भारत निर्मित शिखण्डीहरुको नाङ्गो नाँच !

सफल दोश्रो जनआन्दोलन पछी नेपालको तराई मधेषमा नयाँ आन्दोलनले जन्म लियो । तात्कालिन गिरिजा सरकार द्वारा घोषणा गरिएको संबिधान सभाको चुनाबमा तात्कालिन पार्टीहरु मधेषी जनाधिकार फोरम र तमलोपा सहभागी हुन मानेन । तराई मधेषमा आगो दन्कीदै जाँदा गिरिजा बाबु भन्थे । अब भारतसंग कुरा नगरि भएन । आज गिरिजा बाबु कै चेला शेर बहादुर देउवा सत्तासिन भैरहेको समयमा उस्तै प्रकृतीको घटना तराई मधेषमा घटाईदैछ । तराई मधेष पार्टीको मागलाई संबोधन गर्ने भन्दै भारत निर्मित गठबन्धन सरकारले बैशाख ३१ को निर्बाचन जेठ ३१ हुँदै असार ९ बाट १४ पुर्याइएको सर्बबिदितै छ । तर जेठ २८ गते राजपा द्वारा चुनाबमा सहभागी नहुने भन्दै चुनाब भाँडने नियतका साथ आन्दोलनका कार्यक्रम घोषणा गरीसकेका छन । ततपश्चात नियोजित रुपमा काँग्रेस एमालेको झण्डा पोल्दै बितण्डा मच्चाउन सुरु गरीसकेका छन । गिरिजाले बुझी सकेका देउवाले बुझ्दै गरेको बर्तमान घटना को पात्र , प्रबृती र नतिजा संग देउवाले कसरी टयाकल गर्छन भन्ने आम मानिसको चासो दिन प्रतिदिन बढदैछ । प्रमुख प्रतीपक्षी दलको नजरमा सत्ता गठबन्धनको षडयन्त्र अनुरुप नै तयार गरिएको खेल भारतिय चाहाना अनुरुप अगाडी बढाइन्छ कि केही समय फरक ढंगले खेलिन्छ ? भन्ने जान्न भारतिय नियत ,चाहाना र भारतिय कारखाना निर्मित शिखण्डीहरु चिन्न जरुरी देखिन्छ ।

को थिए शिखण्डी ?

महाभारत कथाको एक पात्रको नाम हो शिखण्डी । पाञ्चाल राज्यका सम्राट द्रुपद हस्तीनापुरका परम्परागत शत्रु थिए । हस्तीनापुर राज्यका संरक्षक भिष्म पितामह द्वारा आफ्नो भाईको बिबाहको निम्ती अपहरित गरिएकी काशीराजकी जेठी छोरी अम्बाको दोश्रो जन्म द्रुपदको पुजामा निर्मित अग्नीकुण्डबाट भएको थियो । अग्नीको अंशबाट धृष्टधुम्न एबं राक्षसको अंशबाट शिखण्डीको जन्म भएको थियो । राजा द्रुपदका छोरा शिखण्डीको उदेश्य नै भिष्मको हत्या थियो । महाभारत युद्धमा शिखण्डी अर्जुनको साथमा थिए साथै भिष्मको मृत्युको कारक बनेका थिए ।

किन गराइयो राजपाको जन्म ?

संबिधानसभा दोश्रो निर्बाचनपछी तराई मधेषमा कमजोर भएको भारतिय शक्तीलाई नबजिबन दिनुपर्ने आबश्यकता भारतले तब महशुस गर्यो जब उनीहरु मार्फत अन्याय पूर्वक लादिएको नाकाबन्दी पछी भारत समर्थित राजनैतिक शक्तीको हैसियत खस्कियो । नेपालको तराईबाशी थारु (चौधरी) समुदायमा भारतको न्युन प्रभाब र तराईकै अर्को शक्ती उपेन्द्र यादबको पहाड प्रेमले झस्किएको भारत, नेपाली काँग्रेसको शक्ती दिन प्रतिदिन खस्कदो र एमालेको शक्ती मजबुत र सुढृढ रहेको तथ्यपछी बार्गेनिङ टुल्सको निर्माणगर्ने सोच नै राजपाको जन्म हो भन्दा सत्यको नजिक पुग्न सकिन्छ ।

