२०३६ सालको त्यो शिक्षक भेला

फोटो श्रोतः सीता ओझाको फेसबुकबाट

हिजो आजको राजनीतिमा देखा परेको क्रिया र प्रतिक्रियाले २०३६ सालको हेटौंडाको भुतनदेवी माविमा भएको राष्ट्रिय शिक्षक भेलाको सम्झना गराएकोछ । भेलाको एक दिन अगाडी नै काठ्माडौंका शिक्षकहरु हेटौंडा पुगिसकेका थियौं । तर जिल्ला भर प्रहरी र विनावर्दीका प्रहरीहरुको आतंक थियो । विद्यालय घेराउ गरिएको थियो । चोक चोकमा प्रहरीहरु तैनाथ थिए । एफएमले भेला रद्द गर्नको लागि लगातार सूचना दिईरहेको थियो । माईकिंगव्दारा भेला नगर्न दवाव दिईरहेको थियो । त्यसलाई हामी स्वेत आतंक भन्ने गर्दथ्यौं । शहरभरी स्वेत आतंक थियो । त्यो बेला अहिले जस्तो मोबाईल या फोनको सुविद्या थिएन । जिल्ला जिल्लाबाट आउनु पर्ने शिक्षकहरुको अवस्था के भईरहेछ भन्ने थाहा पाउन कठिन थियो । तर कुनै न कुनै सूत्रबाट केहि केहिको जानकारी आईरहेको थियो । विहान, दिउँसो, साँझ र रात पर्दै गर्दा एक एक गर्दै देशभरिका शिक्षकहरु भेलामा आईपुगे । शासकहरुले अनेक तिकडम गर्दा पनि भेलालाई रोक्न सकेनन् । त्यसपछि त तिनीहरुले देशभरिबाट भेला भएका बुद्धिजिविहरुलाई दमन गर्ने आँट गर्न सकेनन् । सफलतापूर्वक भेला सम्पन्न भयो । 


भेलामा प्रतिनिधित्व गरेका कतिपय साथीहरुलाई त शुरुमा हामीले चिन्न पनि सकेनौं । कोहि माछा व्यापारी त कोहि गोलभेडा व्यापारीको भेषमा टोकरी, धोती, लुंगी सहित आएका थिए । साँचो भन्नु पर्दा भेलामा उपस्थित कतिपय सहभागीहरुले जागीर, जेल, नेल र अरु सजाँय त के जीवन नै आहुती दिनु परे पनि परोस भनेर पनि आएका थिए ।


भेलाको दौरानमा हामीले संबेदना जगाउने धेरै घटनाहरु र संघर्षहरुका कथाहरु साटासाट गर्‍यौं । समयक्रममा सहभागीहरुले भ्याए जति र सके जति कथाहरु सुनाउनु हुनेछ भन्ने आशा गर्दछु । चालिस बर्ष पछि पनि त्यो ऐतिहासिक भेलाले सत्य - न्याय र असत्य - अन्यायको दुईटा बाटो मध्ये पहिलो बाटो चुन्ने शाहस दिई नै रहेकोछ ।