नेपाल मन्दिरहरुको देश, समृद्ध संस्कृतिको देश भनेर प्रचार गर्दै हिँड्ने हामी । आफ्नै घर आँगनमा भईरहने ईन्द्रजात्रालाई नसम्झने त कुरा नै भएन । सानामा बाबुको औँला समाएर हिँडेको याद भयो । सेतो भैरबको दाँतबाट झर्ने ध्याम्पोको प्रसाद बुबाको हातले छर्केर चोखो बनाएको पनि याद आयो । काठ्माडौं संस्कृतिको पाठशाला या प्रदर्शनी या संग्रहालय या एक्पो जस्तै हुने गर्दथ्यो त्यो बेला । थँने क्वँनेका सबै स्थानहरुमा घर घरबाट बाहिर ल्याई प्रदर्शन गरेका मूर्तिहरु, पुतलीहरु, विभिन्न आकारका दियोहरु लगायतका अनेकौं धार्मिक, सांस्कृतिक र सामाजिक बिषयबस्तुहरुलाई झल्काउने प्रदर्शन गरेका हुन्थे । केटाकेटीहरुका लागि त्यो निकै ठूलो मेला हुन्थ्यो । टोलटोल र दबूहरुमा महाँकालको नृत्यहरुको आयोजनाहरु हुने गर्दथ्यो । त्यसमा ख्याः र कवंचाहरुको भुमिकाले पनि दर्शकहरुको मन जित्ने गर्दथे । कुमारी र दैत्यको नृत्यहरु हुन्थे । लाखे र झ्यालिँचाका नृत्यहरु हुन्थे । पुलुकिसि, धिँनाली सिँताँ, सवः भकुहरुले दर्शकहरुलाई निकै मनोरन्जन दिने गर्दथे । कसरी बिर्सन सकुँ ती रमाईला दिनहरु?
तर हिजोका र आजका मान्छेहरुको भीडमा फरक देख्छु म । हिजो शान्त हुन्थे भने आज अराजक । कतिखेर कसले के नारा लगाउने हो र कसले कहाँ ढुँगा हान्ने हो? त्यसैले भीडभाडमा पस्न पनि डरमर्दो हुँदो रहेछ हिजो आज । म जस्ताले त छेउछाउबाट हिँड्नु कल्याण भनेर हिँड्न कोशिश गरेँ । तर यो बर्ष काठ्माडौँमा ईन्द्रजात्राको बेला केही राम्रा पनि देखेँ । त्यो भन्दा पनि छिन छिनमा मन दुख्ने दृष्यहरु धेरै देखेँ । फोहर र भताभुँग जताततै । धेरै ठाउँहरुमा परंपरागत प्रदर्शनीहरु नरहेको पाएँ । सवभन्दा दुःख लाग्ने कुरा त के देखेँ भने मन्दिर र मूर्तिहरु पुननिर्माण गर्ने नाममा सँग्लो पुरातात्वीक महत्वका मूर्तिहरु गायव गरी नयाँ मूर्तिहरु राखेको पाएँ । यसको जिम्मेवार को हो? खोज सरकार ।