राष्ट्रिय सम्पदाको संरक्षण गरौं

यो बर्ष ईन्द्रजात्राको दिन भिमसेनस्थान मन्दिरनिर आईपुग्दा नीलो टीशर्ट लगाएका एक हुल मानिसहरुलाई देखेँ । टीशर्टमा लेखिएको रहेछ विश्व सम्पदा संरक्षण समाज । अनुमान गर्न सकिन्थ्यो त्यो समूह विश्व सम्पदा संरक्षण गर्न लागि परेका स्वयंसेवकहरुको समूह हुन् । तर भिमसेनस्थान मन्दिरको वरन्दामा भने मन्दिरको स्वरुप नै विग्रने गरी ठूला तुलहरु टाँगिएका रहेछन् । टीशर्टमा लेखिएको नाराको ठीक विपरित । मैले एक जना स्वयंसेवकलाई भनेँ, तपाईहरुको टीशर्टमा लेखिएको उद्देश्य भिमसेनस्थान मन्दिरमा टाँगिएको तुलहरुसंग मिलेन । यदि तपाई सक्नु हुन्छ भने तपाईहरुको टीशर्टको ईज्जत राख्नकै निम्ति भए पनि मन्दिरमा टाँगिएका तुलहरु हटाइदिनुस । 

त्यति भनि सकेर म मरु, बसन्तपुर, इन्द्रचोक, हनुमानढोकाको एक चक्कर लगाएपछि फेरि भिमसेनस्थानमा आई पुगेँ । मन्दिरको ठूला तुलहरु हटाईसकेका रहेछन् र एउटा तुल पनि हटाउने तरखरमा लागेको देखेर म धेरै खुशी भएँ र ती स्वयँसेवकहरुलाई धन्यवाद दिएँ । सहि कुरा गर्दा मानिसहरुले सुन्ने रहेछ जस्तो लाग्यो । 

नेपालमा कैयौं मन्दिरहरुमा यस्तै तुलहरुले मन्दिरहरुको स्वरुपलाई विभत्ष पारेका देखिरहेकाछौं । तर हामीलाई पचेकोछ र हामी बोल्दैनौं । हाम्रा पुर्खाहरुले हाम्रो जिम्मामा छोडेर गएका यी सम्पदाहरुको आड्मा हामी नेपाल मन्दिरहरुको देश भनेर गर्व गरिरहेकाछौं । तर हामीले ती सम्पदाहरु जोगाउनको लागि कति कोशिश गरिरहेकाछौ त भन्ने कुरामा हामीले हेक्का राखिरहेका छैनौं । अव हामी व्यवहारमा उत्रनु जरुरी भएकोछ कि हामीले मन्दिर, पाटी, पौवा लगायत कुनै पनि ऐतिहासिक धरोहर वा सम्पदाहरुमा तुल, पोष्टर, पर्चाहरु नटाँगौं र नटाँसौं र अरुलाई पनि गर्न नदिऔं ।