आलोचना र प्रशंसा

म मान्दछु आलोचना खस्रो हुन्छ

रुखो हुन्छ

तर उ

निर्दयी हुँदैन सोचे जस्तो ।

***

कहिले मान्छेहरुको लागि उ

होशियारी पूर्वक पाईला चाल्न सिकाउने

पथ प्रदर्शक बनी दिन्छ

कहिले मान्छेहरुको लागि माथि उक्लने

भर्याँगको खुटकिलो बनी दिन्छ ।

***

प्रशंसा चिप्लो हुन्छ

त्यसको शव्द शव्दमा सुन्दरता झल्किन सक्छ 

प्रशंसाले मान्छेलाई

क्षणिक आनन्द अनुभुती गराउन सक्छ ।

तर स्वार्थले लुट्पुटिएको चिप्लो प्रशंसाले

मान्छेलाई भूईंमा पछार्न पनि सक्छ

कहिल्यै उठ्नै नसक्ने गरी ।

दृष्टान्तहरु धेरै छन्

चिप्लो प्रशंसामा मान्छेहरु फँसेका

चिप्लेर लडेका र नीलडामै बोकेर हिँडेका ।

***

बुद्धिमानीहरु भन्छन्,

परिवर्तन चाहने मान्छेहरु

विपक्षको सामू शीर उठाई

निर्भिकतापूर्वक तर्क वितर्क गर्दछन् ।

उनीहरु

आलोचनालाई घृणा गर्दैनन्

आलोचनाबाट भागी हाल्न खोज्दैनन्

बस्दैनन् उनीहरु ढुकेर मौका

आलोचकहरुसंग बदला लिन ।

***

पटमूर्खहरु

चाटुकारहरुको प्रशंसाको पुजारी हुन्छन्

सपनामा पनि उनीहरु

झुण्ड झुण्ड चाटुकारहरु र प्रशंसकहरु

आफ्नै वरपर घुमेको देख्न खोज्छन् ।

***

अनुभवीहरु अनुभव सुनाउँछन्

स्वार्थले लटपटिएको चिप्लो प्रशंसा भन्दा

चोखो मनले गरिएको आलोचना

कैयौं गुणा हितकारी हुन्छ ।

मूर्ख मित्रको प्रशंसा भन्दा

ज्ञानी शत्रुको आलोचना

कैयौं गुणा गुणकारी हुन्छ ।