मन्त्रीका कुर्चीहरू अझै खालीछन्
सरकारी अड्डाका भित्ताहरू थर्किनेगरी
आधुनिक पहिरनमा एउटी तन्नेरी
गालीको पर्रा छुटाउदै
बर्बराउदै, धम्क्याउँदै भन्दैथिन्
अड्डामा काम छिटो किन भएन ?
आगोको रापले पोलेका
कालै बनेका भित्ताहरू,
भुईँ र छतहरू,
फिस्स हाँसे कन्टुकेको बुद्धि देखेर ।
तर सुने सबै गाली, घुर्कीहरू,
ध्वाँस र बेइज्जतीहरू ।
डर थियो ती जर्जर बनेका
भित्ता, भुईँ र छतहरूलाई
कतै बाँकी अँगहरू पनि
राप कै शिकार त बन्दैनन् ?
किन कि
ध्वाँसोले कालै भएको
अष्ट, व्यस्त र छरपस्ट सिँहदर्वारमा
मन्त्रीका कुर्चीहरू अझै खालीछन् ।