वाह ˜ के जमाना आएछ
पूर्णशोभा चित्रकार
****************
पहिले काम दिलाउनेले
काम गर्नेसँग अन्तर्वार्ता लिन्थे
अहिले भने काम पाउनेलेे
गर्छन् लामा प्रश्नहरू
वाह˜ के जमाना आएछ ।
तलब कतिछ?
सुविद्याहरू के के छन्?
विदाहरू के के मा छन्?
काम कति सजिलोछ?
प्रमोसन र भत्ताको व्यवस्था कस्तो छ?
वाईफाई, फोनको सुविद्या छ?
फेसबुक, युट्युब चलाउन पाइन्छ?
आम्मै के कुरा गरिस्या हजुरले?
सर्टिफिकेट त छ नि मसँग
कामको अनुभव पो छैन
काम नै नगरी त
कसरी अनुभवी होला?
नजानेको काम त
हजुरहरूले नै सिकाई बक्सेला?
मेरो भर्खर बिहे भएकोछ
कोठा खोज्दैछु
यहीँ कतै नजिकै पाउन सक्छु?
बाथरुम, पानीको सुविद्या कस्तोछ?
दुईचार जना पाहुनाहरू आउँछन्
घरपेटीले झ्याउ मान्लान्?
कचकच त नगर्लान् नि है?
महँगो छ बजार
दाल चामल तरकारी
र औषधीमुलो
सबै नै महँगो छ
महिनाको तलब त के तलब हजुर?
यसो भत्ता सत्ता र
खाना खाजाको व्यवस्था हुन्छ कि?
मेरा आफन्त साथीभाईहरू
अमेरिका, जापान, अस्ट्रेलिया
युरोप, मलेसिया र अरबमा पुगेकाछन्
मैले पनि पासपोर्ट बनाउँदैछु
अर्को दुई वर्षमा घडेरी किनुँला
फेरि अर्को दुई वर्षमा घर ठड्याउँला
दिनहरू सुखसँग काटौँला
आ˜˜ के कुरा गरिबक्सेको हजुरले?
हिउँ, बाकस र एयरपोर्टको कुरा?
आमा बाबुका पैत्रिक सम्पति,
घर जग्गाको कुरा?
विदेशबाट एयरपोर्ट ओर्लिँदा
ट्रलीमा खनखन्ती
पैसा पनि त आएकोछ नि हजुर ।
लौ भनिस्योस म हजुरको लागि
पर्फेक्ट छु कि छुईन?