महिला सहभागीता (Teej song)
महिला सहभागीता
पूर्णशोभा चित्रकार
(तीजको बेला जानु पर्यो मेलामा........भाकामा)
तीजको बेलामा हामी जम्मा भाकाछौँ
महिलाहरूको सामर्थ्यको कुरा गर्दैछौँ । २
महिलाहरूले उठाएथ्यो महिला सहभागीको
पितृसत्ता दबिएर झुक्नु परेथ्यो । २
जनसङ्ख्या महिला पुरुष आधा आधा भाकोछ
महिला भने काम बढी गर्दै आकोछ । २
काम गर्ने कालु रैछ मकै खाने भालु
तेत्तिस प्रतिशत कुरा आउँदा सुकाए है तालु । २
सहभागी महिलाको मात्र हामीले गरेनौँ
आइपर्दा आन्दोलनका नेता भाकाछौँ । २
तेत्तिस भन्दा बढी महिला सहभागी हुनु पर्ने हो ।
यो व्यवस्था नमानेर निहुँ किन खोज्या हो ? २
तेत्तिस मात्र होइन हाम्रो पचासको माग हो
आज होइन भोलि भन्दै भाग्दै नभाग हो । २
मुख्य पद महिला पुरुष बराबर हुने हो
दुई पार्टीको हौवा देखाई महिला नठग हो । २
संघदेखि प्रदेश सम्म, प्रदेश, जिल्ला, वडामा
छोड्दैनौँ हामी हक र अधिकार महिलाहरूको । २