अलैँची र नेपालमा यसको खेती
[१] अलैँची Amomum subulatum Roxb. पहाडी भेगमा पाइने एक वनस्पति हो । वनस्पति जगतको Zingiberaceae परिवार अन्तर्गत पर्ने अलैंची (Black cardamon) एक अत्यन्तै उपयोगी बहुवर्षिय पोथ्रा Perennial Herb हो । यो प्राकृतिक रूपमा दक्षिण भारतको आर्द्र, सदाबहार जंङ्गल क्षेत्रमा प्रशस्त पाइन्छ । नेपाल बाहेक भुटान, श्रीलङ्का, मलेशिया र जापानमा पनि यसको खेती गरिन्छ भने विभिन्न प्रजातीका अलैंचीहरू इण्डोचिन उत्तरपूर्वी भारत तथा पूर्वी र पश्चिमी अफ्रिकामा पनि पाइन्छन् । नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ । यो वनस्पति कुनै पनि भिरालो परेको जमीन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेति गर्न सकिन्छ । यस कारण यो वनस्पति खेर गएको जमीनमा सहि सदुपयोग गर्न सकिन्छ साथै जमीनलाई भू-क्षय हुनबाट पनि बचाउन सकिन्छ ।अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि २० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक १५०० देखि ५००० मिलिमिटर वर्षा हुने सेपिलो उत्तर मोहडा भएको ठाउँ उपयुक्त मानिन्छ। 'डम्मरसाई', 'रामसाई', 'चिवेसाई', 'गोलसाई', 'राम्ला', 'साउने', आदि अलैँचीका प्रमुख जात हुन्। डम्मरसाई ७०० देखि १२०० मिटरको उचाइसम्म र रामसाई त्यसभन्दा पनि माथि २१०० मिटरसम्ममा लगाउन सकिन्छ। १२०० मिटरभन्दा माथि नै लाग्ने साउनेको दाना ठूलो हुने र यसमा रोग कम लाग्ने भएकोले रामसाईभन्दा कम फले पनि किसानहरू साउनेप्रति आकर्षित भएका सन्तोष खतिवडाको अनुभव छ।
नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको खेती ३६ जिल्लामा फैलिएको छ। यद्यपि अलैँची लगाइएको ९७ प्रतिशत क्षेत्र पूर्वाञ्चलका १२ जिल्लामा र बाँकी तीन प्रतिशत मात्रै अरू विकास क्षेत्रमा पर्दछ। नेपालमा सबैभन्दा बढी अलैँची खेती गर्ने जिल्लामा ताप्लेजुङ्ग, (३६४७ हे.), संखुवासभा (३२५९ हे.) र इलाम (२७७४ हे.) पर्दछन्। कुल १३ हजार १९२ हेक्टर क्षेत्रमा लगाइएको अलैँचीमध्ये ११ हजार ४९८ हेक्टर अर्थात् ण्डै २ लाख ३० हजार रोपनीमा उत्पादन दिने अवस्थाका बोटहरू छन्। लगाएको तीन'चार वर्षपछि फल्न थाल्ने अलैँची २५'३० वर्षसम्म फलिरहन्छ।
अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने आदि कारणले किसानहरूका लागि यो वरदान सावित भएको छ। अलैँची भूक्षय रोक्न पनि उपयोगी मानिएको छ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजीकै हाङ्देवामा करिब दुई दशकअघि गएको निकै ठूलो पहिरो अलैँचीले नै रोकेको, पहिरो गएको ठाउँ र भिरालो जग्गामा उत्तिसका बिरुवाहरू राम्रोसँग हुर्केका तथा अलैँचीको आम्दानीले स्थानीय अर्थतन्त्र एवं जनजीवनमा परिवर्तन समेत आएकोछ ।
अलैंची एउटा मसला बाली भएकोले प्राचीन समय देखि नै यसलाई एक महत्वपूर्ण र महङ्गो मसलाको रूपमा प्रयोग गरिंदै आएको छ । यसको सुगन्धित बीयाँबाट Cineole नामक उडनशील सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ । यसको तेल मिठाई, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ । बीयाँ पानसंग पान मसालाको रूपमा खाईन्छ । आयुर्बेदिक र यूनानी चिकित्सामा घाँटीदुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी(Eye-lid) सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ । अरब देशहरूमा चिया र कफी बनाउन तथा युरोपियन देशहरूमा उच्चकोटिको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैंचीको प्रयोग गरिन्छ । सौन्दर्य प्रशाधनहरू निर्माण गर्न शरीरमा उष्णता थप्न र यौन शक्ति बढाउन पाचनशक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छिले टोकेमा बिषनाशक औषधि (Antidote)को रूपमा अलैंचीको प्रयोग गरिन्छ । चिसो रुघाखोकी, बान्ता फियो बढेको थकाई लागेको लुतो हैजा वा अरु कारणले पेट दुखेको, टाउको दुखेको, मुख र मलद्वारको रोग सुजाक (Gonorrhea), अदाहा र नसा सम्बन्धी रोग (Neuralgia), मूत्ररोग आदि रोगहरूको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ । अन्य खेतीको लागि काम नलाग्ने जग्गामा पनि अलैंची खेती गर्न सकिन्छ । अलैंची खेतीले भूक्षय तथा पहिरो समेतलाई रोकथाम गर्न सघाउपुर्याउँछ ।
राणाहरूले वि.सं. १९०० ताका अलैँचीको बजार व्यवस्थापन गर्न भारतको पटना र मिर्जापुरमा 'अलैँची कोठी' खोलेका थिए। त्यसबेला इलामबाट किसानले ल्याउने अलैँची धरानमा सङ्कलन गरी भारत पठाइन्थ्यो। तर पछि औलोका कारण भरियाहरू बाटैमा मर्न थालेकाले धरान ल्याउन नसकेको र गाउँमा बिक्री नभएको हुनाले अलैँची बगैँचा मासिन थालेका थिए। वि.सं. १९९०को दशकमा मारवाडी व्यापारीहरूले इलाममै सङ्कलन केन्द्र खोलेपछि पुनः खेती हुन थाल्यो। २०२० सालतिर मेची विकास कोषले किसानलाई अलैँची खेती गर्न ऋण दिन थाल्यो। आर्थिक वर्ष २०३२'३३मा 'कृषि वर्ष' मनाउँदा सरकारले चारलाख बेर्ना वितरण गरेको थियो। २०३३मा इलाम, फिक्कलमा अलैँची उत्पादन एवं प्रशोधनबारे अनुसन्धान एवं विकास गर्न सरकारी तवरबाट अलैँची विकास केन्द्र स्थापना भयो।