्षमा नै खसी बनाएर खाइ सक्ने कुरा हाम्रा हुनेवाला राजा पैसामा किन्न खोल्दैछन । स्यालको उमेर कसले सोध्ने । चालिस बर्ष गधा बाँच्दै बाँच्दैन । असीको उँट ! लौ अब यो राज्यको भबिश्य धरापमा पर्दैछ भन्दै सबै मानिस आफ्नो बाटो तताए ।

अनेकौं कोशीसका बाबजुद राजाले खोजेको कुरा नपाउँदा निराष राजकुमार अन्तिम भाषण गर्दै थिए । भाषणको समाप्ती पछी एउटा बालकले राज कुमारलाई बोलाउन पुगे । बालकको पछाडी लुरुलुरु लाग्दै एउटी बिस बर्षिया कन्या सामु पुगे । कन्याले राज कुमारलाई सोधिन । यस्ता कुरा कसले ल्याउनु भनेको ? राज कुमारले भने , राजाले । कन्याले भनिन । हजुरको पिता महाराजले ती सामान खोज्नु भएको हैन । केवल सवालको जवाफ खोज्नु भएको हो । तपाँईको दिमाग जाँच्नु भएको हो । दश बर्षको पाठो भनेको दश बर्षको बच्चा हो । दश बर्षमा बच्चा पाठो जस्तै चञ्चल हुन्छ । त्यही बच्चा बीस बर्षमा स्याल जस्तै धुर्त हुन्छ । चालिस पुग्दै गर्दा पारिबारिक बोझले गधा जस्तो हुन पुग्छ । असी बर्ष पुग्दा बुढो हुने र उँटलाई जस्तै डोर्याउनु पर्छ । तपाँई राजा सामु जानुस र भनी दिनुस । कन्याको कुराले लज्जित राजकुमार जबाफ बोकेर राजा सामु फर्किए ।

बर्तमान नेपालमा असंख्य सगरमाथाहरु ठडिएका छन । राजनैतिक अधिकार प्राप्तीको दौरान राजनीति संग सरोकार राख्ने र नराख्ने आन्तरिक तथा बाहिरी शक्ती द्वारा सिर्जित समस्याबाट खडा गरिएका सगरमाथाहरु बेथिती , बिकृती , बिसंगती , ढिलासुस्ती , भष्ट्राचार , अराजकताहरु न गनेर साध्य न भनेर साध्य भेटिन्छन । चौडा सडक , ठुला ठुला जलबिद्धुत आयोजना , अन्तराष्ट्रीय बिमानस्थल , चिनिया रेल र तेल , ग्यास पाइप लाईन , फलाम खानीको उत्खनन जस्ता बिकासे सपना बाँडेर निस्केको नब राजकुमार कमरेड ओलीको भाषणलाई पत्याएर राजाको भूमिकामा रहेका जनताले देश बिकासको ढुकुटी र साँचो सुम्पीए । निर्बाचन पूर्व जारी गरिएको वाम घोषणापत्रलाई तत्काल लागु गर्न चाहिने राष्ट्रीय पुँजीको अभाब रहेको बुझ्ना साथ प्रधानमन्त्री ओली नीति कथाको राजकुमार झै दश बर्षे पाठो खोज्न केरुङ , बैंकक , सोल्टी होटल , ससफोको कोठा मात्र हैन राजपाको भान्सा सम्म पुगी सकेका छन । गाई भैंसी पाल्दा लाज मान्ने , गाँउ घरको पाखोबारी बाँझो राख्ने , दैनिक १५ सयको हाराहारीमा युबा पलायन हुने , शिक्षित युबा देशमा बस्नै नमान्ने , जबान युवा बिदेश जाने र उनीहरुको परिवार रेमिटयान्सको भरमा शहरको एउटा कोठामा जिबन गुजारा गर्दै बच्चालाई बोर्डिङ पढाउँने फेसन सुरु गराइएको नब बुर्जुवाबाद ओली अभियानको टाउको दुखाई हुन पुगेको छ ।

घाँटी हेरी हाड निल्नु भन्ने उखानलाई चटक्कै बिर्सेर बाघको सवारी गरेको संघियताले सिर्जित सयौं सेता हात्ती पाल्न असम्भब हुने प्रधानमन्त्री ओली बाट छिपेको कुरो थिएन । समृद्ध नेपालको सपना पुरा गर्न चाहिने अर्थको जोहो कालोधन बाट गर्न सकिने प्रधानमन्त्रीको चाहाना सजिलै पुरा हुने देखिदैन । देखाउनकै लागी भने पनि गर्नुपर्ने आर्थिक अनुशासनको नियमनले ओली सपना बिदेशी पुँजीकै भर पर्नुको बिकल्प देखिदैन । अत्यन्त मेहेनत गर्दा तन्काउन सकिने राजस्वको लक्ष करीब ९ खर्ब पुर्याउँन सकिने अर्थ शास्त्रीहरुको भनाईले हौसिएका प्रधानमन्त्री ओली भ्याट बाट आउने तीस प्रतिशत रकम स्थानिय र प्रदेश सरकारमा स्वत जाने बुझ्ना साथ झस्किए । त्यसैगरी अन्त शुल्कको ३० प्रतिशत , सवारी साधन कर र रजिष्ट्रेसन संकलनको रकम पनि केन्द्र सरकारको ढुकुटी बाट घटने हुँदा बाचा कबुल पछाडी धकेलिने देखियो । संबिधानको ब्यबस्था अनुरुप ठुलो रकम स्वत केन्द्रिय ढुकुटीबाट घटन जाँदा बचेको रकम केन्द्र सरकारले सुरक्षा , बैदेशिक ॠणको साँवा ब्याज भुक्तानी , बैदेशिक मामिला खर्च , सामाजिक सुरक्षा दायित्व , राष्ट्रीय गौरबको आयोजना , भुकम्पले पुर्याएको क्षतीको पुनर्निर्माण गर्न चाहिने अर्थको जोगाड चुनौतीपुर्ण बन्दैछ । आम मानिसलाई केही समय भ्रममा पार्ने खेल अन्तर्गत रोजिएको बिज्ञ सहयोगी द्वारा बुझीएको बर्तमान नेपालको आर्थिक सुचकाङ्कले निरास प्रधानमन्त्री ओली असफल हुने डरले प्रधानमन्त्री पदलाई शक्तीशाली बनाउन लाग्नुको सट्टा आफै शक्तीशाली बन्न मरीहत्ते गर्दैछन ।

