हनुमान ढोका दरबार स्क्वायर



कला र संकृतिमा धनी मानिने नेपाल आफ्नै मूल्य र मान्यताले विश्वसामु चिनेको छ । विश्वको सम्पदामा रहेको हनुमान ढोका दरबार स्क्वायर काठमाडौंमा रहेको छ । कुमारी घर, हनुमानको मूर्ति, काल भैरव, शिव पार्वती मन्दिर, कृष्णको अष्टभूज मन्दिर, जगन्नाथ मन्दिर, वसन्तपुर दरबार, महादेव मन्दिर,त्रैलोक्य मोहन नारायण मन्दिर, सिहं सत्तल, तलेजु मन्दिर आदि यहाँको मूख्य आकर्षक स्थान रहेका छन् ।

हनुमान ढोका दरबार स्क्वायरमा रहेका प्राय मन्दिरहरु राजा प्रताप मल्लले १७ औं शताब्दीमा बनाएका हुन् । यस दरबार स्क्वायरको पूर्वमा हनुमानको मूर्ति राखिएकोले हनुमान ढोका दरबार स्क्वायर नाम राखिएको हो । हनुमानको मूर्तिको बायाँतिर नरसिहंको मूर्ति राखिएको छ । हनुमान मन्दिरसगैँ नसल चोक छ जहाँ पूर्वतिर शिवजीको मूर्ति पाइन्छ । यस ठाउँमा राजा विरेन्द्रलाई राज्येविषेक गरेको थियो । यस चोकमा वसन्तपुर दरबार पनि रहेको छ । त्यससँगै मल्ल कालका राजाका देवी तलेजु भवानीलाई समर्पित गरिएको तलेजु मन्दिर पनि छ । नेपाली शैलीको यो मन्दिर २५ मिटर अग्लो छ । यो मन्दिर दशैंको नवमीको दिन मात्र खुल्ने गर्छ । नसल चोकको पश्चिमतिर त्रिभुवनको सग्रंहालय राखेको छ । यस सग्रंहालयमा पूर्व राजाहरुका जीवनका बारेमा थुप्रै कुरा थाहा पाउन सकिन्छ । साथसाथै यस दरबार स्क्वायरमा १७ औं शताब्दीका १५ भाषामा लेखिएका शिलालेख पनि पाइन्छ । यस शिलालेखका अक्षर पढ्न सकिएमा त्यही शिलालेखसगैं रहेको धाराबाट दूध बग्छ भन्ने किवदन्ती छ र कसैले शिलालेखमा राजाहरुको कोषको बारेमा लेखिएको छ भन्ने पनि गर्छन् ।

हनुमान ढोका दरबार स्क्वायर काठमाडौंको एउटा महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । यहाँको कला र संकृति अवलोकन गर्न यहाँ हरेक दिन हजारौं मानिसहरु घुम्न आउँछन् ।

फोटो: @pramin.osiris