निकुञ्जबाट देशले आर्थिक लाभ गर्न सक्छ

चितवन राष्ट्रिय निकुञ्ज, सौराहा कार्यालयको ढोकाभित्र छिर्ने वित्तिकै मेरो आँखा खेलौना जस्तो लाग्ने सानो गैंडामा पर्न गयो । त्यहाँको एकजना कर्मचारीले त्यस बच्चालाई सिसिबाट मायालु पाराले दुध ख्वाउँदै थियो । थाहा पाएँ आमा मरेको गैंडा रहेछ । जिवनमा मैले धेरै पल्ट धेरैवटा गैंडाहरु देखेकी थिएँ । यति सानो गैंडा देखेको मैले त्यो नै पहिलो पल्ट थियो । अति हिस्सि परेको थियो, त्यो बच्चा गैंडा ।

चितवन राष्ट्रिय निकुञ्जमा धेरै प्रकारका जनावरहरु, चराचुरुंगीहरु रहेकाछन् । विश्वसम्पदा सूचिमा परेको त्यस राष्ट्रिय निकुुञ्जको प्राकृतिक मनोरम जादूबाट मोहित विदेशबाट मात्र होईन देशभित्रबाट पनि हजारौं पर्यटकहरु निकुञ्ज घुम्न जाने गर्दछन् । 

संजोग मान्नु पर्दछ मेरो र रामकुमार अर्यालसंगको भेट । उनी राष्ट्रिय प्रकृति संरक्षण कोषको निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत रहेछन् । उनीसंगैको कुराकानीबाट मैले निकुञ्जका बारेमा केहि थप जानकारीहरु पाएँ ।

एक समय यसतो थियो, राजा र राणा परिवार जंगल घुम्नु र जंगलको प्राकृतिक दृष्य हेरेर वा शितल र श्वच्छ हावामा शास फेरेर मात्र खुशी मान्दैनथे, जंगली जनावरहरुको शिकार विशेष गरी बाघ, गैंडा जस्ता बलिया जनावरहरुको शिकार गर्न सक्नु सान, मान र रवाफ ठान्दथे । शिकार गरिएका जनावरहरुको जिउमाथि खुट्टा राखी पोजको साथ फोटो खिचाएर भित्ता भित्तामा टाँस्दथे । पुराना कितावहरु, दरवार र होटल या रिसोर्टहरुका भित्ताहरुमा त्यस्ता फोटोहरु देख्न सक्दछौं । कहिले काहिँ राजा, राजकुमार र राणाहरुले शिकार गर्न नसक्दा अरुले नै शिकार गरी राजा, राजकुमारहरुको बहादूरीको जय जय गाउँदै खुशी पारेका किस्साहरु पनि केहि कितावहरुमा पढ्न पाउँछौं । 

मान्छेहरुको जथाभावी वस्ती, वसाई, गाईवस्तुको चरण र काठ दाउराको लागि जंगल फडानीको कारणले जंगल नै सखाप हुने अवस्थातिर धकेलिंदै गयो । जंगल फडानीको कारणले जंगलमा जनावरहरुको संख्या कम हुँदै गए पछि जंगलको सौन्दर्यता पनि हराउँदै गयो । त्यसले विश्वमा जंगली जनावरहरु र तिनीहरुको वासस्थानको सुरक्षाको लागि चलेको अभियानले नेपालको पनि ध्यान खिँच्यो । सन् १९७३ मा नेपालमा तत्कालिन वन सचिवको संयोजकत्वमा बाघ अनुसन्धान केन्द्रको स्थापना भयो । बाघहरु र चित्तलहरुमा रेडियो कलर ( Radio Colllar) गर्न थालियो । सन् १९७३, १९७५ र १९७७ मा नेदरलायण्डका राजकुमार वर्नहर्डले नेपाल भ्रमण गरेका थिए । नेपाल भ्रमणको बेला नेपालमा गैंडालाई डार्ट गरिरहेको देखेपछि उनी नेपालको काम प्रति धेरै प्रभावित भए । उनले नेपालमा प्रकृति संरक्षणको लागि संस्था खोल्ने सल्लाह दिए । सन् १९८२ मा राजा विरेन्द्रले राजकुमार फिलिपको समेत सल्लाहमा महेन्द्र प्रकृति संरक्षण कोषको स्थापना गरे । राजकुमार फिलिप सन् १९६१ मा स्थापना भएको विश्व प्रकृति कोष ( The Worldwide Fund for Nature –WWF) को संस्थापक थिए । राजाको शासनको अन्तपछि महेन्द्र प्रकृति संरक्षण कोषको नाम राष्ट्रिय प्रकृति संरक्षण कोष रहेकोछ । राष्ट्रिय प्रकृति संरक्षण कोषले विभिन्न राष्ट्रिय निकुन्जहरुसंग मिलेर काम गरिरहेकोछ ।

सन् १९८९ मा नेपालको नाम पनि विश्व प्रकृति कोषमा समावेश गर्यो र नेपालले विभिन्न मानव श्रोतको क्षमताबृद्धिको लागि तालिमहरु संचालन गर्न थाल्यो । तर तालिमप्राप्त जनशक्तिलाई काम दिलाउन र जंगल फडानी भएको ठाउँमा बृक्षारोपण गर्न कोषसंग पैसा थिएन । त्यसबेला अष्ट्रेलियन दुतावासले छ सात हजार डलर जति सहायता गर्यो र कोषले बृक्षारोपणको साथसाथै बाघ, गैंडा, हात्तिको अनुसन्धानलाई जारी राख्यो । यसले पछि जीवजन्तुको विषयमा एक संग्रहालय पनि चितवनमा खोलेकोछ ।

