एउटा घाईते कुकूर

एउटा घाईते कुकूर

ढाड बाँगिएको, खुट्टा लोलाएको

टोलको गल्लीहरुमा लुखुर लुखुर हिड्दैछ उ ।


गह्रुँगो टाउको सकी नसकी उठाई

लाछि कुकूरहरुबाट बची बची

पुच्छर टाँग मुनी लुकाई

दुईटै कान लत्रक्क लट्काई

टोलको गल्लीहरुमा लुखुर लुखुर हिड्दैछ उ ।


ठूलो घराना मै पुगेको थियो उ

घुर्क्याई घुर्क्याई मासु भात टन्न खान्थ्यो उ

पाए मोटो हड्डी पनि च्र्याम चुरुम चपाउँथ्यो उ

तर आज टोलको गल्लीहरुमा लुखुर लुखुर हिड्दैछ उ ।


मनमत्ता थियो उ

फुर्कि फुर्कि हुर्केको थियो उ

टोलै थर्कने गरी भुक्थ्यो उ

घरका पाउनालाई पनि टोक्थ्यो उ

तर आज टोलको गल्लीहरुमा लुखुर लुखुर हिड्दैछ उ ।


उघुमै चम्केको थियो उ

कहिले टोलको कुखुरा चिथोर्थ्यो

कहिले टोलकै मान्छेमाथि झम्टन्थ्यो

सवैतिर उसकै राज थियो

सवैमा हाहाकार थियो

तर आज टोलको गल्लीहरुमा लुखुर लुखुर हिड्दैछ उ ।


खै कसलाई रीस उठ्यो

खै कसलाई उसको स्वभावले भाउन्न भयो

बेस्सरी ठोकेछ क्यारे कसैले

मालिकको शरणबाट पनि घोक्य्राईएछ क्यारे

ढाड बाँगिएको, खुट्टा लोलाएको

एउटा घाईते कुकूर

टोलको गल्लीहरुमा लुखुर लुखुर हिड्दैछ उ ।