भारतिय सहयोग र दबाब पछी ६ तिर फर्केका शक्तीलाई एकठाउँमा ल्याउँदै डिल्लीबजारमा अवस्थित अमृतभोग पार्टी प्यालेसमा वैशाख ७ मा तराईमधेस लोकतान्त्रिक पाटीं (तमलोपा), राष्ट्रिय मधेस समाजवादी पाटीं (रामसपा), तराई मधेस सदभावना पार्टी, मधेसी जनाधिकार फोरम(गणतान्त्रिक), सद्भावना र नेपाल सद्भावना पार्टी एकीकरण गराइएका थिए । तमलोपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा तर अध्यक्षीय प्रणालीमा अस्तित्वमा आएको राष्ट्रिय जनता पार्टी (राजपा) को जन्म कसले र किन गरायो ? भन्ने सवाल कसैले नगर्नुको अर्थ सबै जानाकार छन भन्ने मान्नु पर्ने हुन्छ । हरेक साना ठुला निर्णय भारतिय दुताबासको आदेश अनुसार गर्न पछी नपर्ने राजपा आफ्नो बिधानबाट मधेष शब्द हटाउन राजीहुँदा राष्ट्रीय राजनीतिमा सकारात्मक प्रभाब पर्ने आँकलन बिस्तारै धुमिल हुँदै गएको संकेत सो पार्टीमा आबद्ध कार्यकर्ताको पलायन पछी अल्तालिएको भारत राजपाको जिबनदानको निम्ती केही न केही गर्न पर्ने अवस्थामा आफ्नो स्वार्थ जोडन चाहान्थ्यो।

फलस्वरुप प्रचण्ड सरकारले चौथो पटक निर्बाचन मिती सार्दैगर्दा भारतिय राजदूत मञ्जीब सिह पुरी राजपालाई चुनाबमा भाग लिन टियुसन पढाउँदै थिए । नेपाली जनताको नजरमा साखुल्ले पल्टदै मिडियामा प्रचार गराइएको बिपरित राजपालाई होमवर्क दिने काइदा पछी राजपाको जन्म किन गराइयो ? नबुझ्ने मानिस सायदै भेटिन्छन , नेपालमा ।

किन बनाइदैछ राजपालाई शिखण्डी ?

१० बर्षे माओबादी ध्वसंपछी भारतले नारायणहिटीको शक्ती दिल्ली लान आंसिक सफलता पछी बाँकी काम संबिधानमा अंकित गर्नु थियो । सो कामको निम्ती पहिलो संबिधान सभामा अनुपयुक्त माओबादीको संख्यात्मक उपस्थीतीको कारण सम्भब देखीएन । फलस्वरुप पहिलो संबिधानसभा भारतिय चाहानामा मारियो । दोश्रो संबिधान सभामा भारत माओबादी केन्द्रलाई साइजमा ल्याउन सफल भयो तर मधेषीमोर्चाको उपस्थीती कमजोर रहन पुग्यो । मधेषी मोर्चाको कमजोर उपस्थीती पछी सडक सघर्ष मार्फत भारतिय चाहानाको संबोधन संबिधानमा गराउने काममा एमाले बाधक हुनपुग्दा भारत तिल्मिलाउन पुग्यो । फलस्वरुप संबिधान जारीगर्दा छुटाइएका भारतिय स्वार्थलाई पुन : संबिधानमा समाबेश गराउने एकमात्र उदेश्यले जन्माइएको राजपालाई शिखण्डी बनाउने भारतिय गुरुयोजना तराई मधेषको आन्दोलन मार्फत गराइदैछ । तमाम गोप्य सुचनापछी प्राप्त राजपाको राजनैतिक शक्तीको सही शक्तीको बारेमा भारतिय दुताबासले जानाकारी प्राप्त गर्नासाथ नेपालको तराइ मधेषमा बढन नसकेको राजपा कदलाई प्रयोग गर्दै आफ्नो अभिष्ट पुरा गर्ने हेतुले शिखण्डी बनाउन बाध्य भएको पाइन्छ । सडकमा राजपाको नाम लिंदै गरिने आन्दोलन मार्फत मच्चाइने बितण्डा सिके राउत , ज्वाला सिंह र जय कृष्ण गोइत मार्फत सम्पन्न गर्ने र आफै निर्मित गठबन्धन नामको शिखण्डी सरकार मार्फत आफ्नो अभिष्ट पुरागर्ने नियोजीत खेल अन्तर्गत रचिएको खेल हो भन्ने खुल्नेनै छ ।

