माधव नेपालले अध्यक्षलाई भने- बैठक अस्पतालमा होइन बल्खुमा राख्नुहोस् सेतोपाटी संवाददाता काठमाडौं, फागुन १२ print Bottom of Form नेपाल बैठकमा अनपस्थित, बिना निर्णय बैठक टुंगियो नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी स्थायी समितिको बैठक ग्राण्डी अस्पतालमा राखेकोमा आपत्ति जनाउँदै उक्त बैठक बहिस्कार गरेका छन्। नेता नेपाल अनुपस्थित भएपछि एक घन्टासम्म पार्टी संसदीय दलका नेता केपी ओली भर्ना भएको ग्राण्डी अस्पतालमा चलेको बैठक बिना निर्णय टुंगिएको हो। आइतबार कांग्रेससँग मन्त्रालय भागबण्डामा टुंगो लगाएको एमालेले पार्टीका तर्फबाट मन्त्रीमण्डलमा सहभागि हुनेहरुको नाम छान्न बिहान स्थायी समितिको बैठक ओलीले स्वास्थ्य लाभ गरिरहेको ग्राण्ड अस्पतालमा राखेको थियो। नेता नेपालले अध्यक्ष खनाललाई टेलिफोन गरि पार्टी स्थायी समितिको बैठक पार्टी कार्यालयमा नराखी अस्पतालको कोठामा राख्ने 'अमर्यादित काम' गरेकोमा आपत्ति जनाए। उनले आफू अस्पताल नजाने र अध्यक्षले केपी ओलीको राय बुझेर त्यसपछि स्थायी समिति बैठक पार्टी कार्यालय बल्खुमा राख्न अध्यक्ष खनालसँग माग गरे। नेता नेपालले नआए पनि अरु स्थायी समिति सदस्यको उपस्थितिमा बैठक बिहान ९३० बजे शुरु भएको थियो। उपाध्यक्ष वामदेव गौतमले भने ढिलो गरेर बैठकमा पुगेका थिए। स्थायी समितिमा ओली पक्षको बहुमत छ। बैठकपछि साढे दश बजे अध्यक्ष खनाल तथा उनी पक्षधर स्थायी समिति सदस्यहरु भरतमोहन अधिकारी र युवराज ज्ञवाली अस्पतालबाट बाहिरिएका थिए। उनीहरुले पत्रकारको प्रश्नमा जवाफ दिन मानेनन्। अध्यक्ष खनाल 'भरे आउने साथीहरुले बोल्नुहुन्छ' भनेर हिँडे । नेता नेपालको बिरोधपछि औपचारिक रुपमा स्थायी समितिको मिटिङ बसेको हो वा होइन भन्ने यकिन छैन। बैठक बसेको भए मन्त्रीहरुको नाममा कुरा नमिलेको भने प्रष्ट भएको छ। एमालेले मन्त्रीहरुको नाम पठाउन नसकेको बालुवाटार स्रोतले सेतोपाटीलाई बतायो। केहि ढिलो गरि अस्पतालबाट बाहरिएका एमाले सचिव तथा ओलीका विश्वासपात्र विष्णु पौडेलले मन्त्रिमण्डल विस्तारको कुरा छलफलमा नउठेको बताए। उनले पत्रकाहरुसँग भने,' हाम्रो पार्टीको संसदीय दलको नेता केपी ओली उपचारार्थ यहाँ भर्ना हुनुभएको छ, अध्यक्षलगायत स्थायी समितिका अधिकांश सदस्यहरु उहाँलाई भेट्न यहाँ आएका हौ।' उनले थपे,'चिकित्सकहरुले उहाँको स्वास्थ्य स्थिति केहि दिनमै सामान्य हुने जानकारी दिए। बैठकले एमाले मन्त्रीहरुको नाम तय गरेको हो भन्ने पत्रकारहरुको प्रश्नमा पौडेलले भने,' त्यो विषय यहाँ उठेन।' एमालेका एक नेताले आजै दिउँसो स्थायी समितिको बैठक पार्टी मुख्यालय बल्खुमा बस्ने सम्भावना रहेको बताए।