सफाई मजदूर विच संगठन गर्दाका केहि सम्झनाहरू

पुरानो कुरा भनेर मैले विर्सन पनि खोजेकी थिएँ । खाली पुरानै मात्र कुराले नयाँ समयमा नयाँ चुनौतीहरूलाई सामना गर्न ठोसै भूमिका नखेल्न पनि सक्छ । राजनीति गर्ने तरिकाहरू फेरिई सकेकाछन् । जस्तो पहिलेको समयमा राजनीतिमा सरिक हुँदा जनताहरूलाई संगठित गर्न नेताहरू घरघर पुग्नु पर्दथ्यो, अहिले जनताहरू पार्टी कार्यालय र नेताहरूको घर धाउँछन् । पहिला साना साना समूहमा भेलाहरू हुने गर्दथ्यो, अहिले ठूलठूला भेला र सभाहरू हुने गर्दछ । हिजो जनतामा भिज्नको लागि भएका डिग्रीहरू लुकाउँथे, अहिले सकेसम्म धेरै पढेको सर्टिफिकेट देखाउन सक्नु पर्दछ । हिजो धनीहरू पनि धन नभएको किसान, मजदूर जस्तो साधारण भेषभुषा लगाएर जनताको घर, खेतमा पुग्नु पर्दथ्यो, अहिले जनतालाई गर्न सक्छु भन्ने देखाउन अफिस, गाडी र अन्य बस्तुहरूको टाईं फाईं देखाउने गरिन्छ । पहिला चुनाव हुँदैनथ्यो, अहिले चुनावबाट जित्न सक्नु पर्दछ । पहिले विरोधको राजनीति वा नाराहरू प्रधान हुन्थे, अहिले विकास निर्माणका कुराहरू प्रधानछन् । हिजो संगठन भित्र समस्याहरू आउँदा संगठन भित्रै छलफल हुन्थ्यो, अहिले फेसवुक लगायतका सामाजिक संजालहरू मार्फत समस्याहरू छताछुल्ल पार्ने गरिन्छ । हिजो टेलिभिजन, फोन, ईन्टरनेट सामाजिक संजालको सुविधा थिएन, अहिले सवै सुविधाहरू उपलव्धछन् । त्यसकारण हिजोको कुरा मात्र रटेर बस्नुको कुनै खासै अर्थ नराख्न पनि सक्छ । हिजोको राजनीतिक कार्यकर्ताहरूले पनि अहिलेको आवश्यकताहरलाई नेतृत्व गर्न र चुनौतीहरूलाई समाधान गर्न ठोस ढंगले लाग्न सकेमा मात्र आजको पनि नेता हुन सक्छन् । त्यसको लागि आजको समयमा हिजोका असल र व्यवहारिक मुल्य मान्यताहरलाई जगेर्ना गर्न, अनुसरण गर्न र लागू गर्न आवश्यकछ । पुरानो र नयाँको प्mयूजनबाट मात्र समाज र देश अगाडी बढ्न सक्दछ ।

मैले न्हूकोठाको बारेमा लेखे पछि सफाई मजदूर क्षेत्रका एक जना यूवा नेताले ‘दिदी सफाई मजदूर आन्दोलनको नेतृत्व गर्ने पनि त्यै न्हूकोठा होईन र ?’ भन्ने प्रश्नले मेरा पुराना सम्झनाहरुलाई विउँताई दियो । त्यसमाथि हालसालैको रकुमको त्यो त्रासदीपूर्ण कथाले मलाई केहि शव्द लेख्नको लागि कर गर्यो ।

काठमाडौंको लगनटोल भित्र सबल बहाल क्षेत्रमा सफाई मजदूरहरूको मुख्य वस्ती रहेकोछ । त्यस वस्तीको कथाहरू त सुचोलनाबाट धेरै पटक सुन्दै आएको थिएँ । त्यससंग सम्वन्धित केहि गीत र निवन्धहरू पनि सुनेकी थिएँ । सवलबहालका मजदूरहरू माथि चर्को सामाजिक शोषण र भेदभाव त थियो नै, त्यसमा सवल बहाल कै बासिन्दाहरूमा ‘कर्मको भोगले छुवाछुत, शोषण, थिचोमिचो सहनु परेको’ भन्ने गहिरो अन्धविश्वास रहेको थियो । त्यो विचार सवल बहालका नागरिकहरूको दिमागबाट हटाउनको लागि सुलोचनाले निकै धेरै कोशिश गर्नु भएको हो भन्ने बुभ्mन मलाई गाहारो थिएन । वहाँले ‘कर्मया भोग धैगु छु’ भन्ने निवन्धलाई निकै मिहेनतका साथ लेख्नु भएको थियो । 

