स्वः विरबहादू लामालाई सम्झँदाः एक रातमा पार्टी बन्दैन

पूर्णशोभा चित्रकार

मकवानपूर जिल्लाका भूपू सांसद विर बहादूर लामाको यहि कार्तिक २३ गते मृत्यु भएको खबर मैले सामाजिक संजालबाट थाहा पाएँ । मानिस जन्मे पछि मृत्यु हुन्छ । यो ध्रुब सत्य हो । तर यो सत्यलाई स्वीकार्न सजिलो भने पक्कै छैन । मन दुख्छ । वहाँ प्रति हार्दिक श्रद्धान्जली । 

विर बहादूर लामाको मृत्यु त्यसबेला भयो, जुन बेला नेपाल कम्युनिष्ट पार्टीमा कुन नेताको योगदान ठूलो भन्नेमा तँछाड मछाड भैरहेकोछ । नेता नेतामा एक अर्कोलाई होच्याउने, थचार्ने वा पछार्ने होड चलिरहेकोछ । नेकपा भित्र चलिरहेको विवाद र तानातानले कम्युनिष्ट पार्टी बनाउन विर बहादूर लामा जस्ता व्यक्तिहरुको योगदानलाई बेवास्ता गर्न धेरै मद्दत पुगेकोछ । विर बहादूर लामाको बारेमा मैले भन्नु पर्दा राजनीतिक कामको सिलसिलाका उनीसंगको भेट र केहि घटनाहरुको बारेमा सम्झना भैरहेकोछ । 

तत्कालिन नेकपा (माले) बनि सकेपछिको भूमिगत कालमा मैले वहाँको जन्मथलो र राजनीतिक कर्मथलो मकवानपूरमा टेक्ने मौका पाएकी थिएँ । त्यतिखेर म अखिल नेपाल महिला संघको महासविच थिएँ । पदीय दायीत्व अनुसार विर बहादूर लामाको कार्यक्षेत्र रहेको मकवानपूर जिल्लाको केहि गाउँहरुमा महिलाहरुको विच प्रशिक्षण र राजनीतिक सांगठनिक प्रतिवेदन संकलनको लागि गएकी थिएँ । त्यो बेलाको केहि दृष्यहरु मेरो मानसपटलमा कहिले काहिँ आउने गर्दछ ।

एउटा भेलामा लगभग पच्चिसजना महिलाहरु सहभागि थिए । छलफलको सिलसिलामा त्यो गाउँमा बहुविवाहको चलन चरम रुपमा थियो भन्ने थाहा लाग्यो । महिलाहरुले पाँचौ, छैठौं वा आठौं सम्मको श्रीमती भएको जानकारी दिए । मलाई अचम्म लागेर आठौं श्रीमती हुँ भन्ने महिला साथीसंग ‘विवाह पूर्व श्रीमानको सातौं श्रीमती भैसकेको जानकारी थियो कि थिएन’ भन्ने प्रश्न गरें । उनले ‘थाहा त थियो तैपनि केहि सुखको आशामा बिहे गरेकी हुँ’ भन्ने जवाफ दिईन् । कुरा सुनाएको बखत उनको शीर निहुरिएको थियो, अनुहार उदास थियो र उनका आप्mना दुवै हातका औंलाहरुले खुट्टाको बुढी औंला कोट्याईरहेका थिए । उनी खुशी थिईनन् भन्ने एउटा अनुमान भयो ममा । गाउँमा संगठनको निर्माण यहि गरीबी, विकृति, हिँसा हटाउन आवश्यक थियो । संगठन वा पार्टी मानिसहरुलाई सुख दिलाउन साझा प्रयत्नहरुलाई अघि बढाउन आवश्यक थियो, जुन काम विर बहादूरले त्यो क्षेत्रमा गरिरहेका थिए ।