संबिधान च्यात्ने र मतपत्र च्यात्ने एउटै कारखानाका उप्पादन

नेपालले हाल प्रयोग गरिरहेको ब्यबस्थालाई लोकतन्त्र भन्ने चलन छ । यो ब्यबस्थाको मेरुदण्ड भनेको संबिधानको सर्बोच्वता नै हो । संबिधान अनुसार आबधिक निर्बाचनमा जाने र जनताको अभिमत अनुसार निर्बाचित प्रतीनीधी मार्फत जनतालाई सेवा दिने पद्धती नै नेपाली लोकतन्त्रले आत्मसाथ गरेको मान्नु पर्दछ ।तर दुर्भाग्य यहाँ तीनै ब्यक्तीहरु संबिधान च्यात्छन र सरकार चुन्न आउँछन । त्यसरी चुनिएको सरकारले निर्बाचन गराउँछ र मतपत्र च्यात्छ । यी दुबैको काम भनेको नेपाली लोकतन्त्रलाई जनता माझ निकम्मा बनाउँने र बिदेशी स्वार्थ अनुरुप जनतालाई शोषण गर्दै आफ्नो दुनो सोझ्याउनु हो भन्ने कुरा प्रमाणित भैसकेको छ । बर्तमान समयमा बनेको सरकार भनेको तीनै कारखानाका उत्पादन हुन जसको कामनै प्रभुको आदेश अनुसार नेपाली जनता र लोकतन्त्र माथी हमला बोल्नु हो ।साथै भारतिय इच्छा , चाहाना , स्वार्थ र उदेश्यमा शिखण्डी नाँच नाच्दै देश समाप्तीको कारण बन्नु हो ।

अस्थीरताको आडमा भारत के चाहान्छ ?

बेलायती सत्ताको भारत बहिर्गमन पछी बेलायती राजनीतिको कटु अनुभब दक्षिण एसियामा प्रयोग गर्ने मनसाय भारतिय सत्ताबाट छिमेकी देशमाथी सुरु गरियो । फलस्वरुप अनेकौं बहानामा आफ्ना छिमेकी देशमा अस्थीरता सिर्जना गर्न सफल भयो । हाल नेपालमा भारतले गराइ रहेको गडबडी नेपाली पानी सित्तैमा लाने रणनीति संग सरोकार राख्दछ । २४ जुलाई २००३ मा भारतको "द गार्डियन " मा उल्लेख भएको भारतिय स्वार्थ बाङ्ग्लादेशका नदी ब्रम्ह्पुत्र र गङ्गासंग नेपाली नदीहरु जोड्ने योजनालाई ( नदी जडान ) १२५ बिलियन डलर छुट्याउँदै अगाडी बढ्ने योजनासंग संबन्धित छ ।नदी जडान योजनालाई सफल बनाउँन नेपालमा तिब्र पारिएको भारतिय आप्रबाशीको नेपालीकरण मार्फत तराईमा आफ्ना भक्तहरुलाई स्थापित गर्नु हो।