देशको अर्थतन्त्र , भूराजनीति , बन्दै गरेको एकीकृत पार्टीको राजनैतिक समिकरण र आफ्नै राजनैतिक शैलीको कारण असफल हुने संकाले पोलेको नब राजकुमार सुरक्षित , स्पष्ट र भरोषा योग्य संसदिय अंक गणितको साटो रिमोटको संख्या खोज्न हतारिनुलाई बाध्यात्मक मानिदैछ । बिगतमा बनाएको राष्ट्रबादी र बिकासबादीको कस्मेटिक छबीमा आइपर्ने समस्यालाई राजनैतिक रुपले प्रतिकार गर्ने सुनियोजित स्टण्ट बाजी सुरु भइसकेको संकेत रक्षामन्त्रीको चीन संग संयुक्त सैन्य अभ्यास र गृहमन्त्रीको कालापानीमा सुरक्षा फौज राख्ने उत्ताउलो अभिब्यक्तीले दिएकै छ । २०४४ साल सम्म काठमाण्डौमा बस्न सरकारी पाहुनानै हुनुपर्ने नब बुर्जुवाहरु नेपाली जनताको मन जित्दै स्थानिय तह , प्रदेश सरकार , मुख्यमन्त्री , मन्त्रीहरु , केन्द्रिय मन्त्री , राष्ट्रपती सम्म आफ्नै भक्त , सेवकलाई स्थापित गर्न सफल हुँदा पनि समृद्धीको जग अनिस्चित बन्दै छ । डाक्टर माहाथिर र लि क्वानको बाटो पछ्याउने ओली अठोटको बाधक मानिएको राजाबादी , जनबादी र भ्रष्ट्राचारी पछी पाकिस्तानी प्रधानमन्त्रीको टुँडीखेल यात्रा समृद्ध नेपालको निम्ती 'राजनैतिक ओट ' हुने बिश्लेषणलाई नकारी हाल्नु हतार हुनेछ । नीति कथाको राजकुमार कै शैलीमा चोक देखी संसद सम्म भाषण गर्ने प्रधानमन्त्रीलाई जनताले दिएको सुबिधाजनक बहुमत किन अपुग भयो ? राजनैतिक लडाई सकियो अब आर्थिक क्रान्ती सुरुगर्ने भन्ने सरकार अनुपयुक्त शक्ती आर्जन गर्न लाग्नुले समृद्ध नेपालको सपना कतै दुर्घटनामा पर्दै त छैन ? सामान्य बहुमतले आर्थिक प्रगतीको निम्ती कुनै बाधा नहालेको बुझ्दा बुझ्दै दुई तिहाईको खेल कसको स्वार्थमा खेलिदै छ ? के दुई तिहाई बिना मुर्छित सपना पुरा हुन सक्दैनन ? ओली सरकारलाई दुई तिहाई संघीयता खोस्न , हिन्दू धर्म कायम गर्न वा राजतन्त्र पुनर्बहाली गर्न चाहिएको हो ? अबस्य हैन । त्यसो भए दुई नम्बर प्रदेश र केन्द्रको भाषा हिन्दी बनाउँन हो त ? दुई तिहाईको दम्भमा खेलिने खेल बिदेशीको सेवा र संबैधानिक निकायका प्रमुखलाई थर्काउन बाहेक के काम लाग्छ ? जनता र पार्टीको सहयोग बिना दुई तिहाई भए पनि नटिक्ने इतिहास २०१७ सालनै काफी छ । अन्तर कुन्तर भित्र रहेको सत्ताबाट फालिने डर र आफ्ना आसे पासेको राजनैतिक जिबन सुरक्षित गर्ने चाहानाले खोजिएको दुईतिहाई प्रधानमन्त्री ओलीको असल नियत र मनशाय बाट जन्मेको हैन भन्ने बुझ्न धेरै कुर्न नपर्ने देखिन्छ । ब्यङ्ग , घोचपेच र छेड खानीलाई छोडदै गरिबीमा बेचेको , राष्ट्रबाद जाग्दा किनेको तेह्रथुमको बाँझो जमिनमा अदुवा फलाउन सफल भए समृद्ध नेपालको यात्रा सुरु भएको मानिनेछ । निकट भबिष्यमा पुर्णता पाउने उनको विज्ञ समुहमा नीति कथाको बीस बर्षे युबती समेटिए प्रधानमन्त्री ओली र सम्पुर्ण देशबाशीको कल्याण हुनेछ ।