लोकमान प्रकरण र कलाउड सिडिङ्ग !

जब वातावरण बिग्रिन्छ, तब पानी पर्न कठिनाई हुन्छ भन्ने सत्य विज्ञानले बुझ्ने र जान्ने वित्तिकै अप्राकृतिक तवरले विज्ञानको सहायता मार्फत पानी पार्ने कलालाई कलाउड सिडिङ्ग भनिन्छ । आज हाम्रो देश नेपालमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख लोकमानसिंह कार्की महाअभियोग प्रकरणले मिडियामा सुविचारित ढंगबाट महाअभियोगको नाममा ‘कलाउड सिडिङ्ग’ मिडियाबाजी सुरु गरिएको छ । जसको कारणले लोकमानको नाममा भएको अप्राकृतिक वर्षाको सत्य तथ्य पाठकसामु पुर्याउने उद्देश्यले यो लेख लेख्न बाध्य भएको जानकारी साथ सुरुवात गर्दछु ।

अख्तियारको सामान्य परिचयः पञ्चायती व्यवस्थामा राजदरबारले आफ्नो अनुकूल सत्ता चलाउन बनाइएको निकाय अख्तियार दुरुपयोग निवारण आयोगलाई २०४६ को परिवर्तनपछि सामान्य काम र नाम परिवर्तन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाइयो । राज्यको लाभको पदमा बस्नेहरुलाई उनीहरुको कार्यकालमै वा कार्यकालपछी पनि उनीहरुबाट भए गरेका कामको जवाफदेही बनाउने उद्देश्यले बदनियतपूर्वक गरिएका कार्यलाई अनुसन्धान गर्ने र बिगो जरिवानाको दाबी गर्दै अदालतमा मुद्दा चलाउने अधिकार प्राप्त निकाय हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

लोकमानको उदयः बाह्र बुँदेको जगमा तयार पारिएको गुमनाम एजेण्डामा अञ्जान जनताले २०६२÷०६३ को आन्दोलन मार्फत सामन्ती राजसंस्थालाई औपचारिक रुपमा बिदा गर्न सफल भए । सामन्ती सत्तालाई टिकाउन अहम् भूमिका निभाउने तात्कालिन सत्ताको मुख्यसचिव लोकमानसिंह कार्की । शाही सत्ताको पतनसँगसँगै १२ बुँदेको जन्मभूमितिर पलायन भए । भारतीय पाइलटवालाको शरणमा पुगेका लोकमान खिलराज रेग्मी मन्त्रीपरिषद् अध्यक्ष बन्ने वित्तिकै शकुनीको पासा झैं फुत्त निकालिए । हाम्रा शीर्ष नेताहरु जुवाको खालमा बस्न र लोकमान पासा खेल्न राजी भए वा गराईए ।

लोकमान क्रियाकलापः नामै लोकमान, कामै लोकमान हुने आशामा रहेका नेपाली जनता र राजनीतिक दलहरु लोकमानको क्रियाकलाप विस्तारै लोकतन्त्रको सट्टामा लोकमानतन्त्रको रुपमा विकसित हुँदै गएको हेर्न बाध्य हुँदै थिए । अख्तियार प्रमुख भएर टंगाल प्रवेश गर्ने वित्ति कै लोकमानले आफैं शाहीकालमा मुख्यसचिव हुँदा आफ्नो विरुद्ध लागेकाहरु र लोकतन्त्रको पक्षमा खुलेका कर्मचारीलाई अफिसमा बोलाउँदै म को हुँ ? के हुँ ? थाहा पाइसक्नु भयोहोला । के के गर्न सक्छु ? हेर्दै जानुहोला भन्दै प्रतिशोध साध्ने जनाउ दिँदै सुरुवात गरिएको लोकमान कार्यकालको तीन वर्ष कसरी अगाडि बढ्यो केही नमुना पस्कने अनुमति माग्दछु ।

