बसन्त ऋतुको आगमनसंग आरुबखडाको फूल ढकमक्क फूल्दोरहेछ । यो फूल करीब दुईहप्ता जति रह्यो । ती दुई हप्तामा मैले निकै आनन्दको अनुभुति गर्ने मौका पाएँ । भान्साको झ्यालमा चियाईरहने फूलहरुले पकाउने समयलाई पनि ब्यर्थ फाल्न दिएनन्। यो बेला फूलमा रमाउँदै गीत गाउने चराचुरुङगीहरुले दिएको मनोरञ्जनको बयान म कसरी गरुँ? यति नै बेला ढुकुर, सारौं, फिस्टे, मैना लगायत खैरो, कालो, खरानीरङको नामै थाहा नपाउने चराहरु पनि निकै आउने गर्दछन् । जुरेली, सारौं, ढुकुर, परेवा, भँगेरा, कागले त स्थायी बसोबास नै गरेकाछन् । कहिले काहिँ आउने सुगा र गाढा नीलो रङको चरा, कालो र सेता धर्का भएको चरा, लाटोकोसेरो हेर्नु निकै आनन्द लाग्ने गर्दछ । मैले त एउटा आरुबखडाको बोट मात्र रोपेकी थिएँ । तर प्रकृतिले मलाई निकै सम्पन्न बनाई दियो । धन्य प्रकृति ।