विसं २०३५ सालमा सुलोचनाले सवल बहालको जिम्मा सुम्पेपछि म त्यहाँ नियमित रूपमा जान थालें । अहिले मैले त्यो बस्ती कस्तो थियो भन्ने बयान गरूँ कि नगरूँ ? म नै अलमलमा छु । हिजो आज बस्तीको त्यो बेलाको अवस्था बारे बयान गर्न बस्ती कै मान्छेहरू पनि राजी नहोलान् सायद । बस्तीको अनुमति भएमा कुनै दिन लेखुँला । वस्तीमा पुगे पछि अनुभव भयो सुलोचनाले सुनाउने गर्नु भएको कथाहरू साँचो कथा नै रहेछ । बस्ती भित्र पुगे पछि भने मेरो जिम्मेवारीको भावना झनै बलियो भएको अनुभव गरें । तर नियमित रूपमा वस्तीमा पुग्न सुलोचनालाई जस्तै मलाई त्यति सजिलो नभएको अनुभव गरें । सुलोचना त्यहिँकै एक विद्यालयको शिक्षिका भएको हुनाले वस्तीमा आउ जाउ गर्न सजिलो हुन्थ्यो । म वस्तीसंग कुनै साईनो नभएको हुनाले केहि अप्ठ्यारो महशुस भयो । उ बेला मैले बेलिबटन पाईन्ट र शर्ट लाउँथे जुन पहिरन वस्ती भित्र छिर्न सजिलो थिएन । वस्ती भित्र पस्न सजिलो बनाउन मैले पनि वस्तीका महिलाहरूले लगाउने चलनचल्तीका लुगाहरू लगाउन थालें । खद्दरको धोती, डम्बर कुमारीको पछ्यौरा, कपाललाई बेरेर जुरो पारी चप्पल लगाएर वस्ती भित्र छिर्दा मलाई सजिलो अनुभव भयो । तर परिवार, टोल र चिनजानका साथीहरूले अनौठो मान्न थाले । त्यो नौलो भेषभुषामा बाटोमा भेट्दा कतिपय साथीभाई र आफन्तहरूले मलाई देखेपनि नदेखेको र नचिनेको जस्तो गरी हिँडेको पनि अनुभव गरेकी छु मैले । 

मेरो नयाँ जिम्मेवारी र भेषभुषाले मलाई नयाँ उर्जा दिएको अनुभव गरें । साँझमा वस्ती भित्रको घरमा पाका मान्छेहरू, युवाहरू, बाल बालिकाहरू भेला भएका हुन्थे । मलाई लाग्दथ्यो कितावमा पढेको आधार ईलाका भनेको त्यहि थियो । उपस्थित सदस्यहरू उत्सुकतापूर्वक मेरो कुरा सुन्थे, पीर व्यथाका गीतहर खुलेर गाउँथे, प्रश्न उत्तर गर्थे, तर्क वितर्क गर्थे, हरेक जोखिममा काम गर्न उत्साहित हुन्थे, जिम्मेवारीको बारेमा छलफल गर्थे र जिम्मेवारी पूरा भएको रिपोर्ट सुनाउँथे । उनीहरूका आँखाहरू उत्साह, आशा र जोशले हर्दम चम्केका हुन्थे । वस्ती भित्र एक जना आमा हुनु हुन्थ्यो र सँधै भन्नु हुन्थ्यो, ‘नानी यी केटाकेटीहरूलाई अलि राम्रो संग बुझाई दिनु । धेरै काम गर्नु छ ।’ सहभागीहरू विहानदेखि दिनभरको कामले निकै थाकेका देखिएता पनि उनीहरू हरेक कुरामा उत्सुकतापूर्वक सहभागि हुन्थे । मैले त्यो बेला ‘घोडाबाट ओर्लेर पूmलहरू हेर्नु’ भनेको के हो र जनतासंग एकाकार हुनु भनेको के हो भन्ने मैले अझै बुभ्mन थालें ।

दिनभरको काम पछि माम के त? असुरक्षित रोजगारी थियो । वस्तीका मान्छेहरू कुखुरा नबास्दै टोलका गल्लीहरूमा च्वाफी, खर्पन, टीन, बोरा आदि लिएर टोलहरूमा पुगीसकेका हुन्थे । टोलका मान्छेहरू नविउँझिदै सडक र गल्लीहरू सफा बनी सकेका हुन्थे । तर उनीहरूको नियमित तलव हुँदैनथ्यो । एक, दुई, तीन रूपैंया महिनाको पाउँथे र ‘जजमानहरू’बाट, चाडवाडमा केहि कोसेली पाउँथे । नगरपालिकाहरूमा काम गर्नेहरूको पनि नियमित जागिर भन्ने हुँदैनथ्यो । हाकिमको दृष्टिमा दायाँ बायाँ हुने वित्तिकै जागिर चट हुन सक्थ्यो । जजमान र हाकिमहरूलाई बच्चा देखि बुढा सम्मलाई बाजे भनेर सम्वोधन गर्नु पर्दथ्यो । कसैको र कहिँको कोठा चौका भित्र छिर्न पाउँदैनथे । कहिँको अफिसको मेचमा बस्ने त सपनाको कुरा मात्र हुन्थ्यो । कुनै पनि बेला ससानो कुरामा पनि अश्लिल देखि सवै खालका गाली पाउँथे । हो मान्छेले मान्छेको दर्जा पाउन त्यो स्थितिलाई बदल्नु पर्ने खाँचो थियो । तर कसरी ? सयौं बर्षदेखिको त्यो परम्परालाई भत्काउने कसरी?

