मत्स्यनारायण मन्दिर



विष्णुको दश अवतारहरुमध्ये पहिलो अवतार मत्स्यनारायणलाई मानिन्छ । मत्स्य भनेको माछा र नारायण भनेको हिन्दू भगवान् विष्णुलाई मानिन्छ । आधा भाग माछा र आधा भाग मानवको अवतार लिई प्राकृतिक प्रकोपबाट बचाएर मानव हितको लागि मत्स्यनारायणको उत्पत्ति भएको हो ।

किवदन्तीअनुसार सत्ययुगमा राजा सत्यव्रताले सूर्यलाई जल चढाउँदै गर्दा एउटा अचम्मको बोल्ने माछाले आफूसँग लैजाने आग्रह गरे । राजाले त्यस माछालाई एउटा सानो भाडामा राखें । भोलिपल्ट त्यो माछा एक्कासी ठूलो भएर त्यस भाडामा अटाएनछ । अर्को ठूलो भाडामा राख्दा अर्को दिन त्यस भाडामा पनि अटाएनछ । पछि राजाले तलाउ, नदी गर्दै समुद्रमा राख्न लगेछ । यस मत्स्यनारायण मन्दिरमा रहेका ढुङ्गेधाराका मुहानमा मत्स्यनारायणलाई राखेको भन्ने अनुमान छ । मत्स्यनारायण मन्दिर कीर्तिपुरको दक्षिण पश्चिम तिर पर्दछ । यस मन्दिर क्षेत्रमा विभिन्न देवदेवताका मूर्ति ,तलाउ , १४ वटा ढुङ्गेधारा र चैत्यहरुले सुसज्जित छ । डाडाँमा रहेको यो मन्दिरमा स्वच्छ र रमणीय वातावरण छ । नेपाली भित्तेपात्रो अनुसार तीन वर्षको अन्तरकालमा लाग्ने मनमासको बेला यस मन्दिरमा विशेष मेला लाग्ने गर्छ । यस मन्दिरमा दर्शन गरे जीवनमा गरेको पाप सबै माफ हुन्छ र भगवान् विष्णुले सबैको मनोकामना पूरा गर्छ भन्ने विश्वास छ । यस मन्दिरमा रहेको ढुङ्गेधाराबाट आएको पानीले स्नान गरेमा रोगमुक्त हुने विश्वास पनि छ । हजारौं दर्शनार्थीहरु यस मन्दिरमा वर्षैभरि आउने गर्दछन् ।

फोटो: @pramin.osiris