लोकतन्त्रको पक्षमा लाग्ने कर्मचारीलाई हतोसाहित गर्ने र दण्डित गर्ने । अनुसन्धानको नाममा नयाँ–नयाँ जलविद्युत आयोजनाको फाइल माग्ने र लाइसेन्स रद्ध गरिदिन सरकारलाई दवाब दिने । सडक मर्मतको नाममा कर्मचारीलाई हतोसाही गर्दै नयाँ काम गर्ने वा नयाँ निर्णय गर्न नदिने प्रपञ्च मिलाउने । भय, त्रास, अपमान, प्रतिशोध र ब्लाकमेलिङ्गको व्यापार गर्ने । प्रचारात्मक शैलीमा कर्मचारी, नेता, व्यक्ति, व्यवसायीलाई अनुसन्धानको नाममा आफैं अपराधी घोषित गर्ने । मेडिकल शिक्षालाई अस्तव्यस्त बनाउन र आफ्ना नातेदारका कलेजलाई पोस्न आफैं अग्रसर भई काम गर्ने । देशका उच्च पदस्थ नेता, कर्मचारी र नियोगका फोन ट्यापिङग गर्ने । आफ्ना विरुद्ध लाग्ने सबै निकायहरु संसदीय समिति, मिडिया, अदालत सबैलाई अटेरी गर्ने, अपमान गर्ने, कानुनको बर्खीलापमा उत्रने, गुण्डा परिचालन गर्ने । संसदको लेखा समितिले देखेको, फिफाले देखेको गणेश थापाको आर्थिक अपचलनको फाइल लोकमानले आफ्नै आदेशमा तामेलीमा राख्ने । राजश्व छली प्रकरण, एनसेल लांभाश प्रकरणको मामिलालाई आफैं संग्लन हुँदै रफा–दफा गर्ने कार्यमा लाग्ने । छापामार शैलीको महाअभियोग प्रस्तावः नियुक्ति प्रक्रियादेखि नै पर्ख र हेरको स्थितिमा रहेका दलका शीर्ष नेताहरु लोकमान ज्यादति सहदै उचित ताकमा थिए भन्ने कुरा छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता हुनुले आफैं बयान गर्छ । लोकमानका कार्यशैलीको कारणले उनी विरुद्धको माहोल मात्रात्मक रुपमा दलहरुको एजेण्डामा पर्दै जाँदा छापामार शैली केवल गुणात्मक फड्कोको रुपमा आएको मात्र हो । उनका ज्यादतिको पखेटा काट्ने कुरामा आन्तरिक सहमति पहिलानै बनेको थियो भन्ने कुरा शीर्ष नेताको ‘बडिल्याङग्वज’ले देखाइरहेको छ ।

बजार हल्लाहरुः सर्वोच्च अदालतसँग पौठेजोरी खोज्दै कानुनलाई पद र प्रतिष्ठाको आडमा आश, त्रास र गुण्डागर्दीको सहारामा अदालती कार्यमा बिघ्न बाधा पुर्याउँदै आफ्नो विरुद्ध जारी अदालतती म्याद तामेली छल्दै विदेशी भूमिमा षड्यन्त्रका तानावाना बुन्दै अन्तत नेपाल प्रवेश गरेका लोकमान ठूलै योजना साथ आएका थिए भन्ने बजार हल्ला बडो जोडतोडले चलाइएको छ । लोकमान नेपाल आउनासाथ अदालती कामको विघ्न बाधालाई पखाल्न उनी ठूला माछा माथि हात हाल्ने सुरमा थिए भन्ने हल्ला मिडियाले कसबाट र कसरी थाहा पायो ? सर्वसाधारण चकित छन् । लोकमान निलम्बित भइसकेपछि अख्तियारका आयुक्तहरु प्रधानमन्त्रीसँगको भेटमा भन्दै थिए, ‘अख्तियारका काम कारवाही हामी पनि मिडियाबाट थाहा पाउँथ्यौं ।’ यसबाट के कुरा प्रष्ट हुन्छ भने अख्तियार लोकमानको लहडमा चल्थ्यो । त्यहाँ कुनैपनि काम विधिसम्मत र कानूनसम्मत ढंगबाट हुँदैन थियो भन्न अब पनि कुर्नै पर्छ र ? नक्कली लडाकु प्रकरणको भ्रष्टाचार सम्बन्धि फाइल, राज्यलक्ष्मी गोल्छालाई सांसद् बनाउन गरिएको आर्थिक चलखेलको फाइल र मनमोहन मेडिकल कलेजको फाइल खोलिदै थियो । त्यसैले लोकमान विरुद्ध महाअभियोग दर्ता भयो भन्ने मिडियाबाजीको असली मुहान कहाँ थियो ? यी सम्पूर्ण प्रायोजित खबर मिडियालाई उपलब्ध गराउने निकायको आधिकारीक स्रोत को थिए ? वा के थियो ? करिब करिब नाङ्गो सत्य देख्ने र पढ्ने सञ्जनहरु कलाउड सिडिङ्ग शैलीको मिडियाबाजी देखेर आफैं लज्जित छन् ।

