बुर्जुवा शिक्षा त्याग्ने रहरदेखि स्नातकोत्तर सम्मको शिक्षा

पूर्णशोभा चित्रकार

साथीहरुसंग भेट हुँदा लूसूनले डाक्टरी पेशा छोडेर किन राजनीतिमा लागे? क्यानाडाको नागरिक नर्मन बेथुनले चिनिया क्रान्तिमा कसरी योगदान दिए? भन्ने बारेमा चर्चा हुने गर्दथ्यो । बिद्यालय र कलेजहरुको बुर्जुवा शिक्षाले बास्तवमा शोषित पीडित जनताहरुलाई फायदा गर्दैन भन्थे साथीहरु । महेशमानले सवैलाई चटक्कै छोडेर चीनमा डाक्टर पढ्न गएको गलत थियो भनेर बारम्बार चर्चा हुने गर्दथ्यो । एक दिन, दुई दिन, तीन दिन गर्दै ती कुराहरुले मेरो किशोरी दिमागमा गहिरो छाप पार्दै गयो । ममा बिस्तारै क्रान्तिको साहित्यमा रुचि बढ्दै गयो । मैले ह्दयचन्द्र सिंह प्रधान देखि चीनका ल्यूहुलान, ओयाङहाईको गीत, रातो तारा, रेडबुक देखि लिएर रुसका आमा, अग्नीदिक्षा, बिश्व ईतिहास जस्ता कितावहरु हरेक दिन पढ्न थालें । किताब पढ्ने लतले छोए पछि नसिद्धिए सम्म नछोड्ने भएँ र बर्षमा दर्जनौं कितावहरु पढें । कितावका आदर्शवादी र क्रान्तिकारी पात्रहरुप्रति मेरो आकर्षण बढ्दै गयो । त्यसमा थप गीत, कबिता र विभिन्न छलफलबाट ममा एउटा भरभराउँदो क्रान्तिकारी बन्छु र देशमा परिवर्तन ल्याउन सक्छु भन्ने अटोठहरु पनि बिस्तारै पलाउँदै गयो ।

श्याम प्रसाद शर्मा समूहमा आवद्ध हामी तीस चालिसजना साथीहरु मध्ये मैले पढाई छोडेकी थिईन । २०३२ । ०३३ सालमा म पद्म कन्या कलेजमा आईए पढ्थें । मेरो पढाई राम्रो पनि थियो । साथीहरु पनि एक से एक पढैया थिए । यता क्रान्तिकारी साथीहरुको संगतमा परे पछि आफूले पढाई नछोडेको प्रति ग्लानी बढ्दै गयो । पढाई छोड्ने कि निरन्तरता दिने भन्ने प्रश्नले भित्र भित्रै सताउन थाल्यो । दुईवटा बाटो मध्ये एउटा छान्नु पर्ने निर्णय गर्नु सजिलो हुँदो रहेनछ । एकातिर पढाईको कारणबाट प्राप्त आमाबाबु, परिवारजन र साथीहरुको माया, सम्मान र साधन, श्रोत लगानीको पक्ष, अर्कोतिर क्रान्तिका महान सपना बोकेका दृढ साथीहरुको संगत । दुईमध्ये एक छोड्नु पर्दथ्यो । एकातिर मेरो बुझाईमा मेरो र परिवारको लागि शिक्षा, अर्कोतिर सम्पूर्ण जनता र देशको लागि त्याग । पल्लाभारी दोश्रोमा पाएँ र मैले साथीहरुसंग बुर्जुवा शिक्षा त्यागेको घोषणा गरें । त्यो दिन देखि म दोधारमा बस्नु नपर्दा मन हलुका भयो । मेरो क्रान्तिको बाटो खुल्ला भयो । तर घरमा भने सजिलो बनेन । बिसं २०३६ मा त्यो समूह तत्कालिन नेकपा मालेमा बिलय भयो र त्यसको लगत्तै कार्तिक महिनामा पार्टीको सदस्यता लिएँ ।