चितवन राष्ट्रिय निकुञ्जले मात्र ९५२ वर्ग किलोमिटर र बफर जोनले ७२२ वर्ग किलोमिटर जमिन ओगटेकोछ । चितवन राष्ट्रिय निकुञ्ज एकसिंगे गैंडाको लागि प्रख्यातछ । विश्वमा एकसिंगे गैंडा तीन हजारको संख्यामा रहेकोछ । त्यसमध्ये नेपालमा ६४५ र त्यसमध्येमा पनि चितवनमा मात्र ६०५ रहेकोछ । चितवनका जंगल हेर्न बर्षेनी सत्तरी देखि एक लाख सम्म विदेशी र तीस देखि चालिस लाखसम्म स्वदेशी पर्यटकहरु जाने गर्दछन् । 

सामुदायिक वन र बफर जोन सम्वन्धी कानून र नियमावलीहरु आए पछि वनको आम्दानीको पचास प्रतिशत समुदायको हितको लागि खर्च गर्नु पर्दछ । त्यसक्रममा समुदायहरु मार्फत स्थानिय वासिन्दाहरुको सचेतनाको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेकोछ । अहिले त्यसको प्रभाव पनि देखिंदै आएकोछ । चालिस बयालिस सालतिर स्थानियवासीहरु ‘एऽऽ गैंडा के काम’ भन्थे । अहिले गैंडाको सुरक्षा, आहाल, घाँसको लागि कुरा गर्न सम्वन्धित निकायमा जान्छन् । अहिले उनीहरुले पाईथन, अजिंगर देखे भने आठ दश किलोमिटर हिँडेर भए पनि वचाउनु पर्यो भनेर खबर गर्ने गर्दछन् ।

वनमा काम गरेको चालिस बर्ष बिताई सकेका अर्यालसंग वनका फायदा, वन संरक्षण गर्दाको चुनौती र पर्यटन व्यवसायबाट हुने फायदाको आफ्नै अनुभवहरु छन् । वहाँको विचारमा जंगली वासस्थानको संरक्षण पछि बाघ लगायतका जंगली जनावरहरुको संख्या बढ्दै गएकोछ । हाल चितवनमा मात्र बाघको संख्या ९३ वटा रहेकोछ । जंगलबाट प्रत्यक्ष रुपले ९३ करोड सम्म बार्षिक आम्दानी भएकोछ भने अप्रत्यक्ष ढंगबाट करोडौं आम्दानी गरिरहेकोछ । आम्दानीवाट सरकारलाई मूल्य अभिवृद्धि कर (VAT) तिर्छ । होटल व्यवसायको साथ साथै किसानहरुले अण्डा, तरकारी, फलफूलहरु बेचेर आम्दानी गर्ने अवसर पाएकाछन् । एकजना पर्यटक वरावर पन्ध्रजनाले रोजगारी पाएकाछन् । चराचुरुंगी हेर्न आउने पर्यटकहरु चितवनमा मात्र सीमित हुँदैनन् । उनीहरु चरा हेर्न फूलचोकी पनि जान्छन् । पोखरा र काठ्माडौंको ऐतिहासिक शहर हेरेर पनि मजा लिन्छन् । जंगल संरक्षणले अक्सिजन, पानी प्रसस्त मात्रामा प्रदान गरेकोछ । जीवहरु संरक्षण गरेकोछ । कतिपय जडिवुडीहरु जंगलले नै प्रदान गरेकोछ । अर्यालको भनाईमा पर्यटन व्यवसायले प्रत्यक्ष काम गर्दैन, तर अप्रत्यक्ष फायदाहरु दिन्छ । वहाँले लगानीकर्ताहरु बारे आफ्नो अनुभव पनि सुनाउनु भयो । शुरुका दिनमा बर्षमा केबल २६ जनामात्र पर्यटकहरु आएका थिए । त्यसवेलाका लाल कुमार श्रेष्ठ नामका एक जना लगानी कर्ताले सोचे जस्तो व्यापार नहुने रहेछ भनेर निराश भई लगानी फिर्ता लगेका थिए । पछि पर्यटकहरु बढ्दै गए पछि उनी फेरि व्यवसायमा फर्के । 

जंगल र पर्यटन विकासबाट अहिले जसरी देशको अर्थतन्त्रमा सहयोग पुगिरहेकोछ, त्यसमा वढी लगानी र व्यवस्थित गर्न सकेमा त्यसबाट आर्थिक विकास सम्भव हुन सक्छ । त्यहि चितवनमा पनि जंगल घुम्नको लागि गोलाकार बाटो बनाईदिने, आवश्यक मात्रामा विभिन्न स्तरको होटल र रेष्टुरेण्टहरुको संख्या बढाउने, घुम्ने ठाउँहरुको संख्या बढाई दिने, पर्यटकहरु हप्तौं दिन घुम्दा पनि नसिद्धिने ठाउँहरुको पहिचान, सरसफाई, हवाई सुविद्यालाई स्तरवृद्धि गर्न सकेमा पर्यटकहरु घुम्ने मात्र होईन, नेपालको धार्मिक, सांस्कृतिक, जनजीवन, भूगोल, ईतिहास, वनस्पति लगायतका विषयमा अध्ययन गर्नका लागि पनि नेपाल आउन सक्छन् । विदेशी लगानीलाई भित्र्याउन र त्यसको उचित व्यवस्थापन गर्न सकेमा पर्यटकको रुपमा मात्र होईन लगानीकर्ताको रुपमा समेत विदेशीहरु नेपाल आउन सक्छन् ।