केही भ्रमहरुः नेपालमा भ्रष्टाचार दिन दुई गुणा रात चार गुणा बढ्दो छ । देशका हर क्षेत्र भ्रष्टाचारबाट आक्रान्त छ । यो रोग हो तर महारोग हैन । केही मुलधारका पत्रिका र अनलाइनमा विभिन्न ब्लगबाट लोकमानलाई भ्रष्टाचार विरोधी महानायक बनाउँदै जसरी प्रचार युद्ध छेडिएको छ, भन्नैपर्छ लोकमान पालित, पोषित वा लोकतन्त्रलाई मन नपराउनेहरु वा अहिलेका राजनैतिक पदाधिकारीदेखि रुष्ट जमातहरु लोकमानको रक्षाकवच बन्नुलाई अन्यथा लिन मिल्दैन । भनिदैछ, महान लोकमान तिम्रो अवशानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको के गति होला ? प्रचार हेर्दा यस्तो लाग्छ लोकमान अख्तियारमा आउनु अघि भ्रष्टाचारले सगरमाथा चुमेको थियो ।

उनको दिनरातको मेहनतले भ्रष्टाचार सगरमाथाको बेसक्याम्पमा आइपुगेको थियो । उनलाई महाअभियोग लाग्ने वित्तिकै पुनः भ्रष्टाचार चुचुरोमा पुग्नेछ । लोकमान यो देशको समानान्तर सरकार हुन अब लोकमानको बिदाइपछि भ्रष्टाचारीहरुको राज हुनेछ । अर्थात अख्तियार भनेकै लोकमान हुन । लोकमानको विदाइपछि अख्तियार भन्ने संस्था नै यो देशमा रहने छैन । उनी देशमा रहेका करिब २४ हजार व्यक्तिको फाइल खोल्ने गुरुयोजना कार्यान्वयन गर्दै थिए । अब त्यसमा ब्रेक लाग्ने छ भन्ने जस्ता हावादारी कुरा मिडियामा छर्दैछन् ।

वास्तवमा लोकमान के चाहान्थे बुझ्न उनको गुरुयोजना २४ हजार व्यक्तिको आर्थिक अनिमियताको हवाला दिदै फितलो अनुसन्धान मार्फत सम्पूर्ण भ्रष्टाचारीलाई अदालती सफाइ दिलाउने र अकुत सम्पत्ति कमाउने सपनाको तानावाना बुन्दै थिए भन्न केले रोक्छ र ? वास्तवमा उनी सबै उस्तै हुन, यो देशमा अब इमानदार कोही पनि बाँकी छैन । कोही चोखो छैनन भन्दै लोकतन्त्रलाई बदनाम गर्दै पुरानो सामन्ती व्यवस्थाको आगमनको आधार तैयार (मिडियाबाजी मार्फत) गर्दै थिए । अर्काथरि भन्दैछन्, यो देश हामीले चलाउने हो । हिजो सारा दुनियाले लोकमान हुँदैनभन्दा हामीले भनेपछि भएकै हो ।

आज पनि लोकमान हामीले भनेपछि भएकै हो । आज पनि लोकमान हामीलाई ठिक नलागेपछि उनी सजिलै गइहाल्छन् भन्ने ढंगले प्रस्तुत हुँदैछन् । हिजो लोकमानलाई नियुक्ति गर्दा कुनै संविधान, विधि, प्रक्रिया र नैतिकता नचाहिने अहिले हटाउन के को आईतबार भन्ने अलोकतान्त्रिक शैली र सोंचमा केही बाहिरी शक्ति र लोकमानको आर्थिक चलखेलले खेल्न पुग्दा उनले अझैं केही दिन हातखुट्टा चलाउन पाएका मात्र हुन । नत्र ठाउँका ठाउँ उनी समाप्त गरिने थिए ।