बिसं २०२८ साल (समूहमा सम्पर्क भएको समय) देखि २०४२ सालसम्म मैले पार्टीको लागि केन्द्र देखि जिल्ला र टोल सम्मको पार्टी संगठन, जनबर्गिय संगठन, सेल्टर व्यवस्थापन, पार्टी प्रेस, घरमा र अन्य स्थानहरुमा बैठकहरु मिलाउने, जेलमा सम्पर्क गर्ने, पत्रिका, पर्चा, पोष्टर निकाल्ने, लेख रचनाहरुको प्रतिलिपि बनाउने, पार्टी दस्तावेजहरु टाईप गरी छाप्ने, पत्रिका प्रकाशन लगायतका जिम्माहरुलाई सफलतापूर्वक सम्पन्न गर्दै आएकी थिएँ । त्यसो गर्दा कहिले काहिँ त चौबिसको चौबिसै घण्टा पनि काम गर्नु पर्दथ्यो । मेरो घरका सवै दराजहरु पार्टीका किताव र पार्टीका प्रकाशनहरुले भरिएका हुन्थे । त्यो बाहेक आर्थिक सहयोग नियमित रुपमा दिने गर्दथें ।

बुर्जुवा शिक्षा छोडेको करीब एक दशक भित्र देशको राजनीतिले केहि महत्वपूर्ण परिवर्तनहरु हासिल गरीसकेको थियो । २०३६ को आन्दोपछिको केहि खुला राजनीतिक परिस्थिति, ठूला राजनीतिक सभाहरुको आयोजना, विभिन्न जनबर्गिय तथा पेशागत संगठनहरुको उदय र तिनीहरुका सम्मेलनहरुको आयोजनाहरु खुल्लै गरेको अनुभव बटुलीएका थिए । ती संगठन, सभा र सम्मेलनहरुमा मेरो प्रत्यक्ष वा परोक्ष नेतृत्व र सहभागिता हुन्थ्यो । त्यसवापत पटक पटक पक्राउ र जेल पनि परेकी थिएँ । त्यसमध्ये ललितपूर जिल्लाको पार्टीको सचिव र उपत्यका कमिटीको सदस्य भएर काम गर्दा थप गर्व लाग्ने गर्दथ्यो । किनकि भुमिगत कालको पार्टीको ईतिहासमा पहिलोपल्ट महिलाले पार्टीको जिल्ला सचिव भएर काम गरेको मैरै पालामा थियो ।

देशको राजनीति मात्र छिपिंदै गएको होईन, मेरो उमेर पनि छिपिँदै गएको थियो । म एक किशोरीबाट युवा महिलामा परिणत भएकी थिएँ । समयक्रममा बिहे भयो, श्रीमन थपियो, जोश अझ थपियो । बिबाहका दिनमा समेत हामी दुबैले देश, जनता र पार्टीको लागि जीवन दिन सपथ खाएका थियौं ।

त्यतिन्जेलसम्म पार्टीले मेरो लागि कुनै खर्च गर्नु परेको थिएन । तर २०४३ सालमा मेरो जेठो छोरो जन्मेपछि मात्र पार्टीगत हिसावले म एक्लै छु भन्ने अनुभुती भयो । आमा बनेको नाताले मेरोमा जिम्मेवारी थपेको थियो । हिजो पार्टीको लागि धेरै दिन सक्थें, आज छोरोले मागेको कुरा पनि दिन नसक्ने भएँ । परिवारलाई त मैले पार्टी छ, साथीहरु छन् मेरो चिन्ता गर्नु परेन भनेर ढाडस दिएकी थिएँ । तर मेरो दैनिक जीवनमा परिवर्तन आएको कुराले मैले समस्या भोगिरहेकी छु भन्ने कुरा पार्टीका नेताहरुले हेक्का सम्म पाएनन् । मेरो पनि आफ्नै  स्वभाव थियो, गनगन गरेर अरुको अगाडी हात पसार्न नजान्ने । माईती छँदा चामलको भकारी वा कुथीमा अन्न भरीएको देख्थें सँधैं, भोजभतेर खुब खान्थें । बच्चा भए पछि बल्ल थाहा भयो, पार्टीमा गरिने सहयोग एकतर्फि हुँदो रहेछ । बच्चाको कारणले मैले दिनको चौबिसैघण्टा समय दिन नसके पछि, पार्टीका नजिक भनिने साथीहरु पनि गनगन पो गर्न थाले । मलाई सहानुभुती र सहयोग गर्ने कुरा त सपनाको भैगयो । तर मैले हरेस खाईन । श्रीमान समेतको सल्लाहमा शिक्षक पेशालाई निरन्तरता दिंदै मैले पुन आईए, बिए, बिएड जाँच दिई पास गरें । पढाईको कामलाई अघि बढाए पछि धेरै मुश्किलको सामना गर्नु पर्दथ्यो । खास गरी परिक्षा दिने समयमा । श्रीमान एक पछि अर्को अञ्चल घुमेर पार्टी काम गर्नु पर्ने भएकोले मैले बच्चा हुर्काउँदै पढ्नु पर्दथ्यो । जाँचकै दिन झन च्वाँ च्वाँ रोएको बच्चालाई छोडेर जानु पर्दा मन असाध्यै भारी हुन्थ्यो । राजनीतिक काममा हिड्दा भने बच्चा बोकेरै जाने गर्दथें । धेरै अप्ठ्यारो परिस्थितिमा नातादारहरुकहाँ बच्चा छोड्थें ।

