सुनसानमा रमाउन खोज्दैछु म

कोरोना, लकडाउन, एकान्त

सडक, टोल, वस्ती, कोलाहलरहित सुनसान

यहि एकान्त र सुनसानमा रमाउन खोज्दैछु म ।

बगैंचामा चुपचाप ठिंग उभिएका

राता, सेता, पहेंला फूलहरुसितै 

रमाउन खोज्दैछु म ।

ओईलिएका

आफ्ना अन्तिम दुःखका कथाहरु सुनाउँदै गरेका

सुकेका फूलहरुसितै 

रमाउन खोज्दैछु म ।

जवानीमा धपक्क रंग फुरेका फूलहरु

नयाँ जीवनको लागि हाँक दिई उठेका

फक्रनै खोजेका कोपिलाहरुसंगै

रमाउन खोज्दैछु म ।

काँढैकाँढा विच फुलिरहेका गुलाबका फूलहरुसंगै

हुर्किन नपाउँदै निमोठिएका नाङ्गा हाँगाहरुसितै

रमाउन खोज्दैछु म ।

फक्रँदै गरेका मसिना हरिया पातहरुसंगै

फलदिन ठिक्क परी नुहेका हाँगाहरुसित

पहरामा चढ्दै गरेका लहराहरुसित पनि 

रमाउन खोज्दैछु म ।

यो लकडाउन, सुनसान र अत्यासलाग्दो दिनहरुमा पनि 

बसन्तको सरर चल्ने शितल पवनको मिठास संगसंगै

रमाउन खोज्दैछु म ।