हामी ʻजिउँदा मान्छेहरूʼ
पानी निल्नै नसक्ने भएपछि
ब्रह्मनालमा चोपी चोपी
बगाउँछन् जलधाराहरू।
खान नखाने पक्का भएपछि
अनेकन आयोजना
दिनहरू गनी गनी
पस्कन्छन् दर्जनौँ थरिका परिकारहरू ।
शरीर नै जलिसकेकाहरूको निम्ति
खोल्छन् हजारौँ, लाखौँ श्रद्धाका पोकाहरू ।
जिउँदो छँदा
केही घुट्को पानी
केही गाँस खाना
केही पिट्को मायाको निम्ति
कति तड्पिन्छन् अरू भन्ने
हामी ʻजिउँदा मान्छेहरूʼ लाई के थाहा?