२०४६ सालमा पार्टीहरु भूमिगतबाट खुला भए पछि पार्टीले खुला र भुमिगत कार्यकर्ताहरुको व्यवस्थापन गर्ने, प्रतिपक्षमा रहेर गरिने भुमिगत राजनीतिक काम र खुला सत्ता साझेदारी भएर गरिने काम, महिलाको जिम्मेवारी र पुरुषको जिम्मेवारीका चुनौतीहरुका बिश्लेषण र त्यसको उचित संयोजन गर्दै लैजानु पर्दथ्यो । तर त्यसो भएन । पार्टीको कार्यालय खुलिसकेपछि पार्टीको कार्यालय कब्जा गर्ने, जिल्ला नजाने, अरुलाई आदेश दिई बाहिर बाहिर खटाउने र पार्टी भित्र हाली मुहाली गर्ने मुखियासाहेबी राजनीति र नेताहरुको अघिपछि धाएर खुशी पारी स्वार्थ पूरा गर्न दलाली गर्ने समूह, त्याग, बलिदान, सर्वहाराकरणको कुरा गर्दै सुबिद्याको पद कहिल्यै नछोड्ने, शिक्षा आर्जन गर्ने, जागिर खाने र व्यवसाय गर्न खोज्नेलाई बुर्जुवाको उपमा दिई पार्टीबाट पाखा लगाउने लफुङगो राजनीति गर्ने समूह पनि देखा पर्यो । मैले यी कुराहरुको बारेमा पार्टीको तत्कालिन अध्यक्ष कमरेड मनमोहन अधिकारीसंग कुरा राखेकी थिएँ । तर पार्टीमा हालिमुहाली अर्कैको चल्ने भएकोले वहाँको केहि शिप लागेन । पार्टीको पाँचौ महाधिवेशन पछि त विवेक र विचार छोडी जहाँ बहुमत हुने सम्भावना देख्यो, त्यसैको पछि लाग्ने, पार्टी र सरकारको पद प्राप्त गर्ने र अल्पमत वा मत बाझेको नाममा भेदभाव र दमन गर्ने शैलीको बिकास भयो । त्यसले पार्टी र सत्ताको राजनीतिमा खास खालका व्यक्तिहरु हावी हुन पुग्यो ।

मैले अंगे्रजी बिषयमा स्नातकोत्तर पढ्ने बिचार गर्दै त्रिभुवन विश्वबिद्यालय किर्तिपुरमा भरना भएँ । भरना त भएँ तर घरमा पढ्ने समय हुँदैनथ्यो । बिश्वबिद्यालयमा पढ्ने वातावरण हुँदैनथ्यो । म जस्तो अनियमित पढ्ने बिद्यार्थी र नियमित पढ्ने बिद्यार्थीहरु बिच क्रमश अन्तरालहरु बढ्दै जाने रहेछ । घरको काम सकाएर, कलङकीबाट ट्याङ्गलाफाँटको उकालो चढेर बिश्वविद्यालय पुग्दा मेरो सास फुलिसकको हुन्थ्यो । थकाई लाग्थ्यो । तर कक्षामा प्राध्यापक भने नियमित हुँदैनथे । कहिले काहिँ त बिदेशको कन्फरेन्समा भनेर महिनौं दिन कक्षा खाली हुन्थ्यो । कक्षा चलेको बेला प्राध्यापकले एक लेक्चर मै पाँचवटा किताव सक्यो भनेर घोषणा गर्दथे । बिद्यार्थीहरुले पद्म प्रसाद देवकोटालाई अलि कडा अनुशासनको भनेर चिन्दथे, तर उनकै कक्षा पनि नियमि पढ्न पाउँदिनथें । पढ्ने धोको भएर के गर्नु, तीन चार पिरियड लगातार खाली हुनुलाई बिश्वबिद्यालयले सामान्य नै मान्दोरहेछ ।