अर्को एक गाउँको महिला भेलामा एक डेढ घण्टाको छलफल पछि करीब दश मिनट जति विश्रामको व्यवस्था हुने गर्दथ्यो । त्यो विश्रामको विच बैठककोठा सूर्तिको धुँवाले कुहिरोमण्डल बन्दथ्यो । महिलाहरुले पटुकावाट विँडि, चुरोट, सूर्ति निकाली एक आपसको आगोमा सल्काएर मस्तसित तान्थे र धुँवा निकाल्थे । चुरोट प्रायः कमै सहभागीसंग हुन्थ्यो र जस्को हुन्थ्यो त्यसको सान अलि फरक देखिन्थ्यो । प्रायःजसो संग बिँडी र सूर्ती हुन्थ्यो र सुर्ती सुकेको या हरियो कुनै पनि पातमा बेरेर सल्काउँथे । श्वास्थ्य प्रतिको ध्यान, चेतना केहि टाढा रहेको पाएँ मैले त्यस गाउँमा । चुरोट विँडी नखानेको लागि त्यो कोठा धेरै सकस बन्ने गर्दथ्यो ।

विहान बेलुकाको खाना प्रायः ढिँडो र मकैको च्याँख्ला खान्थ्यौं । विरबहादुरले ‘ढिँडो हेर्नुस है यसरी खानु पर्छ’ भनेर सिकाउनु हुन्थ्यो । कहिले काहिँ मलाई मात्रै भात ल्याएर दिनु हुन्थ्यो र आपूmचाहिँ च्याँख्ला वा ढिँडो नै खानु हुन्थ्यो र भन्नु हुन्थ्यो उकालो ओरालो धेरै गर्नु पर्ने ठाउँमा चामलको भातले पेट भरिँदैन ।

एक दिन उनी केहि कुरा विराएको जस्तो गरी हुट्हुटिनु भयो र भन्नु भयो ‘मैले यसपाली तपाईलाई एक गज्जवको चिज ख्वाउन पाईन ।’ खुल्दुली लागेर सोध्दा थाहा भयो त्यो त मयुरको मासु भन्न खोजेका रहेछन् । मेरो शरिर सिंरिंग भयो । मैले नखानको लागि सम्झाएँ मात्र होईन, आईन्दा देखि वनका चराचुरुंगी, बन्यजन्तु नमार्न आदेश पनि दिएँ । कति विचित्रको गाउँ थियो त्यो, जहाँ अभाव र गरीबीको कारणले मानवजीवनले प्रकृतिप्रतिको माया विर्सिसकेको थियोे ।

करीब एकहप्ताको कार्यक्रम सकिसकेपछि म काठमाडौं फर्कनको लागि बाटो लागें । विरबहादुर बस स्टपसम्म पुर्याउन आउनु भयो । बाटोमा हिँड्दा उनले अनेक कुरा गरी हँसाउँथे, अनुभव र जनताहरुले भोगेका समस्याहरु सुनाउँथे । एक ठाउँमा त ‘हो यहि ठाउँ हो म र भालुको जम्काभेट भएको’ भन्दै उनी रोके । साँझको समय उनी त्यो बाटोमा हिँडिरहँदा एउटा बडेमाको भालुसंग जम्काभेट भएको थियो रे । उनलाई भालुसंग छल्न सकिन्न भन्ने पनि लागेको थियो । तर उनले भए भरको ठूलो आवाज निकाली मूढो भुईंमा बजारे पछि भालु आत्तिएर अर्को बाटो लागेछ ।

विरबहादूर लामाको जीवन मकवानपुर लगायतका केहि जिल्ला र गाउँहरुसित मात्र जोडिएको छैन । उनको जीवन सिंगो कम्युनिष्ट आन्दोलनको ईतिहाससित जोडिएकोछ । उनले आन्दोलनको कठिन परिस्थितिको धेरैवटा घुम्तीहरु पार गरेका थिए । अहिलेको नेकपाले उनको योगदानलाई नसम्झिनु ठूलो भूल हुनेछ ।