लोकमानलाई खुईल्याउन उनको विगत र वर्तमानलाई यसरी मिडियाबाजी गरिदैछ कि उनले यो जीवनमा राम्रो भन्ने केही गरेका छैनन र उनी जति खराब मानिस नेपालमा अरु कोही छैन भन्ने मिडियाले पनि राम्रोसँग आइएनजीओको प्रसाद पाएको छ भन्न कन्जुस्याइ गर्नु पर्दैन । यी दुवै अतिवादले सबैभन्दा बढि दुरुपयोग गरेका मिडियाबाजी भविष्यमा यिनीहरुकै लागि घातक हुनेछ भन्न खुट्टा कमाउनु पर्नेछैन ।

काँग्रेसी मौनताः पुरा देश आज लोकमान बेथितिको विरुद्ध जागरित हुँदा पनि अपवादमा युवा काँग्रेसबाहेक पुरा पार्टीको मौनता बडो टिठ लाग्दो स्थितिमा रहेको हामीले देखेका छौं । आम जनता काँग्रेसप्रति शंकाको दृष्टिले हेर्दैछन् । कतै काँग्रेस लोकमानको ढाल बन्ने त हैन ? नेपालको हरेक राजनैतिक घटना र मुद्दामा काँग्रेसको भूमिका र सहभागिता कित जनदबाबमा कि भारतीय दवाबमा हुने तितो यर्थाथताले यस पटक पनि निरन्तरता पाउनुलाई विश्लेषकहरु लेनदेनको राजनीतिले गर्दा हो भन्नपछि पर्दैनन् ।

अब के हुन्छ ? सर्वसाधारण, पार्टी कार्यकर्ता र राजनैतिक दलहरु नै अब के हुन्छ ? भनि प्रश्न गर्दा हिजो मात्रै तीन प्रमुख दलका प्रमुखहरु एकैथलोमा बसी चिया पिएभन्दा जनता आशावादी बन्दैछन् । कतै–कतै प्रधानमन्त्रीको पर्खाइमा रहेका देउवाको भारत यात्राले लोकमानलाई बिदा दिने बहानामा संविधान संशोधन मार्फत भारतीय चाहनाको दीर्घकालिन सम्बोधन गरिने त हैन ? भन्नेहरुलाई दरिलो आधार प्रदान गरिएको छ ।

लोकमानलाई सम्मानपूर्वक बिदा गर्न ओली लचिलो बन्दै जानु, पुष्पकमल र देउवाको सत्ता भागबण्डामा एमालेले भाग नखोज्ने सुनिश्चिततामा भारतीय चाहनाको सम्बोधन गरिने सम्भावनालाई स्वीकार गर्ने हो भने लोकमान प्रकरणको व्यवस्थापन लेनदेनकै आधारमा हुने निश्चित नै छ । फरक यत्ति हो हिजो लोकमानलाई प्रयोग गर्ने भारत र वर्तमान नेपाली प्रमुख राजनैतिक शीर्ष नेताको बालुवाटार सहमति पनि तीनै भारतीय चाहनामा हुनुले लोकमान प्रकरण भारतद्वारा नै रचित थियो भन्ने कुरा केही दिन मै खुल्नेछ ।

हुन त अझैं पनि केही विश्लेषकहरु यी सबै खेल भारतले खेलेको हुनाले लोकमानलाई जोगाउँदै राजनैतिक अस्थिरताको आडमा, जन्मदै २०७४ साल माघ ७ को खड्को लिएर आएको संविधानको स्वभाविक मृत्युको संकेतको रुपमा व्याख्या गर्दैछन् । अब जन्माइने खिलराज भारतले संविधान जारी हुने वित्तिकै बाबुरामलाई माओवादीबाट अलग गर्दै (अग्रिम) तयारी अवस्थामा राखिएको छ भन्नेहरुको विश्लेषण झुट्टा हुन देउवाको भारत यात्रासम्म कुर्नु मनासिव हुनेछ ।

लोकमानको बिदाइः बाह्र बुँदेपछि निर्णायक रुपमा नारायणहिटी दरबारबाट सरेको राजनैतिक शक्तिको (पावर) अन्तिम व्यवस्थापन भारतबाट गर्न र गराउन स्वीकार गर्दै केवल देश र सामान्य कर्मचारी मात्र चलाउने मन्जुर नेपाली राजनीतिले लोकमानको इतिहास हेर्दा उनको विगत यसरी पाउँछ ।