खाली पिरियडमा किताव च्यापेर बिश्वबिद्यालयको एकान्तमा र पुस्तकालयको कुनामा बसेर चुपचाप पढ्न खोज्थें । तर युवा पुस्ताहरुलाई मेरो रहर र बाध्यता बारेमा के सरोकार? उनीहरु आफ्नै  सूरमा हुन्थे । उनीहरु मैले पढिरहेको देखे भने अन्जानबस दिदी के पढ्नु भो, खै खै भनेर पुस्तक पल्टाउन आईपुग्थे । म पनि पढ्छु भोली ल्याईदिन्छु है भनेर माग्थे । मैले नाई पनि भन्न सक्दिनथें र दिन्थें । भोली, पर्सि वा हप्तौं दिन सम्म उनीहरुसंग मेरो भेट हुँदैनथ्यो र ती पुस्तकहरु फर्किंदैनथे । त्यसमा दुईवटा त त्यहाँको पुस्तकालयको थियो । मैले हाल सम्म पनि बुझाउन सकेकी छुईन । त्यसको लागि बिश्वबिद्यालय प्रति म क्षमाप्रार्थीछु । नियमित पढ्न नपाउँदा बिश्वविद्यालयको ती पाठ्य पुस्तकहरु पनि मेरो लागि धेरै लाग्ने गर्दथ्यो । प्राध्यापकहरुले सोध्ने प्रश्नहरुको फटाफट जवाफ फर्काउन नसक्दा आफैमा ग्लानी हुन्थ्यो ।

किर्तिपूरको त्यो बिश्वबिद्यालयमा अध्ययन गर्दा मैले एउटा बिचित्रको अनुभव गरें । कक्षाकोठाका बेन्चहरु बाल्यकालका सरकारी प्राथमिक विद्यालयको भन्दा गए गुज्रिएका हुन्थे । कक्षाकोठाको भुईको प्लास्टर फुटेर देखिएको माटोबाट विरुवा उम्रिरहेको हुन्थ्यो । झ्यालका सिसाहरु फुटेका हुन्थे र जाडोमा चिसो र बर्षामा पानीको छिर्काहरुको सामना गर्नु पर्दथ्यो । एकदिन त पद्म देवकोटाले पढाईरहेको बखत एक हूल केटाहरुले झ्यालतिर ताकेर पानी भरिएको बेलुनले किताव कापीहरु भिज्ने गरी हाने ।

बिश्वबिद्यालयमा सवभन्दा सकसको कुरा शौचालय थियो । महिला र पुरुष बिद्यार्थीको लागि छुट्टा छुट्टै शौचालयहरु भए पनि दिनहुँ जसो शौचालय पुग्ने बाटो समेत पिसाबले भरिएको हुन्थ्यो । कहिले काहिँ पाईलाले टेक्नको लागि ठाउँ ठाउँमा ईंटा ओछ्याइएका हुन्थे । भित्ता र ढोकाभरि फोहर पोतिएका र पुछिएका हुन्थे । पुछिएका कागजको थुप्रो र महिलाहरुका महिनावारीका पायडहरु समेत जताततै फालिएका हुन्थे । उच्च शिक्षा पाउन र बुद्धिजिबी बन्न तम्सेकी म त्यो दुर्दशा देखेर जिल्लिँथें । त्यो बेला मलाई हतार हतार आफ्नै  कोठामा फर्कनुको बिकल्प हुँदैन्थ्यो । परिक्षाको लागि राम्रो तयारी नपुग्दा परिक्षामा मेरो हाजिर टुट्थ्यो । जाँगर नचले पछि पढाई नै छोडें । तर पढ्ने धोकोले भने मलाई पछ्याएको पछ्याई गर्यो । पुनः मैले पाटन क्याम्पसमा समाजशास्त्रमा भरना भई अध्ययनलाई पुन निरन्तरता दिएँ र स्नातकोत्तर पार गरें ।  मेरो ज्ञान, आत्मबिश्वास र क्षमताबृद्धिमा केहि सहयोग गरेको अनुभव गर्न मलाई करीब पन्ध्रबर्ष लाग्यो ।