कुनै कार्यक्रमको केही घण्टा ढिला हुन खोजेको समयको सदुपयोग गरी मैतीदेबी मन्दिर (Maitidevi Temple) पुगेँ । अति सुन्दर, कलाले भरिपूर्ण त्यो मन्दिर घुमेँ, केही फोटोहरू खिचेँ । त्यसको इतिहास, कथा, वंशावली त होलान् । तर जान्ने कसरी? शिलापत्र छ, पढ्न र बुझ्न सकिने कुरा भएन । सिंहमर्मरको एउटा शिलामा "श्री विक्रम सम्वत् २०१७ वैशाख महिनामा श्री पञ्च कुमारी देवी प्रीति निमित्त श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट मन्दिर सजने सिँगार्ने वरिपरि जीर्णोद्धार मर्मत गर्ने तथा पर्खाल घाट बनाउने, ढुंगा छाप्ने, सिंढी बनाउन आदि नव निर्माण समेत गराई बक्सियो । शुभम् शुभम् शुभम्" भनी लेखेको भेटाएँ । घोबीखोलालाई केन्द्र बनाएर बनाएको यो मन्दिर शक्तिपीठ देवीको मन्दिर मध्ये एक पर्दछ । जहाँ अष्टमातृकासाथ भैरवको पूरा गरिन्छ । यी मन्दिरहरू नेपालको सम्पति हुन् । यसलाई धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक महत्वका साथ नयाँ पुस्ताले सुरक्षित राखोस भन्नको लागि सङ्ग्रहित कुराहरू लेखन, वाचन, प्रचार, ई-डकुमेन्टेशन आदिको क्षमता पनि अहिले नेपालमा रहेकोछ । सक्नेले अघि सरी काम गर्न सकोस् । मेरो शुभकामना छ।