बन्दाबन्दीको चौहत्तरऔं दिन

आज जेष्ठ २३ गते शुक्रबार बन्दाबन्दीको चौहत्तरऔं दिन । आज जून ५, बिस्व वातावरण दिवस पनी हो । बिश्वमा  वातावरण राम्रो होस भनेर कामना गर्ने दिन ।

म एकाविहानै बिउँझिंदा सूर्य देखिएन । सिमसिम पानीको संगीत सुन्न लायकको थियो । मन रमायो । फोटो खिच्न खोजें । थोपा थोपा पानी विजुलीको तार हुँदै सल्ल बगिरहेको थियो । बन्दाबन्दीमा यहि नै पनि कति रमाईलो हुँदो रहेछ । मलाई लाग्यो टाढाको, काल्पनिक कुरामा भन्दा आफ्नो अगाडी, जे छ त्यसमै रमाउन सक्दा मन त्यसै त्यसै छचल्किने रहेछ । 

आजको दिन मष्टो पूर्णिमाको दिन हो । आजको दिनमा काभ्रे जिल्लाको पनौतीमा मेला लाग्दछ । त्यहाँ भैरव, भद्रकाली, ईन्द्रेश्वरको रथ जात्रा गर्ने गरिन्छ । हरेक बाह् बर्षमा लाग्ने ठूलो मेलामा लाखौंको संख्यामा धर्माबलम्बिहरूको मेला भर्ने गर्दछ । म पनि एकचोटी पुगेकी थिएँ सवै परिवारसंग । त्यसै गरि स्वयम्भू, बौद्ध लगायतका बुद्धका धार्मिक स्थलहमा बुद्ध धर्मालम्विहरू विशेषतः तिब्वती मूलका पूर्णिमाको अघिल्लो रात देखि नै स्टुपा र गुम्बा वरिपरि परिक्रमा गर्दछन् । परिक्रमा गर्दा धर्माबलम्बिहरू दुबै हातले बुद्धलाई नमस्कार गरि पूरा भूईंमा लम्पसार परी आफ्नो  शरिर नाप्ने गर्दछन् । यसरी गर्दा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेकोछ । तर बन्दाबन्दीको कारणले कोरा घुम्नेलाई सरकाले पूरा रूपमा बन्द गरेकोछ । त्यसमाथि पनि रातभरको बर्षा ।

बर्षाको कारणले आजको पूर्णिमाको रात चन्द्रमाको हँसिलो मुहार हेर्ने मौका सायदै प्राप्त होला । तर किसानहरू भने निकै खुशी हुनेछन् आजबाट । रोपाई समयमा हुन सके किसानहलाई केहि ढुक्क हुने थियो । बन्दाबन्दीले रोपाईलाई कस्तो असर पार्ने हुन् ? 

सवैको शुभदिन रहोस ।