सवल बहालमा सानो ठूलो जे भने पनि एउटा बलियो संगठनको रूप बनिसकेको थियो । त्यसैले मान्छेहरूको साहस पनि थियो, केहि गरी देखाउने । बेला थियो भुट्टोलाई फाँसी दिएको विरोधमा देशभरी आन्दोलन चलिरहेको । आगोमा घिउ थपियो । सवल बहाल वस्तीका मजदुरहरूले पनि आन्दोलन गर्ने निधो गरे । तर सजिलो थिएन । जो जो आन्दोलनमा सरिक हुन्थे, त्यसको जागिर धरापमा पर्ने खतरा थियो । त्यसको लागि देशका विभिन्न भागमा रहेका वस्तीका जनताहरूलाई पनि चेतना फैलाउने र संगठित गर्न आवश्यक थियो । वस्तीवासीहरूले निकै धेरै मेहनत गर्नु आवश्यक थियो । बैठकहरू विहान, दिउँसो, बेलुकी कुनै पनि बेला गर्नु आवश्यक थियो । बैठक गर्ने ठाउँ मध्येको एउटा महत्वपूर्ण ठाउँ ‘न्हूकोठा’ बन्न पुग्यो । घर र समाजको हिसावले न्हूकोठामा सवल वहाल वस्तीका कसैलाई पनि ल्याउने अनुमति थिएन । मेरी माईली भाउजु दिलशोभालाई मात्र थाहा थियो । तर वहाँ थाहा नपाएको जस्तो गरी बसिदिनु हुन्थ्यो र घरको अरू कसैलाई त्यस बारे सुनाउनु हुन्थेन । त्यसले मलाई निकै सजिलो भएको थियो । चेतना फैलाउन सजिलो बनाउनको लागि हामीले च्वाफी नामक हस्तलिखित पत्रिका पनि निकाल्यौं । 

म खद्दरको धोती, चुल्ठो बेरेको कपाल, डम्वर कुमारीको पछ्यौरा र चप्पल लगाएर वस्तीको आन्दोलनकारीहरू संगसंगै विभिन्न स्थानहरूमा पुग्थें । त्यसरी जाँदा म पछि बस्थें र कुरा वस्तीका मान्छेहरूलाई नै गर्न लगाउँथें । त्यसो गर्दा उनीहरूको क्षमता बृद्धि हुन्थ्यो । गल्ती भएमा छलफल गरी सच्याईन्थ्यो । काठमाडौंको सवल बहाल, ढल्को, किर्तिपुर, पाँगा, ललितपुर, भक्तपुर, काभे्रको पनौती, नाला जस्ता ठाउँहरू नै आन्दोलन र संगठनको लागि लक्षित वस्तीहरू थिए । ती ठाउँहरूमा घुम्दा के कुरा थाहा लाग्यो भने हरेक नेवार बस्तीमा चारवटा ढोकाहरू हुने गर्दछन् र सफाई मजदूरहरू चार ढोका बाहिर मात्र बस्न पाउने रहेछन् । के कारणले त्यसतो गर्यो भन्ने बारेमा ईतिहासकार र समाजशास्त्रीहरूले बताउलान् । 

हाम्रो प्रयासले सफलता पाउँदै गयो । लक्षित गरेका सवै ठाउँहरूमा सफाई मजदूरहरुले एकै चोटी आन्दोलन शुरू गरे । उनीहरुले धर्ना देखि लिएर फोहर उठाउन बन्द गरे । आन्दोलनकारीहरूले अनेकौं धाक धम्की खप्नु परे पनि आन्दोलन पछि हटेन । शहरमा फोहरको डुँगुरले भरिई दुर्गन्ध फैलिन थाल्यो । आखिर एक दिन त्यस्तो दिन आयो सफाई मजदूरहरु र नगरपालिकाका हाकिमहरु विच वार्ता भयो । त्यो नेपालको सफाई मजदूरहरुको ईतिहासमा पहिलो घटना बन्यो । सफाई मजदूरहरुले केहि सुविधाहरु प्राप्त गरे । विसं २०३६ साल पछि यूनियन खोल्न पाए पछि सफाई मजदूरहरूले पनि युनियन खोले । श्याम प्रसाद शर्मा समूह तत्कालिन मालेमा समाहित भयो । त्यसपछि सायद २०४० सालतिर मालेको तर्फबाट मजदुर संगठन हेर्ने फाँटलाई सफाई मजदुर क्षेत्रको जिम्मा दिई म त्यहाँबाट विदा भएँ । त्यस पछिका समयमा सवल बहालका मजदूरहरूको एउटै गुनासो रहिरह्यो कि ‘मजदूर युनियनमा गैर मजदूरहरु नेता बने र मजदूरको नाममा राज गरे ।’ 

https://www.drishtinews.com/archives/35559