फोटो संकलनको बारेमा
सानैदेखि म देव देवतालाई फूल चढाउँथेँ । ठूली भए पछि कसैको बिहे, कसैको कामको सफलतामा बधाई दिन फूलको उपहार लैजान थालेँ । पछि फूलको बगैँचामा रमाउन थालेँ । कुनै कुनै फूल यति धेरै वासनादार हुन्छ कि त्यसले पूरा कोठा र घर नै मगमगाउँछ । सन् २०२० मा विश्वभर कोरोनबाट नेपाल पनि प्रभावित बन्यो । आफू पनि प्रभावित बनेँ । परिवारको सहयोगले कोरोनाबाट मुक्त त भएँ । तर सरकारले बन्दाबन्दीको घोषणा गरे पछि सवै यात्राहरु बन्द भए । एक्लोपनले मलाई केही मानसिक रुपले दवाव परेको जस्तो भयो । मलाई लाग्यो म बलियो हुनु पर्दछ, पहिले जस्तै सक्रिय हुनु पर्दछ । बाँच्न पाएको जीवनलाई खेर फाल्नु हुँदैन । रातीको समयमा मैले झ्यालमा चियाउँदै गरेको जून सित मित्रता गरेँ र त्यसकै कविता लेखेँ । दिनमा बगैँचामा भएको गुलाबको फूलसंग मित्रता गर्न सिकेँ र त्यसकै कविता लेखेँ । हरेक दिनमा फूल्ने फूलहरु मेरा नयाँ नयाँ साथी बन्दै गए । ती सवैसंग मित्रता गाँस्दै गएँ । मित्रहरुको संख्या पनि बढ्दै गयो । पछि जहाँ पनि नयाँ फूल देख्ने वित्तिकै फोटो खिच्न थालेँ । विस्तारै जहाँ जहाँ फूलछ, त्यहिँ पुगी फोटो खिच्न थालेँ । त्यहि फोटोको संकलनलाई मैले स्याहार पूर्वक सवैको सामू राख्न कोशिश गरेकीछु । फोटो हेरि दिने र रुचाईदिनु हुने सवैमा म पूर्णशोभा चित्रकार धन्यवाद भन्न चाहन्छु ।