लोकमान जिद्धी र हठी स्वभावका थिए । २०६४ साउन २८ गते रायमाझी आयोगसँग नझुक्ने नियतले बिदा लिदै घरमै बस्ने लोकमान १ वर्ष बिदा थप्ने कार्यमा सफलता पाउन नसक्दा गायब भए । उनको खोजी नेपाल सरकारले गोरखापत्र मार्फत गर्नु पर्ने स्थितिलाई अध्ययन गर्दा उनी हठी थिए भन्ने प्रमाणित हुन्छ । पछि आजित हुँदै २०६५ साल भदौमा राजिनामा दिँदै भारत पलायन भएका लोकमान झुक्ने हैन टुट्ने स्वभावको हुन भन्दैछन् सभासदहरु संसदमा ।

केही सभासदले उनीलाई भष्मासुर त केहीले माहुरीको गोलोमा बसेको अरिगांलसम्म भन्न भ्याउनुले अन्तत उनी राजीनामाको बाटो लिन बाध्य हुन्छन् भन्ने कुरालाई विगतले पुष्टि गर्न सघाउ पुर्याउँछ ।

पुरा हुन नसकेको लोकमान महत्वकांक्षाः अन्तरिम संविधानलाई आवश्यकताको सिद्धान्तको जामा पहिर्याउँदै शक्ति पृथकीकरणको सिद्धान्तलाई धोती लाउँदै खिलराजलाई रातो कार्पेट बिछ्याइएको र त्यहि खिलराज मार्फत आफू पनि अख्तियार प्रमुख हुन सफल भएको खेल राम्रोसँग बुझेका लोकमान खिलराजकै बाटो निर्माण गर्दै थिए । नेपाली जनताको भ्रष्टाचार विरोधी भावनालाई नगदमा बदल्दै नेपाली राजनैतिक दलका नेतालाई भ्रष्टाचारीको मुद्दा चलाउने कर्मचारी र केही नेतालाई तेह्र पन्नेको आंतक सिर्जना गर्दै संविधान कार्यान्वयनमा विघ्नबाधा डाल्दै खिलराजको स्थानमा पुग्ने खेल खेल्दै थिए ।

उनी अख्तियार प्रमुख भएदेखि उनले चालेका सबै कदमले प्रचारात्मक शैलीमा सबैको चरित्रहत्या गर्दै मिडियाबाजी गर्ने र गराउने शैली, फितलो अनुसन्धान र विभिन्न फाइलको तामेलीले प्रमाणित गरेकै हुन । उनको अन्तिम खेल वर्तमान सरकार प्रमुख साथै एमाले र काँग्रेसका केही वरिष्ठ नेतालाई अदालती झमेलामा पुर्याउँदै संविधान संशोधन र चुनावी प्रकृयालाई अवरुद्ध गर्दै भारतीय चाहनामा प्रतिगमनको मतियार बन्दै नेपालको सरकार प्रमुख बन्ने ‘रोडम्याप’ तयार गर्दै थिए भन्छन् उनकै सचिवालयका सदस्यहरु ।

धन्यवादका पात्र लोकमानः जाँदा जाँदै उनी धन्यवादका पात्र भएका छन् वा हुन्छन् भन्ने आधार छन् । भारतीय डिजाइनमा बालुवाटारबाटै बिदा गरिएका ओली विगतको तितो घटनालाई विर्सदै भारतीय चाहनामा अख्तियार प्रमुख बनाइएका लोकमानले ओलीलाई बालुवाटार जाने मार्ग देखाइदिने कला रावणले रामको हातबाट मर्ने बेलामा हे श्रीराम भने भन्दा किमार्थ फरक छैन । त्यसैले चारतिर फर्केका दलहरुलाई कम से कम एकै थलोमा बसेर भलाकुसारी गर्ने वातावरणका कारक लोकमान धन्यवादका पात्र भएका छन् । लोकतन्त्रले उनको नाम कुनै न कुनै रुपमा लिनेछ भलै त्यो नकारात्मक शिक्षा दिनलाई नै किन नहोस् । धन्य छ हाम्रो लोकतन्त्र र लोकमान !