मलाई सेल्फीदेखि डर लाग्छ

सेतै कपाल फुलिसकेको बेला

गलेर गाला चाउरीसकेको बेला

धमिलो आँखामा बाक्लो चश्मा लगाउँदै

थर थर काँप्दै हिड्नु पर्ने बेला

नानी तिमी मलाई भेट्न नआउ है

किनकि मलाई सेल्फीदेखि डर लाग्छ ।

अगुल्टोमा आगो फुक्न नसक्ने बेला

भोकले पेट रन्थनिएको बेला

साहाराको आशामा तड्पिएको बेला

दुःखले गाला भिजेको बेला

नानी तिमी मलाई भेट्न नआउ है

किनकि मलाई सेल्फीदेखि डर लाग्छ ।।

******

अचेत भई ओछ्यानमा पल्टिसकेको बेला

भताभुङ्ग शरिर ओछ्यानसंगै टाँसिईसकेको बेला

हात खुट्टा यत्र त्यत्र सर्वत्र

सूई र नलीहरु घुसाईसकेको बेला

नानी तिमी मलाई भेट्न नआउ है

किनकि मलाई सेल्फीदेखि डर लाग्छ ।

अन्तिम सास चलिरहेको बेला

प्रत्येक सासको मूल्य गनिरहेको बेला

सेतो अप्रोन र स्ट्रेचरसंगै

भागदौड मच्चिरहेको बेला

नानी तिमी मलाई भेट्न नआउ है

किनकि मलाई सेल्फीदेखि डर लाग्छ ।।

*****

शरिरले जमिन नापिसकेको बेला

आँखाले आकाश नियालीसकेको बेला

निस्सासिएको धाँटीले पानी खोजेको बेला

अन्तिम बिदाई मागिसकेको बेला

नानी तिमी मलाई भेट्न नआउ है

किनकि मलाई सेल्फीदेखि डर लाग्छ ।

नानी, तिमीलाई हाँसो दबाएर

आँसू देखाउन मन लागेको बेला

संस्कार र ‘वादʼले सताएकोे बेला

दायीत्वको रापले नपोलेको बेला

नानी तिमी मलाई भेट्न नआउ है

किनकि मलाई सेल्फीदेखि डर लाग्छ ।।

(समाप्त)