सानामा नुवाकोट जिल्ला (Nuwakot District) मा अवस्थित देवीघाट (Devi Ghat) को किनारमा पुरोहित ज्ञान गुर्जु, बुबा, आमा र परिवारको अन्य सदस्यहरूसँग चापूजा (रातीको पूजा) गर्न गएको याद छ । शक्तिपीठ अष्टमातृकाको पूजा थियो । पौराणिक तथा धार्मिक कथामा नेपालमा एक सय आठ मुख्य शक्तिपीठहरू मध्ये देवीघाटको यो शक्तिपीठ पनि एक मानिन्छ । त्यो एउटा नयाँ सिकाई भयो मलाई । प्रायःजसो शक्तिपीठहरू नदीको किनारमा रहेको देखिन्छ । अर्थात् नदीको किनारमा बस्तीको विकाससँगै शक्तिपीठहरूको पनि स्थापना हुँदै गयो होला भन्ने मेरो बुझाई रहेकोछ । राजाको पुरानो घर हालको नारायणहिटी सङ्ग्रहालय भित्र पनि एउटा शक्तिपीठ रहेकोछ । त्यसको अर्थ नारायणहिटीको वरपर कुनै बेला नदी रहेको अनुमान गर्न सकिन्छ ।