संयुक्त प्रेस वक्तव्य

 

बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग जोडदार माग

यही १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण टिमुरे बजारदेखि रसुवाको स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती, त्रिशूली हुँदै धादिङ, गोरखा, चितवन, नवलपुर लगायतका विभिन्न बस्तीहरू गम्भीर रूपमा प्रभावित भएका छन् । बाढीका कारण ठूलो भौतिक क्षति भएको भए पनि हालसम्म मानवीय क्षतिको यकिन विवरण सार्वजनिक हुन नसकेको अवस्था अत्यन्त चिन्ताजनक छ ।

यस्तो दुःखद र संवेदनशील घडीमा मानवताको आधारमा सबै पक्ष तत्काल उद्धार तथा राहत कार्यमा जुट्न आवश्यक छ । विपद्को समयमा कुनै ढिलाइ वा बहाना नगरिई नागरिकको जीवन जोगाउनु राज्यको पहिलो र सर्वोच्च दायित्व हो ।

बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपाल र महिला विकास समाज सरकार समक्ष निम्न मागहरू तत्काल कार्यान्वयन गर्न जोडदार आग्रह गर्दछौं ।

बाढीमा फसेका तथा बेपत्ता नागरिकहरूको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरण गरियोस ।

घाइते तथा बिरामीहरूको तत्काल उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा उपचारको व्यवस्था गरियोस र आवश्यक उपचार निःशुल्क तथा प्रभावकारी बनाइयोस् ।

जोखिमयुक्त बस्ती तथा क्षेत्रमा रहेका नागरिकलाई बिना ढिलाइ सुरक्षित स्थानमा स्थानान्तरण गरियोस ।

विस्थापित परिवारका लागि खाद्यान्न, सुरक्षित पिउने पानी, त्रिपाल, ओढ्ने–ओछ्याउने सामग्री, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री तत्काल उपलब्ध गराइयोस ।

राहत तथा उद्धार कार्यमा पारदर्शिता, प्रभावकारिता र मानवीय संवेदनशीलता सुनिश्चित गरियोस ।

विपद्को समयमा विशेष जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अन्य असहाय नागरिकका लागि विशेष उद्धार, संरक्षण र राहत व्यवस्था गरियोस ।

प्रभावित क्षेत्रमा तत्काल आवश्यक जनशक्ति, स्वास्थ्यकर्मी, खाद्यान्न, लत्ताकपडाको व्यवस्था तथा सुरक्षा निकाय तथा उद्धार उपकरण परिचालन गरी एकीकृत र तीव्र उद्धार अभियान सञ्चालन गरियोस ।

मृतकको पहिचान गरी शवहरु सम्बन्धित परिवारलाई बुझाउने काममा उच्च प्राथमिकता प्रदान गर्दै पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न जोडदार माग गर्दछौं ।

हामी केन्द्र, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, नागरिक समाज, निजी क्षेत्र तथा सम्पूर्ण समुदायलाई आपसी समन्वय, सहकार्य र एकताका साथ उद्धार तथा राहत अभियानमा जुट्न अपिल गर्दछौँ ।

यस विपद्को घडीमा प्रत्येक मिनेट महत्वपूर्ण छ । बेपत्ता नागरिकको खोजी, फसेकाको उद्धार र पीडितको जीवनरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै राज्य संयन्त्र तत्काल पूर्ण क्षमताका साथ परिचालन होस ।

मानव जीवनको रक्षा नै अहिलेको पहिलो प्राथमिकता हो ।

 

बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपाल

महिला विकास समाज

मितिः १० भदौ २०८३