सन १९६२ मा चिनसंग युद्ध भोगेको भारत हाल चिनको सामरिक र आर्थिक प्रगतीबाट आँत्तिदै नेपालमा भारतिय सुरक्षा फौज राख्न चाहान्छ । नेपालका सम्पुर्ण कल कारखाना बन्द गराउँदै भारतको एकलौटी बजार कायम राख्ने उसको अर्को स्वार्थ हो । भारतको इसारामा चल्ने बैदेशिक नीतिमा नेपाललाई बाध्य पार्नु साथै संयुक्त राष्ट्रसंघको स्थायी सदस्य राष्ट्र बन्न नेपालको अकाट्य सहयोग लिनु पनि हो । भारतले नभन्ने तर सधै चाहाने सस्तो र बफादार नेपाली सिपाही पनि उसको स्वार्थ भित्रै परेको तथ्य हो । शितयुद्ध कालिन सोभियत सत्ता र अमेरिकी सत्ताले लादेको चिन युद्ध अनि पाकिस्तान युद्धको कारण पछाडी परेको राजनैतिक , आर्थिक शक्तीलाई नेपाल मार्फत प्राप्त गर्ने अर्को मनसुवा पनि हो ।

माइ वे नत्र हाई वे:

सरकार , सडक र प्रायोजीत मिडियाबाजी मार्फत हाउगुजी खडा गर्दै आफ्नो दुनो सोझ्याउने भारतिय रणनीति अन्तर्गत हरेक क्षेत्रमा निर्माण गरिएका शिखण्डीहरुको प्रयोग ब्यापक र एकमुष्ट रुपमा गर्ने तयारी अन्तीम चरणमा पुगेको आभाष मिल्दैछ । फलस्वरुप नेपाली संबिधान जारी गर्दा छुटाइएका भारतिय स्वार्थहरु हिन्दी भाषा , आप्रबाशी भारतियहरुको संबैधानिक सुनिश्चितता ,तराइ मधेषमा दुइप्रदेश ,जनसख्या अनुसार राष्ट्रीय सभामा प्रतिनिधित्व , भारतिय बुहारीलाई बैबाहिक बंसजको नागरिकता जस्ता कुरालाई मान्ने कबुल गर्दै किस्ताबन्दीमा सरकार परिवर्तन गर्ने दाहाल देउवा गठबन्धन भारतिय "माइ वे" मा आधारित छ ।उसको माग आप्रबाशीलाई स्थापित गरिदिने फिजीकरण स्टाइल ,नेपालले बिदेशी संग डिल गर्ने भुटानीकरण स्टाइल अनि उसले भनेको नमान्दा आर्थिक रुपले टाट पल्टाउँदै सडक कब्जा गर्ने रणनितिक चाल "हाइ वे " स्टाइलले तराइ मधेष बिद्रोह मार्फत जाफ्नाकरण (श्रीलंकाको तमिल बिद्रोह ) तिर लाने रोडम्याम निर्माण गरिदैछ ।

भारतिय दुताबासमा निर्माण गरिएको गुरुयोजना मुताबिक स्थानिय निर्बाचन सम्पन्न गर्ने नाममा शिखण्डी देउवा - दाहाल गठबन्धन सरकार सामु राजपा नामको अर्को शिखण्डीको काइते बार्गेनिङ भुतपूर्व नेपाल निर्माण गर्न गरिदैछ । कसैको समाप्तीको कारण बन्ने शिखण्डी महाभारतमा अर्जुनको साथमा रहेका थिए भने नेपालमा शकुनीका सारथी बनेका छन । फलस्वरुप भारतिय कारखानामा निर्मित शिखण्डीहरुको नयाँ चर्तिकलाले नेपालभक्ती अझ मजबुत बन्दैगर्दा शकुनी र शिखण्डीहरु धन्यबादका पात्र भएकाछन ।