सानु मिश्रको सम्झना स्वरुप यो बिरुवा
सानु मिश्र एक जना अत्यन्तै सक्रिय, सरल, स्वाभिमानी, मेहनती, प्रतिवद्ध कम्युनिष्ट क्रान्तिकारी थिईन् । उनी साक्षर मात्र थिईन् । तर उनीले स्वीटर बुन्ने, लुगा सिउने, थरिथरिका अचार बनाउने शिप देखि हार्मोनियम, मादल र विभिन्न बाजाहरु बजाउने देखि लिएर गीत कविताहरु निकै लेख्ने गर्दथिन् । कतिपल्ट सम्मेलन र सांस्कृतिक कार्यक्रमका मञ्चहरुबाट उनीव्दारा लिखित उनकै लयमा म पनि उनीसंगै केही पल्ट गीत गाएका थियौं । राजनीतिको सिलसिलामा म उनको घर निकै पटक जाने गर्दथे । कैयौंपल्ट म उनको घरमा बास समेत बसेकी छु । चाबेल, जोरपाटी, सुन्दरीजल, आरुबारी, आलापोट, मूलपानी, गोकर्ण, डाँछी, थली, ईन्द्रायणी, बज्रयोगिनी, साँखुका गल्लीहरुमा हामी कैयौँ पल्ट सँग सँगै हिड्थ्यौं ।
करीब ३८ बर्ष पहिलेको कुरा हो एक दिन म सानु मिश्रको घरमा पुगेकी थिएँ । उनी क्यान्सरले पीडित भैसकेकी थिईन् । तर उनले मेरो सत्कारमा कुनै कमि राखिनन् । खाना खाएको नखाएको सोधिन् । सिसीमा खाँदेको मुलाको अचार निकालिईन् र मलाई खान दिइन् । मेरो पहिलो सन्तान जन्मिने पर्खाईमा थियो । मेरो दुई जिउ भएको देखेर हो कि कुन्नि अचार थपि थपि ख्वाइन् । धेरै खाएँ अचार मैले त्यो दिन । केही समयको कुराकानी पछि उनले मलाई एउटा विरुवा उपहार स्वरुप दिईन् । मैले बिरुवालाई जतनसाथ गमलामा रोपेँ ।
उनीले एउटा गहिरो सम्झना छोडेर संसारबाट बिदा भईन् । झण्डै चार दशक पछि पनि मेरा गमलाहरुमा जब ती विरुवाहरु देख्छु, म उनलाई सम्झन्छु, उनको काम र साहसलाई सम्झन्छु । विरुवा पनि कस्तो उनी जस्तै । एउटा पात कहिँ गाडि दियो भने पनि हुर्कने । जस्तो सुकै मौसम, जस्तो सुकै भाँडामा पनि उनी मुसुक्क हाँस्न सक्छिन् स्व. सानु मिश्र जस्तै ।