विरवहादूर लामा मकवानपुर जिल्लाको फाखेलमा एक साधारण परिवारमा जन्मेका थिए । गरीवीको कारण उनलाई उच्च शिक्षा हासिल गर्ने मौका मिलेन । उनको उत्तर कोरियाको दुतावासमा पियनको जागिर थियो । उनलाई वामपन्थी विचारधारा प्रति आस्था थियो । उनीसंग परिचित केहि युवाहरुको पहलबाट दुईवटा पर्चा निकाले । त्यसमध्ये एउटा पर्चा राजतन्त्रको विरुद्धमा गणतन्त्र स्थापनाको माग गरी विसं २०३३ सालको बैशाखमा मई १ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारी निकालिएको । त्यो पर्चा छाप्नको लागि विरवहादूरले सहयोग गरेका थिए । युवाहरुले पर्चा छर्ने विभिन्न तरिकाहरु निकाले । माधव पौडेलले जैशीदेवलमा डेरा गरी बस्ने डिवि कार्कीको कोठामा सडकमा भेटाएको पर्चा भन्दै एउटा पर्चा छोडेका थिए । पछि अन्चलाधिश कार्यालयको गुप्तचरले हात पारी पर्चा छर्नेहरुको खोजी गर्न थाले । त्यसैक्रममा गोपाल शाक्य, विरवहादूर लामा, राजेन्द्रपाण्डे, सूर्य लामिछाने लगायत धरै युवाहरु पक्राउ परे । पक्राउ परेकाहरुमध्ये केहिलाई तीन महिनासम्म तत्कालिन डिएसपि कार्यालय हनुमान ढोकामा राखी चरम यातना दिईएको थियो । राजकाज मुद्दा लगाएर बन्दीहरुलाई नख्खुजेल सारे पछि वहाँहरुको भेट झापा आन्दोलनका राजवन्दीहरुसंग भयो । त्यहिँ पार्टी सम्पर्क भयो र कतिपयले पार्टी सदस्यता जेलबाट नै लिए । जेल वसाईको क्रममा जेलबे्रक गरी भाग्ने र पार्टीको काम गर्ने योजना बन्यो । विसं २०३३ साल चैत्र १२ गते नख्खुजेलबाट पर्चाकाण्डका चार जना लगायत पन्ध्रजना जना राजवन्दीहरु भागेका थिए । जसमा विर बहादूर पनि एक थिए । 

जेलबाट त भागे । तर कसरी सुरक्षित हुने भन्ने समस्या थियो । कामको अनुभवको कमि थियो । त्यो बेला विर बहादुरको माध्यमबाट उनको गृहजिल्लाको फाखेल गाउँमा सेल्टरको व्यवस्था गरिएको थियो । त्यहिँबाट युवाहरुले भूमिगत गतिविधिका धेरै तौरतरिका सिके । कसरी बैठक बस्ने, कसरी हिँडडुल गर्ने, कसरी पत्राचार गर्ने लगायतका धेरै कुराहरु कामको दौरानमा सिक्दै गए ।

विसं २०४९ सालको जनआन्दोलन पश्चात भएको स्थानिय निर्वाचनमा विरवहादूर एमाले तर्फबाट जिल्ला सभापतिमा निर्वाचित भए र विसं २०५६ मा सांसद बने । तर विडम्बना भन्नु पर्दछ ०६९ सालमा अशोक राई लगायतका केहि साथीहरु नेकपा एमालेबाट अलग हुँदा विरवहादूर पनि त्यहि हावामा वग्नु भयो र त्यसपछि देखि नै उनी छायाँमा पर्नु भयो । त्यसपछिका दिनहरुमा उनले शुरु गरेका व्यवसायीक जीवन पनि सफल हुन नसकेको कुरा साथीहरुबाट बेला बेलामा सुन्नमा आउँथ्यो । 

विर बहादूर यो संसारमा नरहे पनि उनको जीवन कथाले नेकपा एक रातमा बनेको होईन भन्ने बुभ्mन सजिलो बनाएकोछ । नेकपाको जन्म र विकासको लागि अमूल्य योगदान दिने विरवहादुर जस्तै धेरै नेता, कार्यकर्ता, सहयोगी तथा सुभेक्क्षुकहरु थिए र छन् । नेकपाका शिर्ष नेताहरुले यसलाई मनन गर्न सकेमा मात्र सहि नेतृत्वको लागि अगाडी बढ्न सजिलो पर्दछ ।