छलाङ्ग

छलाङ्ग मार्ने कुरा सुन्दैछु

आकाश र पाताल

जोड्ने कुरा पनि सुन्दैछु ।

तर युवाहरुले

कति ठूलो छलाङ्ग मारी सके

पत्तो नै भएन ।

हरेक दिन

एउटा न एउटा कथा सुन्दैछु

छलाङ्गसित जोडिएको

बिरहका कथा ।

पुर्ख्यौली सम्पती बेची

अष्ट्रेलिया, अमेरिका र युरोपमा

घरबार जोडेको कथा,

घरमा सेतै कपाल फुलेका

बाबा र आमाहरु

बाक्लो चश्मा लगाई

दैनिकी खोजिरहेको कथा,

र मुत्युमा श्रद्धान्जलीको लागि

कैयौं दिन हिउँको बाकसमा

कुरिरहेको कथा ।