जेपी प्रतिस्थान जेष्ठ नागरिक ग्राम, लप्सिफेदि-काठ्माण्डौ

स्व.मित्रसेन दाहालले एउटा सपना रोपेका रहेछन्। सपनालाई जिउँदो राख्नको लागी उनकै जीवनसाथीले हात दिएकीछिन् । राधा शर्मा, जोसंग महिला अधिकारको लागि कैयौंपल्ट हामी एउटै बायनरमा आवाज पनि उठाएका थियौं, उनले माहुरीले फूलहरुसंग सम्वन्ध जोडेजस्तै दश औंला जोड्दै, आगन्तुकहरुलाई स्वागत गर्दै आफनो सम्पूर्ण समय विताईरहनु भएकोछ जेपी प्रतिस्थान जेष्ठ नागरिक ग्राममा । त्यो क्षेत्रको अनुभव लिने अवसर दिएकोमा मैले महिला शुरक्षा दवाव समूहलाई धन्यवाद दिनै पर्दछ ।

हालसाल त्यहाँ ५२ रोपनीमा सिंचेको जमिनमा ३३ वटा भवनहरु निर्माण भएका रहेछन् । भिन्न भिन्न घरहरुको भिन्न भिन्न मूल्य तोकिएकोछ । केहि नहुनेहरुको लागि निशुल्क रुपमा राख्ने व्यवस्था पनि रहेछ । ग्रामको लागि दान वा सहयोग गर्न चाहनेले खाना ख्वाउनको लागि, गाईलाई दानाको लागि, औषधी उपचार देखि कुनै पनि आर्थिक या भौतिक सहयोग गर्न सक्दछन् । बैठक, सेमिनार र भेला गर्न चाहनेहरुको लागि साना ठूला हलहरुको समेत व्यवस्था गरेकोछ । धार्मिक विश्वास गर्नेहरुको लागि होम, कोटीहोस गरिदिंदा झन् खुशी मान्दछिन् राधा शर्मा । स्वच्छ मूलको पानी, गाईको दूध र दही अर्को विशेषता हो त्यस ग्रामको ।

चैत्र ३० गते फर्कने दिनको विहान भान्छा मगमगाउने गुन्द्रुकको मिठो रससित भोजन गर्यौं । एक पोको गुन्द्रुकको कोशेली पनि प्राप्त भयो राधा शर्माबाट । ग्रामले दिएको मायाको लागि ग्रामलाई धन्यवाद । ग्रामको उत्तररोत्तर प्रगति तथा असहाय जेष्ठ नागरिकहरुले बढी भन्दा बढी सेवा र सुविधा पाउन भन्ने शुभकामना ।