लकडाउनले सम्झाएको अतित

कोरोनाको कारणले लकडाउन भएको आज पाँचौं दिन हो । हिजो रातीको मेघगर्जन सहितको हावाहुरी र सामान्य बर्षाको कारण आज विहानै देखि आकाश सफा देखिन्थ्यो । विहान भान्छाको धन्दा सकिएपछि माथि छतबाट चारैतिर हेर्ने ईच्छा भयो । हेरियो । सडक विगत दिनहरुका भैmं सुनसान थियो । सडकमा यदाकदा प्रहरीका जीपहरु, सामान बोकेका गाडीहरु, एकाध मोटरसाईकलहरु मात्र गुडेको देखिन्थ्यो । त्यो त्यहि सडक हो, जहाँ कहिले काहिँ घण्टौं जाम हुन्थ्यो, हरेक दिन एउटा न एउटा दुर्घटना हुन्थ्यो र कुनै न कुनै मानिस घाईते वा मृत्यु हुन्थ्यो । आज सडक शान्त छ । यो शान्तपनले केहि मानिसहरुको जीवन जोगाएकोछ । 

मेरा आँखाहरुले चारैतिर फन्को मारे । उत्तरतिरको हिमाल, हिमालको दक्षिणतिरको स्वयम्भुको स्तुपा, उत्तर पश्चिम दिशामा जामाचो । स्वयम्भु त नजिकै भयो । लकडाउन भन्दा अगाडी विहान घुम्न जाने ठाउँ त्यहि थियो । जामाचोको टुप्पोमा बुद्धको चैत्यछ, जहाँ हरेक बर्षको बैशाख १ गते मेला लाग्दछ । केहि बर्ष पहिले म केहि साथीहरुसंग जामाचोमा पुगेकि थिएँ । अहिले जस्तो बाटो र गाडी थिएन । हिँडेर जानु पर्दथ्यो । जामाचोवाट फर्कंदा नागार्जुन जंगलमा रुखबाट झरेका सुकेका पातहरु र सल्लेपिरलमा चिप्लेटी खेलेर झरेको त्यो रमाईलो क्षण अझै पनि ताजाछ । जामाचो चढ्ने त्यो समूहमा को को थिए भन्ने मैले सम्झना गर्न सकिन । सायद चिनिया भाषा सिक्ने साथीहरुसित हो कि ? त्यहि दिशातिर छकडोल र त्यसको अझै पश्चिमको डाँडामा रहेको सेतोगुम्बा रहेको डाँडा । छकडोल डाँडाको पनि आप्mनै कथाछ । विसं २०३० तिर मेरो बुबालाई एक रोपनी जग्गाको पाँच हजारमा दिन आउँदा महँगो लागेको थियो रे । छकडोलको पछाडीको डाँडा ईचँगु डाँडा हो, जहाँको आप्mनै ईतिहास थियो । अभाव र गरीबीको ईतिहास । असमान र शोषणको ईतिहास । म सानो हुँदा त्यहाँका बासिन्दाले रातो माटो बेच्दथे र दिनको पाँच दश रुपैयाँ कमाउँथे । मलाई अझै सम्झनाछ, आमाले अगाडी बच्चा बोकेर, पछाडी रातो माटोबोकेर, जिउमा दशौं ठाउँ टालेको लुगा लगाउने ती महिलाहरुलाई पुराना लुगा, च्वकी (कनिका), चिउरा, केहि दाल दिनु हुन्थ्यो । उनीहरु खुशी हुन्थे । रातो माटो बोकेर येँ (काठ्माडौं) आउँदा उनीहरुले काष्ठमण्डप पछाडीे गणेशको घरको आँगनमा भारी बिसाउँथे । मन्दिरको रखवालीले उनीहरुलाई दुखः दिन्थिन् । राटो माटो लुकाउँदै अरुलाई बेच्थिन् । अझ उनले ती महिलाहरुलाई जथाभावी गाली गर्थिन् र माटो विसाउन नदिने धम्की पनि दिन्थिन् । त्यो कुरामा आमाले ती दुःख दिने महिलालाई सराप्नु हुन्थ्यो । तर केहि गर्न सक्नु हुन्थेन । इचंगुबासीहरुको दुःख र गरीबीलाई लिएर कवि दुर्गालाल श्रेष्ठले गीत पनि लेख्नु भएको थियो । 

पश्चिम दक्षिणको त्यो उकालो डाँडा जहाँ माथि तामांगहरुको वस्तीछ, त्यो धादिंग जिल्लाको सिमाना पनि हो । मलाई सम्झना छ, राजनीति गरेको शुरुका दिनहरुका गाउँ जाउँ अभियानको क्रममा सुलोचना मानन्धर, म र अरु एक जना साथी (नाम सम्झना भएन) हिँडेका थियौं । त्यहाँ जानलाई फराकिलो बाटो थिएन । गाडीको कुरै भएन । त्यो बेला गोरेटो र डाँडाकाँडा हिँडेर जानु पर्दा कस्तो विकट तथा अनकण्टार ठाउँमा पुगेको जस्तो लाग्थ्यो । त्यो बेला मैले अनकण्टारको दुःखको अनुभव अलिकति पनि गरिन । बरु त्यहाँको प्राकृतिक सुन्दरता र स्वच्छ हावाको भरपुर आनन्द लिएँ । जीवनको स्वतन्त्रताको आनन्दको अनुभूती गरें । त्यहाँको सरल र अभावको जनजीवनबाट उत्तरदायीत्वको भावना बटुलें । 

अहिलेको यो लकडाउनले मलाई विगतका केहि कुराहरु सम्झाउने र भावनामा केहिबेर भुलाउन मद्दत गर्यो । लकडाउन नराम्रो मात्र कहाँ हुन्छ र ?