खेल मैदानको भकुण्डोसंग एउटा प्रश्न
कोपाको खेल
देखें
कोहि थिए ब्राजिलको पक्षमा
कोहि भने अर्जेन्टिना ।
दर्शकहरु, समर्थकहरु
खेलमैदान गुन्जाउँथे
खुशीको थपडी र सुसेलीहरुले ।
झण्डाहरु फरफरफराई
उकास्थे दर्शकहरु
आफ्नो टीम हौस्याउनलाई ।
उफ्रिन्थे उनीहरु
क्या राम्रो सट
गजबको क्याच गोलकिपरको भन्दै ।
हो त्यहि खेल मैदानमा
दुबै पक्षका खेलाडीहरुका
जब्बर बुटहरुबाट
निरन्तर हनाई, थिचाई
र लुछाचुँडीहरुबाट
सताईएको
बिवस बनाईएको
भकुण्डोसंग प्रश्न गर्दछु म
‘तिमीलाई कसको हार वा
कसको जीतमा खुशी हुन मन लाग्छ?’
११ जुलाई २०२१