मार्कस देखी अक्टोबर क्रान्ति हुँदै अघि बढ्दा आन्दोलन र क्रान्तिहरु मूलरुपमा साम्राज्यवादी हस्तक्षेप, चरम आर्थिक शोषणको विरुद्ध वर्गीय क्रान्तिको रुपमा विकसित भएको थियो । तर साम्राज्यवादी र पूँजिवादी शासकहरुले कम्युनिष्ट मुलुक, कम्युनिष्ट पार्टी र आन्दोलनको विरुद्ध विभिन्न षडयन्त्र र दमन संचालन गर्दै आएकाछन् । सन् १९९० को दशकमा त्यहि षडयन्त्र कै परिणाम स्वरुप विश्वका कम्युनिष्ट आन्दोलन र कम्युनिष्टहरुले धेरै ठूला धक्काहरु पनि खानु पर्यो । रुसी अक्टोवर क्रान्तिलाई सफलताको विन्दुमा पुर्याउने, कम्युनिष्टहरुको परिचय विश्वव्यापी चिनाउने र विश्वका जनतालाई व्युँताउन अगुवाई गर्ने सोभियत समाजवादी व्यवस्था ढलेकोछ र सोभियत संघ १५ वटा टुक्रामा विभाजित भई त्यसको अस्तित्व मेटिएकोछ । पूर्वी युरोपबाट कम्यूनिष्ट व्यवस्था विघटित भएकोछ र देशहरु विभाजित भएकाछन् । त्यसक्रममा दक्षिण एशिया लगायत विश्वका विभिन्न देशमा साम्राज्यवादी हस्तक्षेप र थिचोमिचो बढेको मात्र होइन कम्युनिष्ट आन्दोलन र कतिपय देश कै विरुद्ध उनीहरु लागि परे । कैयौं स्वतन्त्र र सार्वभौम राष्ट्र माथि अमेरिकी साम्राज्यवादी र त्यसका गठवन्धन राष्ट्रबाट लगातार हमला भइरह्यो । मध्यपूर्वको अशान्तिको मुख्य कारण साम्राज्यवादीहरुका गतिविधिहरु ह्ुन् । अफगानिस्तान, इराक, लिविया, ईजिष्ट, सिरिया, प्यालेस्टाइन, यमन लगायतका व्दन्द साम्राज्यवादी हस्तक्षेप र उक्साहट कै परिणाम हुन् । साम्राज्यवादले आतंकवाद उन्मूलन गर्ने नाममा आतंकवाद कै विस्तार गरिरहेकोछ । त्यति मात्र होइन विभिन्न देशमा र देश भित्रका कम्युनिष्ट पार्टीका प्रभाव क्षेत्रलाई कमजोर पार्न जातिय साम्प्रदायिकतालाई बढावा दिने काम गरेकोछ । यस निम्ति असंख्य धनरासी खर्च गर्ने काम समेत हुँदै आइरहेकोछ । साम्राज्यवादीहरु र पूँजिवादी शाक्तिहरुले सर्वहारा श्रमिक आन्दोलन, कम्युनिष्ट आन्दोलनलाई कमजोर वा निस्तेज पार्न आतंकवाद, धार्मिक र क्षेत्रिय अतिवाद तथा अलगाववादलाई बढावा दिने, उचाल्ने, खुल्ला वा गुप्त रुपमा पैसा, सत्ताको परोक्ष प्रत्यक्ष प्रयोग गर्ने र त्यसलाई कमजोर पार्न षडयन्त्रकारी भुमिका निर्वाह गर्दै आएकाछन् । पूँजिवादी प्रतिकृयावादीहरुले श्रमिक जनसमुदालाई भ्रमित पार्ने, विभाजित गर्ने र दिशाहिन बनाई कम्यूनिष्ट र श्रमिक आन्दोलनबाट विमुख वनाउन हदैसम्म कोशिश गरिरहेकाछन् र उनीहरुले एकहद सम्म सफलता पाएका छन् । बंगलादेश, पश्चिम बंगाल र नेपाल मै समेत त्यस प्रकारका गतिविधिले विस्तारै टाउको उठाउने र विस्तारित हुने प्रयास गर्दैछ । यस प्रवृत्तिको विरुद्ध निरन्तर जुझेर कम्युनिष्ट एवं समाजवादी आन्दोलनलाई सुदृढ गर्नु आवश्यकछ ।