बलम्बु (Balambu)

राजनीतिले केहि कुराहरु जोडजबर्जस्ती रुपमा सिकाएकोछ । त्यो हो 'जहाँ जनताछ त्यहाँ जाउ । जनताका समस्याहरुलाई बुझ र समाधान गर्नको लागि आतूर होउ ।' मेरो यो पुरानो तस्बीरले यहि कुरा सम्झायो । बलम्बु (Balambu) मा मैले शिक्षिकाको रुपमा काम गर्दा गर्दै, बिहान, बेलुकी र बिदाको समयमा गाउँका समस्या समाधान गर्न सकिन्छ कि भनेर केहि कामहरु शुरु गरें । मेरा पाईलाहरुलाई अगाडी सार्न सजिलो बनाउन फोटोमा देखिएका होनहार, सक्रिय, उत्सुक युवा महिलाहरुको समूह समेत दिलोज्यानले लागेका थिए । जसले मेरा हरेक काम र समस्याका हर एक मोडमा साथ दिए । उनीहरुकै साथमा चर्पि बनाउने, गाउँमा सफाई आन्दोलन चलाउने, बालबालिकाहरुलाई जुकाको औषधी ख्वाउने, धाईआमाको तालिम दिने, तरकारी खेतीको तालिम र बिउ बितरण गर्ने, किसान महिलाहरुको काममा सहयोगको लागि शिशु स्याहार केन्द्र संचालन गर्ने लगायतका कामहरु सम्पन्न गरेका थियौं ।

समय धेरै बितीसकेकोछ । तस्बीरमा रहेका युवा महिलाहरु मध्ये धेरैजना आमा र हजुर आमा समेत बनिसकेकाछन् । अहिले बलम्बुबासीका छोरा नाती पुस्ताका युवाहरुले पनि गाउँको सुधारको लागि निकै मेहनत गरिरहेको देखिन्छ । उनीहरुले गएको भुकम्पले थिलथिलो बनाएको गाउँलाई उठाएकाछन् र सुन्दर बनाएकाछन् । भत्केका मन्दिर, पाटी र पौवाहरुलाई पुननिर्माण गरेकाछन् र बलम्बुको धार्मिक र सांस्कृतिक पहिचानलाई बचाईरहेकाछन् । बलम्बुलाई सफा र सुन्दर बलम्बुको रुपमा पहिचान दिन खोजिरहेकाछन् । सवैमा मेरो कोटि कोटि नमन ।